छवि मगर
नेपाल मगर सांस्कृतिक संघ कास्कीले मगर संघ युकेका उपाध्यक्ष अनिता रानामगर र सल्लाहकार कुमार रानामगरलाई पोखरामा स्वागत गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा उनीहरूलाई स्वागत गरिएको हो । सोही अवसरमा सांगीतिक कार्यक्रमका लागि हङकङ जान लागेकी संघकी जिल्ला सदस्य लोक तथा दोहोरी गायिका चिना थापामगरलाई बिदाइ गरिएको छ ।
भेटघाट, स्वागत एवं बिदाइ कार्यक्रममा नेपाल मगर संघ कास्कीका उपाध्यक्ष मे. प्रेमबहादुर थापामगरले कुनै पनि कार्यक्रमको आयोजना गर्दा समयलाई चिन्न सक्नुपर्ने बताए । ‘सबैले समयलाई चिनेर अघि बढ्न जरुरी देख्छु, यसका लागि मगर कलाकारको पनि ध्यान जानुप¥यो’ उनले भने,‘कार्यक्रम जुन समयमा भनिएको हो त्यतिबेलै सुरु हुनुपर्छ ।’ उपाध्यक्ष थापामगरले कलाकार र पत्रकारलाई एकै ठाउँमा भेट्न पाएकोमा खुशी व्यक्त गरे ।
मगर संघ युकेकी उपाध्यक्ष अनिता रानामगरले आफूलाई स्वागत गरेकोमा संघप्रति आभार व्यक्त गर्दै बाध्यतावश युकेमा गएर बस्नुपरे पनि नेपालकै माया भएको बताइन् । ‘हामीलाई मगर कलाकारले स्वागत गर्नुभयो, यसका लागि आभारी छौं’, उपाध्यक्ष रानामगरले भनिन्, ‘सकभर सबै ठाउँका मगर कलाकारलाई विदेश भ्रमणबाट वञ्चित गरिन हुन्न भन्नेमा हामी सचेत छौं, त्यसैले हामी पोखरासम्म आइपुगेका हौं ।’ विदेश भएका सबै संघसंस्थाले नेपालका कलाकार र पत्रकारलाई भ्रमणको अवसर दिनुपर्ने बताउँदै रानामगरले मगर संघ युकेले आयोजना गर्ने एक मात्र कार्यक्रम बुद्ध नेपाली ओपन कन्सर्ट भएको र त्यसमा सीमित कलाकारले मात्र अवसर पाउने बाध्यता रहेको बताइन् ।
मगर संघ युकेका सल्लाहकार कुमार रानामगरले विश्व भूमण्डलीकरणको असर संस्कृतिमा पर्दै गएको बताउँदै मगर जहाँ रहेपनि मगर संस्कृतिलाई भुल्न नहुनेमा जोड दिए । ‘संविधान संशोधन प्रस्तावले मगरहरूको क्लस्टर मिलाएको छ’, रानामगरले भने, ‘यसको हामी सबै स्वागत गर्नुपर्छ ।’ युकेमा ४०/४५ हजार मगरहरूको बसोबास गर्ने भन्दै रानामगरले मगरको मौलिक संस्कृतिको विश्वभर प्रचारप्रसार गर्नुपर्ने बताए ।
हङकङ जान लागेकी लोक तथा दोहोरी गायिका चिना थापामगरले आफूलाई सम्मानसहित बिदाइ गरेकोमा संघप्रति धन्यवाद व्यक्त गरिन् । नेपाल मगर सांस्कृतिक संघ कास्कीका अध्यक्ष दीपक थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज थापामगर र स्वागत सदस्य वसन्ती थापामगरले गरेका थिए ।
Leave a Reply