मनोज घर्तीमगर-घना जंगलबीचको एक गाउँमा माछा मारेर आफ्नो जीविकोपार्जन गर्ने एउटा माछे । माछेको जालमा एक दिन अनौठो माछा पर्छ । माछेले कहिल्यै त्यस्तो माछा देखेको हुँदैन । घर पुगेर आफ्नो पेरुङ्गोबाट त्यो माछा निकाल्दा एक सुन्दरीमा प्रकट हुन्छे । सुन्दरी श्रापित नागराजकुमारी हो भन्ने कुरा माछेले सुन्दरीबाटै थाहा पाउँछ । सुन्दरीसँग माछेले घरजम गर्छ । उनीहरुको एक छोरी जन्मन्छे– सिरु ।
छोरी जन्मेपछि सुन्दरी नागलोक नै फर्किन्छे । त्यतिबेला एकजना आँखा नदेख्ने भविष्यवेत्ताले सिरु चक्रवर्ती महाराजाकी रानी हुने भविष्यवाणी गरिदिन्छन् । सिरु १६ वर्षकी हुदाँ गाउँकै ढाक्रेको छोरासँग प्रेममा पर्छे । तर सिरुको विवाह चक्रवर्ती राजासँगै हुन्छ । चक्रवर्ती महाराजाले आफ्नो युवराज छोरासँग उमेर र जवानी साटफेर गरेको सिरुले दरबार पुगेपछि थाह पाउँछे । ‘आफ्नो पति को हो ?’ भन्ने दुविधामा पर्छे सिरु । उसले आफ्नो दुविधाको समाधान खोज्दा चक्रवर्ती राजाको दरबार तहसनहस हुन्छ ।
पोखरेली रगंकर्मी तथा लेखक सरुभक्तद्वारा डेढ दशकअघि लेखिएको नाटक ‘सिरुमारानी’को छोटकरी कथा यहि हो । नाटकमा एउटी नारीले आफुमाथी जबरजस्ती लादिएको कर्तव्यको सट्टामा आफ्नो नारीधर्म बचाउन गरेको संघर्षको कथा भनिएको छ । लोकशैलिमा लेखिएको नाटक मुलतः प्रेमकथामा आधारित छ । पोखरा थियटरको प्रस्तुतिमा पोखराको ग्रैहापाटनमा स्थापित गन्धर्व नाटकघरमा ‘सिरुमारानी’ फागुन २ गतेदेअी मञ्चन भइरहेको छ । नाटकको हरेक शो हाउफुल हुन्छ ।
स्तरिय नाटकघर नहुँदा पोखरा उद्योग वाणिज्य संघको हल, पोखरा सभागृह हल लगायतका ठाउँमा नाटक देखाउँदा सकसपुर्ण तरिकाले नाटक हेर्न बाध्य बनेका नाट्यप्रेमीले थिएटरमा बसेर नाटक हेर्न पाउँदा असाध्यै खुसी छन् । नाटकमा विभिन्न भुमिकामा देखिएका कलाकारको अभिनय क्षमताले उनीहरु सबै एक से एक नायक÷नायिकाजस्ता लाग्छन् । त्यसो त नाटकमा यहि नायक भन्ने हुँदैन । अझ यो नाटकमा त सबै पात्र उत्तिकै जमेका छन् । नाटको कथा अनुसार कलाकारको भेषभुषाले दर्शकलाई थप आर्कषित गर्छ । १८ वर्षपछि रंगमञ्चमा फर्किएका माओत्से गुरुङको खारिएको अभिनयले ‘सिरुमारानी’ लाई परिपक्व बनाएको छ । बहुमुखी प्रतिभाका धनी माओत्सेले माछे पात्रको रुपमा गरेका अभिनयले दर्शकलाई हलचल गर्न दिँदैन । उनको अभिनयको जति तारिफ गरे पनि कमै हुन्छ । उनको अभिनयमा खोट भेटाउनै सकिदैन ।
नाटकको मुख्य पात्र ‘सरु’ अर्थात महारानीको रुपमा देखिएकी सिमा गुरुङले गरेको उत्कृष्ट अभिनय हेर्दा उनी भर्खरै नाट्य क्षेत्रमा डेब्यु गरेकी कलाकार हुन् भन्दा दर्शकलाई पत्याउनै मुस्किल पर्छ । मुख्यपात्र सिरुले नाटकको विषयवस्तुलाई बुझाउन असाध्यै मेहनत गरेकी छन् । उनको त्यो मेहनतले सिमालाई अभिनय पोख्त कलाकारको रुपमा दर्शकले देख्छन् । उनको अभिनयको तारिफ नगर्ने दर्शक भेटिदैनन् । नेपाली नाट्य क्षेत्रमा स्थापित प्रकाश घिमिरेको अभिनयले नाटकलाई बलियो बनाइदिएको छ । राजाको भूमिकामा देखिएका उनले युवा जोश देखाउदै रोमान्टिक प्रस्तुती दिँदा उनको बुढ्यौलीपनालाई चटक्कै बिर्साइदिन्छ । माया, प्रेम, मिलन विछोडको समिश्रण भएको नाटकमा विष्णु गौतमले आफ्नो उमेरभन्दा निकै पाको भुमिका निभाउदै नाट्य क्षेत्रमा कमव्याक गरेका छन् ।
धनबहादुर गायक र सागर खातिले प्रत्यक्ष रुपमा बजाउने वाजाको धुन अनि यी दुईसँगै बबिता मल्ल ठकुरी, अविराज बिसी, लक्ष्मण डुम्रेले नाटकमा प्रयोग गरिएको गीत गाउँदा नाट्य पारखीले थप मनोरञ्जन पाउँछन् । रंगमञ्चमा अभिनय गरिसकेका दिल गुरुङ गरिब ढाक्रेको भुमिकमा देखिदा होस् वा महामन्त्रीको रुपमा देखिदाँ कथालाई न्याय गरेका छन् । उनको अभियन निखारिँदै गएको छ । महामन्त्री र सेनापतिले राजाको दर्शन गर्न नपाउँदाको दृश्य असाध्यै लामो छ । महामन्त्री र सेनापति घरि यता घरी उता गरेको दृश्य यति लामो हुनु स्वभाविक लाग्दैन । त्यो केवल समयको सत्यानास हो । दर्शकलाई बोर गराउने यो दृश्य छोट्याउँदा राम्रै हुन्छ । कथावाचन बृद्ध÷बद्धा जो दृष्टिबिहिन हुन्छन् । यही पात्रको भूमिका देखिएका लक्ष्मण डुम्रे र बबिता मल्ल ठकुरीको अभिनय तारिफयोग्य छ । उनीहरुले अभिनय मात्रै होइन, वाद्यवादन र गायनमा जमेका छन् । बिचबिचमा गीतको प्रयोग गरिनु नाटकको बलियो पक्ष हो । जसले दर्शकलाई बोर मानेको फिल गर्न दिँदैन । घरि घरि नाटक सुस्त गतिमा बगेकोजस्तो भान भए पनि कलाकारले त्यसको लयलाई फर्काउन सफल छन् ।
सेनापती बनेका रमेशबाबु तिमिल्सिनाको अभिनय ठिकै छ । सुन्दरी पात्रमा अभिनय गर्ने प्रसुना भण्डारी, सहेली पात्र बनेकी सम्झना सिर्पाली, अञ्जु दहाल, गोरे बनेको सचिवन गिरी हुन् वा द्वारे सैनिक पात्रको अभिनय गर्ने धुव्र पौडेल वा सैनिकको भुमिकामा देखिएका शरद भण्डारी र सूर्य सुवेदी । यि सबैको अभियनले रंगमञ्चमा आशा लाग्दो प्रतिभा आउँदैछन् भन्ने संकेत गर्छ । सैनिक भूमिका देखिएका सबैको अभिनय उम्दा छ । तर, नाइके सैनिकले आपत परेको बेला बेलाउँदा संवाद अलि मिलेको सुनिदैन । उनले सैनिक सैनिक भनेको दर्शकले चैनिक चैनिक भनेजस्तो सुन्छन् । यो अस्वभाविक नभए पनि उच्चारण सहि गरेर गजब हुन्थ्यो । गोरे पात्रलाई सिरुले पानी दिँदा उनका साथीले पानी खाँदा ‘घटघट घटघट…’ भनेर जिस्काउँदा दर्शकलाई थप मनोरञ्जन दिन्छ । यसमा अन्तिममा फेरी एकपटक सिरुका साथीहरु फर्केर घट… मात्रै भनेर भाग्ने हो भने सुनमा सुगन्ध हुने थियो । ब्रम्हर्षी बनेका अविराज बिसी, बालकलाकारहरु सौरभ सिञ्जल भट्टराईको अभिनय पनि उत्तिकै राम्रो छ । नाइके सैनिकझण्डै दुई घण्टा लामो नाटकले दर्शकलाई एकछिन पनि पट्यार लागेको अनुभव गर्न दिँदैन । कलाकारको अभिनयले छिनमै हसाँउछ । छिनमा आँशु टिलपिल बनाइदिन्छ । फेरी एकछिनमै गम्भीर बनाइदिन्छ । नाटकमा प्रयोग गरिएको लाइट सिस्टम, प्रत्यक्ष बजाइने बाजागाजा र खस भाषा झल्कने लवज, नेपाली भेषभुषाले नाटकलाई जीवन्तता प्रदान गर्छ ।
‘सिरुमारानी’लाई निर्देशक सोमनाथ खनालले बडो मेहनत गरेर दर्शकमाझ पस्केका छन् । उनको मेहनतलाई कलाकारले साथ दिएका छन् । ‘मैले यस्तो होला भन्ने सोचेको थिइन । पोखरेली दर्शकको सहभागीता देखेर म उत्साहित भएको छु’ निर्देशक खनालले भने,‘पहिलो नाटक भए पनि नाटक हेर्दा अपनाउनुपर्ने अनुशासन उहाँहरुले पालना गर्नु भएको छ । नाटक हेर्न बानिपरेको दर्शक झै व्यवहार देखाउनु भएको छ । हरेश शो हाउसफुल छ ।’ पोखरा थियटरका अध्यक्ष परिवर्तनको ले नाटक फागुन १५ गतेसम्म हरेक साँझ पौने पाँच बजे मञ्चन हुने भएकाले नाटक हेर्ने अवसर नछुटाउन आग्रह गर्छन् । ‘निकै मेहनत गरेर ठूलो लगानीपछि थिएटरमा बसेर नाटक हेर्ने शौभाग्य पोखरेली दर्शकलाई छ’ परिवर्तन भन्छन्,‘तपाइहरुले साथ दिनु भएकै छ । सँधै यसरी नै नाटकलाई माया गरिदिनुहुन्छ भन्ने विश्वस्त छौं ।’ परिवर्तनका अनुसार नाटक हेर्न आउने दर्शको चापले थिएटरको टिम उत्साहित छ । शनिबार र विदाको दिन दिउँसो १ बजेबाट अतिरिक्त शो समेत देखाइन्छ । नाटक हेर्न तीन सय र पाँच सय दरको टिकट काट्नुपर्नेछ । विद्यार्थीले एक सय दरको टिकट किने पलेटी कसेर नाटक हेर्न पाइन्छ ।
पर्याप्त पार्कीङको व्यवस्था, पोखराको व्यस्तबजारबाट नजिकै शान्त वातावरणमा रहेको नाटकघर पुगेपछि दर्शक थप खुसी हुन्छन् । थिएटरले खासै प्रचार नगरे पनि एकपटक हेरिसकेका दर्शक दोहारिन थालेका छन् भने उनीहरुले नै आआफ्ना नजिकका मान्छेलाई नाटकबारे बताउन थालेपछि नाटक हेर्नेको भिड दिनदिनै बड्दोछ । फागुन १५ गतेसम्म चल्ने यो नाटक हेर्न तपाइहरु पनि एक पटक जाने की ?
Leave a Reply