रूद्र श्रीसमगर
सूचना प्रविधि अभियन्ता डा. महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रका लागि नेपाल मगर संघ दक्षिण कोरियाले ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरद्वारा नेपाल मगर संघ दक्षिण कोरियाले राष्ट्रिय आविष्कार केन्द्रका लागि संकलन गरेको सो रकम केन्द्रका प्रमुख अभियन्ता डा. महावीर पुनलाई हस्तान्तरण गरियो । मगर संघ दक्षिण कोरियाका अध्यक्ष खड्ग थापामगर र निवर्तमान महासचिव सुब्बा रानामगरको पहलमा संकलित ३ लाख रुपैयाँ र मगर संघ दक्षिण कोरियाको तर्फबाट १ लाख गरी ४ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारिणी सदस्य एवं नेपाल मगर संघका केन्द्रीय महासचिव ज्ञानेन्द्र पुनमगर, विदेश सचिव रक्षाबहादुर रैकामगर, मगर संघ हङकङकी अध्यक्ष एवं नेपाल मगर संघकी पूर्वी एसिया संयोजक चन्द्रज्योति आलेमगर, नेपाल मगर संघ दक्षिण कोरियाका महासचिव सुब्बा रानामगर, सह–कोषाध्यक्ष सुशीला थापामगर, ओम जुग्जालीमगर, लोक पुनमगर, मुन रानामगर, नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष कविराज थापामगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष कमल थापामगरलगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, नेपाल मगर संघ केन्द्रीय समिति र नेपाल मगर संघ दक्षिण कोरियाबीच मगर समुदायको भाषा, धर्म, संस्कृति एवं समसामयिक मगर संघको रणनीतिका विषयमा छलफल समेत भएको छ । केन्द्रीय समिति र विदेशस्थित शाखाहरूबीच मगर अन्तर्राष्ट्रिय मञ्चमार्फत् समन्वय बढाउँदै लैजाने एवं विश्वभरिका मगर संघसंगठनहरूलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको नेपाल मगर संघ दक्षिण कोरियाकी सह–कोषाध्यक्ष सुशीला थापामगरले जानकारी दिए ।
Leave a Reply