समाज कल्याणका लागि युवा नेपालद्वारा शैक्षिक सामग्री वितरण

भुकम्पबाट पूर्ण प्रभावित रसुवाको राम्चे गाविस ग्राङ्गको ग्राङ्ग प्राविलाई समाज कल्याणका लागि युवा नेपाल, कास्कीले शैक्षिक सामग्री वितरण गरेको छ ।
अध्यक्ष किसान सुनारका अनुसार १ थान ल्यापटप, १ थान प्रिन्टर, १ थान अफिस टेबल, १६ थान डेक्सबेन्च, २ थान राउण्ड कुर्चि र कापी, कलम गरी करिब २ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रम सम्पन्न गर्न पैग डि प्रेटे अमेरिकाको पनि आर्थिक सहयोग रहेको थियो ।
कार्यक्रममा समाज कल्याणका लागि युवा नेपालका उपाध्यक्ष एवं कार्यक्रम व्यवस्थापक रवि बहादुर विक., सदस्य मनोज रसाइली, समाजसेवी सरिता पुरी र मनोज भुसाल तथा स्थानिय अभिभावकहरुको सहभागिता रहेको थियो । विद्यालय प्राचार्य नारद काफ्लेले यस टिमबाट भुकम्प पश्चात निरन्तर रहेको सहयोगबाट विद्यालयका १ सय ६० विद्यार्थीहरुलाई प्रत्यक्ष सहयोग पुग्दै आएको र आगामी सहयोग पाउने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा टिम लिडर किसान सुनार र कार्यक्रम संयोजक सरिता पुरीले सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगमा जुट्ने प्रतिवद्धता व्यक्त गरे ।