२७ वर्षीय स्वीस नागरिक डेनीले मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिका ५, का विभिन्न ठाउँबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेका छन् । २७ वर्षीय स्वीस नागरिक डेनीले तीन दिन लगाएर दुधिल्ला, मग्मा, लेखावाङ, भनभने, गारकटेरी, सिस्ने र स्यार्पू ताललगायत क्षेत्रमा परीक्षण गरेका हुन् ।
फागुन १ गते मुसिकोट नगरपालिकाको जन्ती बस्ने लेकबाट स्यार्पूतालसम्मको प्याराग्लाइडिङ गरेका उनी शनिबार पनि परीक्षणमै व्यस्त थिए । स्थानीयसँग मिलेर उनले विभिन्न ठाउँमा प्याराग्लाइडिङ परीक्षण गरिरहेका छन् । शनिबारसम्म आधा दर्जन ठाउँबाट प्याराग्लाइडिङ परीक्षण गरेका डेनीले रुकुमका पहाडमा प्याराग्लाइडिङको राम्रो सम्भावना भएको बताए । हिउँले ढाकिएका सेताम्य पहाडमाथि उडेर स्यार्पूतालमा ल्यान्ड गर्दा निकै आनन्द महसुस गरेको उनको भनाइ छ । ‘प्रचारप्रसार गर्न सके प्याराग्लाइडिङमार्फत पर्यटन विकास गर्न सकिन्छ,’ उनले भने ।
प्याराग्लाइडिङको क्रममा सेताम्य पहाड, जंगल, गुरिल्ला ट्रेल र सानीभेरी नदी लगायतका दृश्य एकदमै आकर्षक देखिने उनले बताए ।
Leave a Reply