मेयरका उम्मेदवार रामजी कुँवरले जेष्ठ नागरिकलाई निुशल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता

नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिकाका मेयरका उम्मेदवार रामजी कुँवरले जेष्ठ नागरिकलाई निुशल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका १७मा आयोजित चुनावी सभामा बोल्दै मेयरका उम्मेदवार कुँवरले जेष्ठ नागरिक स्वास्थ्य उपचारको लागि दायित्व आफनो काँधमा लिने उदघोष गरे ।

‘आर्थिक दुराबस्थाको कारण जेष्ठ नागरिक स्वास्थ्य उपचारबाट बन्चित हुनुहुदैन् भन्ने हाम्रो ध्येय हो ।’ उनले भने—‘निशुल्क उपचारको लागि काँग्रेसले अभियान शुरु गर्ने छ ।’ उनले काँग्रेसले जितेको अवस्थामा यो अभियानलाई सयदिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए ।उनले जेष्ठ नागरिकको लागि पब्लिक बसको समेत व्यवस्था गर्ने सुनाए ।

‘पब्लिक बस मार्फत निशुल्क सेवा उपलब्ध गराउने हाम्रो एजेण्डा छ ।’ उनले भने—‘यो एजेण्डा कार्यान्वयन ल्याउनको लागि काँग्रेसलाई जित आवश्यक छ ।’ उपमेयर उम्मेदवार सरस्वती गुरुङले नेपाली काँग्रेस सबैको साझा पार्टी भएको उल्लेख गर्दै काँग्रेसको जितको हकदार बन्न सबैलाई आग्रह गरिन् ।

‘एजेण्डालाई कार्यान्वयन गर्छौ ।’ उनले भनिन—‘त्यसको लागि तपाईहरुको साथ र सहयोग अपरिहार्य छ ।’ एकसातापछि हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेसले घरदैलो अभियानलाई निरन्तरता दिएको छ । विहानी झरीको समयमा पनि चुनावी सभामा सहभागि हुदैं घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

प्रत्येक पोखरा लेखनाथ महानगरपालिकाको वडाहरुमा स्थानीयबासीसँग मेयरका उम्मेदवार रामजी कुँवर तथा उपमेयर उम्मेदवार सरस्वती गुरुङले साक्षात्कार गरिरहेका छन् । स्थानीय बासिन्दाको आवाजलाई आफनो एजेण्डामा समाहित गर्दै पुरा गर्ने दायित्व र जिम्मेवारी समेत उम्मेदवारले लिएका छन् ।