प्राइम वचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारी, संचालक समितिका सदस्य, लेखासमिति सदस्य र कर्जा उपसमितिका सदस्यहरुलाई ‘मनोआध्यात्मिक प्रशिक्षण’ दिएको छ ।सकारात्मक सोँचको विकास होस् भन्ने हेतुले संस्थाले यस्तो खाले तालिमको आयोजना गरेको जानकारी दिएको छ । मनोआध्यात्मिक प्रशिक्षण अध्ययेता माधव पहारीले दिएका थिए । उनले मनोविज्ञान र आध्यात्मको कारण मानिसको दैनिक जीवनशैलीमा पर्ने प्रभावको बारेमा सहभागीहरुलाई सिकाएका थिए ।
प्रशिक्षणको क्रममा पहारीले मानिसको सोँच्ने शैलीले नै उसको व्यक्तित्व झल्काउने बताएका थिए । वित्तिय क्षेत्रमा काम गर्ने व्यक्तिहरुका लागि मनोविज्ञान र आध्यात्मले अझै बढि महत्व राख्ने उनले प्रस्ट्याए । जीवनमा हरेक तरिकाका समस्या र उल्झन आएपनि त्यसलाई कसरी समाधान गर्नका लागि सकारात्मक सोँच आवश्यक पर्ने सहभागीहरुलाई बताएका थिए ।
सोहि क्रममा संस्थाले कास्की वचत संघका अध्यक्ष सुदिप खनाललाई सम्मान समेत गरेको थियो । त्यसैगरि संस्थाले सातौँ स्थापना दिवसको अवसर पारेर कर्मचारीहरुलाई व्यवस्थापन सम्बन्धि प्रशिक्षण समेत दिएको थियो । व्यवस्थापक निरु थापाले कर्मचारीहरुलाई यो विषयमा प्रशिक्षण दिएकी थिईन् ।
सातौँ वार्षिकोत्सवको अवसर पारेर संस्थाले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । केहि दिन अगाडि मात्रै संस्थाले पोखरा ९ स्थित सहारा विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण समेत गरेको थियो । लेखा समितिका सँयोजक कुलदिप भट्टराईले विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । विद्यालयमा मजदुर तथा सुकुम्बासीका छोराछोरीहरु अध्ययन गर्दै आएका छन् ।
संस्थाले सामाजिक उत्तरदायित्वको क्षेत्रमा अझै लाग्दै जाने प्रबन्ध निर्देशक रहेका सुरेन्द्रमणी पौडेलले जानकारी दिए । हाल संस्थामा ७ सय ९९ सेयर सदस्य रहेका छन् भने संस्थाले ८२ करोड़ को कुल कारोबार गरेको पौडेलले जानकारी दिए । ६ करोड शेयर पूँजी रहेको सहकारीले सात वर्षको बीचमा बगर र लेखनाथको तालचोकमा दुई वटा सेवा केन्द्र स्थापना गरि ग्राहकहरुलाई सेवा दिँदै आएको छ । त्यस्तै संस्थाले लेखनाथमा आधुनिक बाख्रा फार्म संचालन गर्नुका साथै एलोभेराका विभिन्न सौन्दर्य सामाग्रीहरु उत्पादन गर्दै आएको छ ।
Leave a Reply