विजयी प्रतिनिधीलाई सम्पत्ती विवरण बुझाउन एमालेको निर्देशन

नेकपा एमाले पोखरा लेखनाथ महानगरपालिका संगठन कमिटिले महानगरपालिकामा एमालेको तर्फबाट विजयी भएका सम्पूर्ण जनप्रतिनिधिलाई सम्पत्ती विवरण पार्टीलाई बुझाउन निर्देशन दिएको छ । जनताको भावना अनुसार काम गरेर चुनावी प्रतिबद्धता पुरा गर्न पनि कमिटिले निर्देशन दिएको सचिव दिलीप न्यौपानेले जानकारी दिए ।
साथै बैठकले वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखरा लेखनाथ महानगरमा पार्टीका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउन सघाउने मतदाता, निर्वाचनलाई शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न गराउने निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र निर्वाचनको प्रतिस्पर्धामा रहेका सम्पूर्ण दलहरुलाई धन्यवाद व्यक्त गरेको छ । ‘विजयी उम्मेदवारलाई बधाई ज्ञापन गरी सफल कार्यकालको कामना गरिएको छ,’ सचिव न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले भरतपुर महानगरपालिकाको मतगणनाकै क्रममा जनमतको अपमान गर्नेगरी योजनाबद्ध रुपमा मतपत्र च्यात्ने र मत गणना स्थगित गर्ने जस्तो निन्दनीय, अलोकतान्त्रिक र असभ्य गतिविधि भएको भन्दै त्यसप्रति घोर निन्दा एवं भत्र्सना गरेको छ । मतगणना तत्काल सुचारु गर्न पनि एमालेले माग गरेको छ ।
महानगर कमिटिका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा आयोजित बैठकमा केन्द्रीय कमिटि पोलिटव्युरो सदस्य गणेश तिमिल्सिना, वैकल्पिक पोलिटव्युरो सदस्य जगत विश्वकर्मा, केन्द्रीय कमिटि सदस्य मानबहादुर जिसी, केन्द्रीय अनुशासन आयोग सदस्य मित्र कुमारी गुरुङ लगायतको उपस्थिति थियो ।