मिस नेवा ११३७ को प्रतिभा प्रस्फुटन सम्पन्न

युवा पुस्तामा संस्कार र संस्कृति हस्तान्तरण हेतु नेवा खलः कास्कीद्धारा आयोजित मिस नेवा पोखरा नेपाल संवत ११३७ अन्तर्गत प्रतिभा प्रस्फुटन कार्यक्रम मंगलबार पोखरामा सम्पन्न भएको छ । नेवा छेँ भिमसेन टोलमा सम्पन्न कार्यक्रममा सहभागी १७ प्रतियोगीहरुले आ–आफ्नो रुचीका प्रतिभा प्रस्तुत गरेका थिए ।कार्यक्रममा प्रतियोगीहरु नयाबजारका सरिष्मा उदास, गणेशटोलका सुमित्रा श्रेष्ठले भाषणकला, नदिपुरका ज्यास्मिन श्रेष्ठले नेवारी नृत्य, मोहोरियाटोलका रश्ना बुद्धाचार्यले तायमचा नाच, बगरका आयुष्मा श्रेष्ठले कुमारी नृत्य प्रस्तुत गरेका थिए । यसैगरि दमौलीका लक्ष्मी श्रेष्ठले गायन कला, नयाबजारका सिम्रन श्रेष्ठले मेहन्दी कला, तेर्सापट्टीका अंशु शाक्यले नारीको बर्तमान अवस्था र हाम्रो संस्कृति शिर्षकमा बतृत्वकला प्रस्तुत गरेका थिए ।

रामकृष्णटोलका निकिता लिगल, शिसुवाका सुमन श्रेष्ठ, बागबजारका श्रद्धा श्रेष्ठ, कुँडहरका बर्षा श्रेष्ठ, चिप्लेढुङ्गाका प्राथर्ना डङ्गोलले नृत्य प्रस्तुत गरेका थिए । दुलेगौंडाका आकृति श्रेष्ठले धिमे बाजा तथा हेम्जाका कृपा श्रेष्ठले खिन बजाएका थिए । कार्यक्रममा लेखनाथ शिसुवाका सुष्मी कतिलाले नेवारी संस्कार र संस्कृतिका बारे बक्तृत्वकला प्रस्तुत गरेका थिए भने तेर्सापट्टीका श्रीया श्रेष्ठले कागजबाट बिभिन्न हस्तकलाका सामाग्री निर्माण गरि प्रदर्शन गरेका थिए ।


विभिन्न चरण पार गर्दै फागुन २८ गते पोखरा सभागृहमा अन्तिम चरणको प्रतिस्पर्धा हुनेछ । मिस नेवाः पोखरा ११३७ का विजेताले ४० हजार नगद, फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गर्ने छन् । प्रतियोगितामा मिस ट्यालेण्ट, मिस स्माइल, मिस पर्सनालिटी, उत्कृष्ट नेवारी भाषा, भ्यवर च्वाइस, मोस्ट फ्रेण्ड्ली र मिस फोटोजेनिक गरि सात वटा बिधागत उपाधीहरु रहेको कार्यक्रम संयोजक शम्भुलाल श्रेष्ठले जानकारी दिए । बिधागत उपाधी बिजेताले जनही नगद रु ५ हजार प्राप्त गर्नेछन । उत्कृष्ट नेवारी भाषाका बिजेताले नगद रु ७ हजार प्राप्त गर्नेछन । कार्यक्रमबाट वचत रकम, नेवा खलः कास्कीले आयोजना गर्ने नेवारी साँस्कृतिक कार्यक्रममा टेवा पुर्याउने तथा भौतिक संरचना निर्माणमा सहयोग गर्ने भएको छ ।
कार्यक्रममा नेवा छेँ का अध्यक्ष अशोक पालिखे, ट्यालेण्ट सो संयोजक श्रीया बुद्धाचार्य, मिस नेवा ११३६ एलिशा जोशी, नेवा मिसा पुच कास्की अध्यक्ष शान्ती उदास, ल्याम्ह पुच कास्की अध्यक्ष रामबहादुर रजक लगायतले शुभकामना दिएका थिए । प्रतिभा प्रस्फुटनका निर्णायकहरुमा मधुसुदन जोशी, प्रदिप रञ्जित र दीपा शाक्य श्रेष्ठ रहेका थिए । प्रतियोगीहरुको प्रिजजिङ्ग, फोटो सुट तथा अवलोकन भ्रमण सम्पन्न भइसकेको छ । यसअघि प्रतिस्पर्धीहरुलाई नेवारी संस्कृति र सभ्यताका बारेमा जानकारी दिने उद्धश्यले काठमाण्डौं, ललितपुर, किर्तीपुर र भक्तपुर भ्रमण गराइएको संयोजक श्रेष्ठले बताए ।
नेपाल संवत ११३१ देखि शुरु गरिएको मिस नेवा पोखराको छैठौं संस्करणसम्म १ सय ६ जनाले भाग लिएको र ११३१ मा निकिता श्रेष्ठ, ११३२ मा रचिता नकर्मी, ११३३ मा सुमना बज्राचार्य र ११३४ मा रुचि श्रेष्ठ, ११३५ मा आशा श्रेष्ठ, ११३६ मा एलिशा जोशीले मिस नेवा पोखराको ताज पहिरन सफल भइसकेका छन् । मिस नेवा शुरु गरेदेखि नेवार युवतीहरुले मौलिक बाजा बासुरी, धिमे बाजा बजाउन प्रशिक्षण, भाषा तालिम, क्वाँटी खाने मेला कै रुपमा आयोजना गरी नेवारी सँस्कृतिमा योगदान पुर्याउदै आएको छ ।