स्याङ्जाको हरिनास गाउँपालिका–७, कुटुम्सामा जन्मिएकी केशमाया थापामगर “जसिका”, सानै उमेरमा वडाध्यक्ष बन्न सफल भएकी छन् । आफू जन्मिएको वडा नं. ७ को वडाध्यक्षमा नेकपा (एमाले)का तर्फबाट विजयी हुनुभएको हो । पोखरीभञ्ज्याङ आधारभूत विद्यालयबाट औपचारिक शिक्षा सुरु गरी कमलाभञ्ज्याङ मावि र सिद्धार्थ मावि, भिमाद नगरपालिका–१ बाट कक्षा १२ सम्मको पढाइ पूरा गरेकी छन् ।
क्याक्मी लोटस स्कुलमा तीन वर्ष अध्यापन गरेपछि कोपिला नेपालमार्फत् तीन वर्षसम्म सामाजिक सेवामा लागेकी उहाँलाई सामाजिक परिचालकका रुपमा काम गर्दाको अनुभवले स्थानीय तहको चुनाव जित्न सजिलो बनायो । “वडाध्यक्ष बन्छु भन्ने मैले सोंचेकै थिइनँ”, उहाँ भन्नुहुन्छ, “अभिभावकको सल्लाह र प्रेरणा एवं गाउँलेहरूको अनुरोध अनुसार नै वडाध्यक्षमा उठें, अनि जितें पनि ।”
नवगठित वडाभित्र पर्ने साबिकका पाँच वटा वडामा विद्युतीकरण गर्ने आफ्नो प्रमुख योजना रहेको वडाध्यक्ष केशमाया बताउनुहुन्छ । “वडाको आवश्यकता अनुसार वडालाई समृद्ध बनाउने विशेष योजना बनाएर अघि बढ्छु”, उहाँ भन्नुहुन्छ, “सबै वडाबासीको साथ र सहयोग पाएको खण्डमा मैले हामी सबैको सपना पूरा गर्न सक्नेछु भन्ने विश्वास छ ।” वडाध्यक्ष निर्वाचित भएपछि निकै खुशी लागेको भन्दै उहाँले सबैले विश्वास गरेर जिताएकाले जनताको विश्वासमाथि कहिल्यै कुठाराघात नगर्ने प्रतिबद्धता समेत जनाएकी छिन् ।
वडाको विकासका लागि सम्पूर्ण राजनैतिक दलका प्रतिनिधिसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने उहाँको योजना छ । लोकतान्त्रिक प्रक्रियामा कसैले जित्ने र हार्ने स्वाभाविक हुने भन्दै वडाको विकासका लागि सबै एकजुट हुनुपर्ने उहाँको धारणा छ ।
वडामार्फत् गरिने सम्पूर्ण कामहरूलाई जनतासँग सहज पहुँच गराउन आफू लागिपरेको उहाँको भनाइ छ । २० वर्षपछि जननिर्वाचित स्थानीय सरकार बनेकाले जनतामा केही हुने आशा पनि पलाएको छ । जनताको मतद्वारा निर्वाचित भएकाले जनताप्रति बढी उत्तरदायी र जवाफदेही हुने स्थानीय सरकारमा उपेक्षित एवं उत्पीडित समुदायबाट सन्तोषजनक प्रतिनिधित्व भएको छ । अझ संवैधानिक प्रावधानका कारण महिलाहरूको प्रतिनिधित्व निकै उत्साहजनक छ ।
Leave a Reply