सहज पहुँचको अभावमा पर्यटकीय पोखरा पुग्न विदेशी पर्यटकले स्थल यात्राको क्रममा लामो र दिक्क लाग्दो झन्झट झेल्नु परेको गुनासो भारतीय पत्रकारहरुले गरेका छन् ।प्रेस क्लव अफ इन्डियाका अध्यक्ष गौतम लहिरी सहित हालै पोखरा आइपुगेको नौ सदस्यीय पत्रकारको टोलीले पश्चिमाञ्चल होटल संघ पोखराले मंगलबार आयोजना गरेको अन्तरक्रियामा त्यस्तो गुनासो सुनाएको हो । नेपालको दक्षिणी सिमाबाट नेपाल प्रवेश गर्ने भारतीय लगायत अन्य देशका पर्यटकले साँघुरा, भत्किएका तथा अव्यवस्थित सडकहरुको यात्रा गर्नुपर्दा निकै दुःख झेल्नु परेको गुनासो गरेका थिए ।
दिल्ली स्थित मिलेनियम पोष्टका कन्सल्टिङ एडिटर समेत रहेका अध्यक्ष गौतमले नेपालले सडकका साथै सबै पर्यटकीय पुर्वाधारहरु व्यवस्थित र सुदृढ गर्न सके स्थल मार्गबाट समेत धेरै भन्दा धेरै पर्यटक नेपाल र पोखरा आउने सुझाव राखे । दिल्ली स्थित आनन्दबजार पत्रिकाका एसिस्टेन्ट एडिटर अग्नी रोयले नेपालको सडक यात्रा आफ्नो लागि निकै दुःखद र विर्सन लायक घटना भएको दुःखेसो पोखे । काठमाडौं आएका पर्यटक पोखरा पुग्न एउटै मात्र पृथ्वी राजमार्ग रहेको र अन्य बैकल्पिक छोटो मार्ग नहुँदा नेपालप्रति पर्यटकको धारणा नकारात्मक हुन सक्ने तर्फ उनले सचेत गराए ।
इन्डो एसिएन न्यूज सर्भिसका सिनियर एसिस्टेण्ट एडिटर प्रशान्त सूदले पोखराको सुन्दरतबाट आफूहरु निकै प्रभावित भएको बताउँदै पर्यटनका लागि चाहिने आधारभूत आबश्यकता र पूर्वाधार निर्माणका लागि नेपाल सरकार र निजी क्षेत्र गंभीर हुनुपर्ने सुझाव राखेका थिए । केही दिन अघि पोखरा आएका नेपालका लागि भारतीय राजदूत मंजीभ सिंह पुरीले भारत र नेपाल विचको कनेक्टिभिटी सुदृढ गर्नुपर्ने सुझाव राखेका थिए । पोखरा आएको भारतीय पत्रकारको टोलीले समेत राजदूतकै सुझावसँग मिल्ने गरी भारत र नेपालका विभिन्न ठाउँबाट पोखरा सम्म पुग्ने सडकहरु व्यवस्थित र चौडा गर्न सुझाव दिएका हुन् ।
सो अवसरमा बोल्दै पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पटक पटकका बन्द र हड्ताल, विनासकारी भूकम्प तथा भारतीय नाकाबन्दी र नोटबन्दीबाट सिंगो पर्यटन क्षेत्र र नेपालकै अर्थतन्त्र समेत प्रभावित भए पनि अहिले यो सुधारको क्रममा रहेको जानकारी दिए ।
विगतमा आफ्नो संघले चलिए पोखरा अभियान लिएर भारतका विभिन्न शहरमा प्रबद्र्धनका लागि पुगेको स्मरण गराउँदै त्यस्तो अभियान पुनः छिटै बोर्डर टाउन सेल्स मिसन अन्तर्गत संचालन गरिने जानकारी दिए । नेपाल आउने वार्षिक आठ लाख पर्यटक मध्ये एकतिहाई भारतीयको संख्या रहने गरेको जानकारी दिंदै उनले क्रिकेट लगायत भारतीयले मन पराउने खेलबाट समेत नेपालमा भारतीय पर्यटक आकर्षित गर्न सकिने संभावना रहेको सुनाए ।
संघका सल्लाहकार एवं होटलकर्मी गोविन्दराज पहारीले पर्यटन क्षेत्र निकै संवेदनशिल भएको बताउँदै पोखरा र समग्र नेपालमा पूर्वाधार निर्माणका लागि आफूहरुले सरकारलाई घच्घच्याई रहेको जानकारी दिए । विद्युत, पर्यटन र कृषि नेपालका लागि महत्वपूर्ण भएको पनि उनले बताए । मुिक्तनाथ र पशुपतिनाथ जस्ता धाम भारतीय पर्यटकको महत्वपूर्ण गन्तव्य भएको पहारीले स्मरण गराए ।
संघका महासचिव गणेशराज पहारीले पोखरा भारतीय पर्यटकका लागि गर्मी छल्न उपयुक्त स्थल भएको बताउँदै पोखरामा छिटै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने र तत्पश्चात् सिधा उडान मार्फत भारतीय पर्यटक नेपाल आउन सक्ने विश्वास दिलाए ।
Leave a Reply