पोखरा आइपुग्यो ‘रोल्पा सुइना’

कथाकार नवीन विभासको कथाकृति ‘रोल्पा सुइना’माथी शनिबार पोखरामा परिचर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटी अफ् नेपालको नियमिति कार्यक्रमको ८२ औँ शृङ्खलामा विभासको कृतिमाथि उपन्यासकार तथा समालोचक नेपालप्रकाश अधिकारीले परिचर्चा गरेका हुन् ।

अधिकारीले जनयुद्धलाई मूल आधार मानेर लेखिएको कृतिले रोल्पाली सपना उतारेको बताए । उनले प्रगतिवादी फाँटका नयाँ चमकका रुपमा विभासलाई चिनाउँदै १० वर्षे द्वन्द्व र द्वन्द्वपछिका वस्तुस्थिति बुझ्न ‘रोल्पा सुइना’ पढ्नै पर्ने कृति भएको सुनाए ।

‘कलात्मक र पठनीय शैलीशिल्पले युक्त कृतिले नेपाली प्रगतिवादी साहित्यमा स्मरणीय छाप राख्नेछ’ परिचर्चा गर्दै अधिकारीले भने,‘नेपाली राजनीतिक परिवर्तन र जनअपेक्षाको प्रतिबिम्ब रोल्पा सुइनामा पाइन्छ ।’

कथाकार विभासले कथा भन्ने समुदायबाटै हुर्किएकाले समाजकै कथा लेख्ने क्रममा रोल्पा सुइना जन्मेको बताए । ‘मेरो जेइले (आमा) ले सिलुक भन्नुन्थ्यो । रोल्पातिर कथा भन्नुलाई सिलुक हाल्ने भन्छन् । त्यही सिलुक सुन्दासुन्दै हुर्किए । मलाई त्यही सिलुक भन्ने समाजले नै लेखक बनाएको हो’ कथाकार विभासले भने ।

अग्रज कथाकारहरुले हिँडेकै बाटो हिँड्न मन नपर्ने बताउँदै कथाको पनि नयाँ बाटो हिँड्ने चाहनामा किताब जन्मिएको उनको भनाई थियो । पत्रकारितामा समेत क्रियाशील विभासले राजनीतिक बिटमा द्वन्द्वका रिपोर्टिङ गर्दा समाचारका रुपमा आउन नसकेका पात्रहरुलाई कथाका माध्यमबाट प्रस्तुत गरेको बताए ।

विभासका यसअघि आधा बाटो हिँडेपछि (कथा सङ्ग्रह), मौसमका हरफहरु (कविता सङ्ग्रह), उनका गजल (गजल सङ्ग्रह), रात पनि ऐंठन परेको रातमा (निबन्ध सङ्ग्रह) लगायतका कृतिहरु प्रकाशित छन् । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको रोल्पा सुइनामा ३७ ओटा कथाहरु सङ्गृहीत छन् ।

सम्पूर्ण उपस्थित पाठकहरुलाई अध्यक्षता गराइएको कार्यक्रमको सञ्चालन सचिव अनुपमणि अधिकारीले गरेका थिए । उपाध्यक्ष रुपिन्द्र प्रभावीको स्वागतमा भएको कार्यक्रममा गनेस पौडेल, दीपक पराजुली, सुरेश रानाभाट लगायतले टिप्पणी गरेका थिए ।

आगामी चैत २४ गते शनिबार कवि विनोदविक्रम के.सी.को एकल कविता वाचनसँगै गुरुङ सुशान्तले कविताहरुमाथि चर्चा गर्ने कार्यक्रम रहेको अध्यक्ष केशवशरण लामिछानेले जानकारी दिए ।