कास्कीको मादीगाउँ पालिकाको आयोजनामा क्होला सोंथरको संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारे इतिहासविद्, सँस्कृतिविद् तथा विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मादी १ सिक्लेसमा शुक्रबार भएको सो अन्तरक्रिया कार्यक्रममा तमु संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, तमु धीं यु.के.को क्होला सोंथर अध्ययन भ्रमण टोली सहित पत्रकार, स्थानिय बासिन्दाको व्यापक सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ जातिको आदिम थलोको रुपमा चिनिदै आएको क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा राख्नका निम्ती पहल गर्न केन्द्रीय सरकारसँग आग्रह गर्नुभएको छ । युनेस्कोको मापदण्डमा पु¥याएर क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा पार्न उहाँले प्रदेश सरकारका तर्फबाट सिफारिस गर्ने बताउनुभयो । तमु भाषा र सँस्कृतिको विकास क्होलामा कम्तीमा पनि २ हजार वर्ष पहिले भएको भन्दै अब क्होलाको संरक्षण र विकास कसरी गर्ने भन्ने बारे स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले ध्यान दिएर क्होलाको विकास र प्रचारमा सबै जना जुटन आग्रह गरेका थिए ।
अर्को फरक प्रसङ्गमा उहाँले प्रदेश नं. ४ को ३ सय वटा गाउँमा अबको पाँचभित्र होम स्टे सञ्चालन गर्ने तथा प्रत्येक घरमा धारा र विजुली पु¥याउने बताउनु भएको छ । होम स्टे मार्फत स्थानिय उत्पादनलाई जोड दिएर महिलाहरुको आय आर्जनमा वृद्धि गर्ने तथा गाउँ छोडी गएकाहरुलाई गाउँ सम्झेर बाडुल्की लाग्ने स्थितीमा आफुले पु¥याउने बताए।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले क्होलाको संरक्षण गर्नु अहिलेको मुख्य प्राथमिकता रहेको भन्दै सरकार र जनता सबै यो कुरामा सचेत हुनुपर्ने बताए । क्होला सोंथरको भग्नावशेष मात्र देखारएर यसलाई विश्व सम्पदा सूचिमा पार्न नसिकने भन्दै अब यसको बारेमा अध्ययन, विकास र संक्षण गर्न जरुरी रहेको उहाँको भनाई रहेको थियो ।
कार्यक्रममा प्रा.डा.जगमान गुरुङले कार्यपत्र प्रस्तुत गर्दै १२औं शताब्दीसम्मको इतिहास क्होला सोंथरमा फेला परेको भन्दै क्होलाको बारेमा भएको अलिखित इतिहासहरुको खोजी गर्नुपर्ने र यसलाई लिपिबद्ध गर्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले क्होला सोंथरको विकास र संरक्षणका निम्ती मादी गाउँपालिकालाई २५ बुँदे सुझाव समेत पेश गरेको छन् ।
अन्तरक्रिया कार्यक्रममा बेलायतस्थित तमु धीं युकेको टोली एकहप्ते क्होला सोंथर अध्ययनपछि सहभागि भएको थियो । कार्यक्रममा वोल्दै तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले राम्रो र सकरात्मक कामको लागि तमु धींले सधैं सहयोग गर्ने भन्दै विकास निर्माणको कामका सबै सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा तमु धीं नेपालकी अध्यक्ष कर्म तमु, तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी तमु, तमु ह्युल छोंज धीका अध्यक्ष रेशम तमु, माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्ण गुरुङ लगायतले बोल्नुभएको थियो ।
मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेलले स्वागत तथा गाउँपालिकाका परामर्शदाता नरेश पौडेलले क्होला सोंथरको बारेमा प्रतिवेदन प्रस्तुत गरेको थिऐ ।
समुन्द्री सतहदेखि ३ हजार ३ सय ३० देखि ४ हजार २ सय मिटरको उचाइमा फैलिएको क्होलासोंथर तमु जातिको सभ्यताको र सँस्कृतिको विकास भएको स्थल भएकाले यसलाई ऐतिहासिक थलोको रुपमा तमुजातिले मान्दै आएको छ । त्यहाँ पुग्न लमजुङको भुजुङ, घनपोखरा, घलेगाउँ तथा पसगाउँबाट छिटोमा २ दिनमा पुगिन्छ भने कास्कीको ताङतिङ, सिक्लेसबाट एकदिनमा सकिन्छ ।
Leave a Reply