नेपाली लोक संगीतको क्षेत्रमा महत्वपूर्ण स्थान रहिआएको पञ्चेबाजा अर्थात लोकबाजा विभिन्न धार्मिक कार्य, साँस्कृतिक कार्य, मेलापर्व, जात्रा, उत्सव, मेला महोत्सव, विवाह ब्रतबन्ध, ¥यालीहरुमा सुमधुर बाजा बजाई गाउने नाच्ने चलन रहेको छ । यस्ता बाजाहरुले कुनै पनि कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्ने हुनाले बाजाको स्थान महत्वपूर्ण रहेको छ ।
यसका अलवा सँस्कृतिको पहिचानको रुपमा चिनिने नौमती बाजाको छुट्टै स्थान छ । नौमती बाजा अन्तर्गत सनाई २ वटा, बाजा २ वटा, कर्नाल २ वटा, ढोलकी, ट्याम्को, झ्याली र नरसिंहा २ वटा पर्दछन् विशेषगरी पहिले पहिले दमाई जातिको पेशाको रुपमा चिनिने गरिन्थ्यो । पछिल्लो समय अन्य विभिन्न जातजातीहरुले पनि पञ्चेबाजा तथा नौमति बाजा बजाउन थालेको प्रशस्तै उदारहणहरु रहेका छन् ।
बागलुङ जिल्ला गलकोट क्षेत्र ताराखोला गाउँपालिका वडा नं. १ मा करिब ४ वर्ष अघिदेखि शुरु गरेको मगर पञ्चेबाजा पछिल्लो समय निकै लोकप्रिय बन्दै गइरहेको छ ।
कला संस्कृतिको संरक्षण गर्दै बाजा बजाएर एक अनौठो कार्यको शुरुवात गरेको त्यहाँका कलाकारहरु बताउछन् । वि.स. २०७० साल बैशाख १ गते पञ्चेबाजा एक समितिको रुपमा स्थापना भएको बताउँदै समितिका संयोजक दल बहादुर रोकामगरले आफ्नै संयोजकत्वमा मन बहादुर रोकामगर, बम बहादुर घर्तीमगर, शिव पुनमगर, चित्र बहादुर पुनमगर, कृष्ण बहादुर रोकामगर, हर्क बहादुर रोकामगर, थर्क बहादुर नाउसामगर, दिनेश श्रीसमगर, गगन पुनमगर, गोविन्द रोकामगर, कर्ण बहादुर पुनमगर, नर बहादुर घर्तीमगर, नर बहादुर रोकामगर लगायतको सदस्यहरु रहने गरी गठन भएको जानकारी दिएका थिए ।
विशेष गरी गाउँमा धेरै विवाह ब्रतबन्धमा पञ्चेबाजा अति आवश्यक भएको हुनाले यो पञ्चेबाजा अर्थात नौमति बाजाको यो समिति गठन गरिएको हो । प्राय जसो बाध्यबाधनमा पोख्त त्यहाँका मगर युवाहरु केही अभिभावकलाई पनि साथमा लिएर उक्त पञ्चेबाजा अर्थात नौमती बाजा सञ्चालनमा ल्याएका छन् भने विस्तारै गाउँका सबै जसो इच्छुक युवाहरुलाई समितिमा समावेश गर्दै जाने बताएका छन् ।
शुरु शुरुमा मगर भेषभूषामा सजिएर पञ्चेबाजा बजाउँदै गरेको देख्दा धेरैलाई अचम्म नलागेको पनि होइन तर अनुशासनपूर्वक निकै राम्रो बाजा बजाउने भएपछि अधिकांशले आफुहरुलाई निमन्त्रणा गर्ने गरेको संयोजक रोकामगरले बताए । अहिले गाउँका सबै जसो ठाउँमा कार्यक्रम, मेला पर्व, विवाह ब्रतबन्ध भएको खण्डमा शिवलेकाली मगर पञ्चेबाजालाई निमन्त्रणा गर्ने गरिन्छ । सिजनको बेलामा त उनीहरुलाइै भ्याइ नभ्याई हुने गर्दछ । गाउँ नजिकैका ठाउँमा कसैले १ दिनको लागि त कसैले २ दिनको लागि निमन्त्रणा गर्ने गरेको कलाकारहरु बताउछन् । त्यस्तै गाउँदेखि बाहिरबाट कसैले ३÷४ दिनको लागि समेत अग्रीम बुकिङ गर्ने गरेको समितिका संयोजक रोकामगर बताउछन् भने पूजाआजा परेको खण्डमा बार्षिक रुपमा महिनाको कुनै दिन अथवा बार पारेर निमन्त्रणा गर्ने गरेको उनी बताउछन् ।
उनीहरुका अनुसार अहिले सम्म बागलुङ, म्याग्दी, पर्वत, कास्की, तनहुँ, चिटवन लगायतका जिल्लाको विभिन्न ठाउँहरुमा भएको विवाह, मेला पर्वहरुमा सहभागी भई आफ्नो प्रस्तुती दिएर चर्चा कमाइसकेको बताएका छन् । पछिल्लो समय धरै भन्दा धेरै मगरहरुको बाहुल्यता रहेको ताराखोला गाउँपालिका जहाँ अमरभूमि, अर्गल, हिल र ताराखोलामा २ वटा, गरी ५ वडा रहेको छ, यी ५ वटै वडामा एक पछि अर्को मगर पञ्चेबाजा स्थापना गर्नेको लहर नै चलेको छ ।
Leave a Reply