सातौँ सँस्करणको बिग आइकनको ‘ग्राण्ड फिनाले’ शुक्रबार, रवीन्द्र मिश्र प्रमुख अतिथि

शुक्रबार पोखरामा सातौँ सँस्करणको बिग आइकनको ‘ग्राण्ड फिनाले’ कार्यक्रम हुँदैछ । ५४ जिल्लाका १ हजार १ सय ५२ जना प्रतिस्पर्धीमध्येबाट छानिएर आएका ३ जना गायन प्रतिभाहरुले फाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।

चितवनका सागर आले, लेखनाथका सुवास गुरुङ र पोखरा संगमटोलकी प्रिया गुरुङ यो पटक ग्राण्ड फिनालेमा भिड्दैछन् । विहान ११ बजेदेखि शुरु हुने बिग आइकनको ग्राण्ड फिनालेको प्रमुख अतिथिको रुपमा यो पटक चर्चित व्यक्तित्व रवीन्द्र मिश्र आउने भएका छन् ।

साझा पार्टीका परिकल्पनाकार समेत रहेका रवीन्द्र मिश्र ग्राण्ड फिनालेको प्रमुख अतिथिको रुपमा आउने कुरा आयोजक बिग एफएमले पुष्टी गरेको हो । लामो समय रेडियोकर्म र समाजसेवामा बिताएका मिश्रलाई सम्मानपूर्वक एफएमले पोखरा निम्ताएको जनाएको छ । ‘रेडियोकर्म र समाजसेवासँग सम्बन्धित व्यक्ति तथा संघसंस्थाहरुका लागि मिश्र एउटा आइकन हुन् ।’ बिग एफएमका अध्यक्ष महेश भण्डारीले भने–‘र, यस्ता आइकनलाई हाम्रो कार्यक्रममा ल्याउनु हाम्रो लागि पनि गर्वको कुरा हो ।’

रेडियोकर्मलाई छाडेर ‘देश बनाउँछु’ भन्दै राजनीतिमा होमिएका मिश्र हेल्प नेपाल फाउन्डेशनसँग पनि सम्बन्धित छन् । ‘लुकेका गायन प्रतिभाको प्रस्फुटन र बालश्रम न्यूनिकरण कार्यक्रमका लागि सहयोग जुटाउने’ सामाजिक कार्यक्रमको रुपमा स्थापित बिग आइकनको ग्राण्ड फिनालेमा प्रमुख अतिथिको रुपमा मिश्र आउन लागेको यो पहिलोपटक हो । यद्यपी बिग एफएमसँग सम्बन्धित विभिन्न इभेन्टहरुमा भने रवीन्द्र मिश्रले यसअगाडि पनि सहभागिता जनाउँदै आएका छन् ।

युवाहरुमाझ लोकप्रिय रहेका मिश्रको बिग आइकनमा हुने यो सहभागिताले कार्यक्रमलाई उचाँई अझै बढाउने एफएमको विश्वास छ । मिश्रभन्दा अगाडि एफएमले ग्राण्ड फिनालेमा विभिन्न सेलिब्रिटिहरुलाई प्रमुख अतिथिको रुपमा पोखरा निम्त्याउँदै आएको थियो । यसअगाडि बिग आइकनको ग्राण्ड फिनालेमा प्रमुख अतिथि भएर मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा लगाएतका सेलिब्रिटिहरु आइसकेका छन् ।

यो पटकको बिग आइकनको ग्राण्ड फिनाले पोखरा सभागृहमा हुँदैछ । यस्तै ग्राण्ड फिनाले कार्यक्रम बिग एफएम, एभिन्यूज टेलिभिजन, फेवा टेलिभिजन र एफएमबिग डटकममार्फत लाइभ प्रशारण पनि हुनेछ ।

ग्राण्ड फिनालेबाट बिग आइकनसँगै फस्ट रनरअप र सेकेन्ड रनरअप छनौट हुनेछन् । यद्यपी बिग आइकनको ग्राण्ड फिनाले कार्यक्रममा भने उत्कृष्ट १० प्रतिस्पर्धीहरुकै प्रस्तुती रहने एफएमले जनाएको छ । ग्राण्ड फिनालको सम्पूर्ण तयारी पूरा भएको एफएमले जनाएको छ ।

यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।