शिलान्यास भएको एक बर्ष वितेर पनि निर्माण सुरु हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य आगामी आर्थिक बर्षदेखि सुरु गरिने अर्थमन्त्री कृष्ण बहादुर महराले बताएका छन् ।
सोमवार आगामी आर्थिक बर्षको बजेट भाषणका क्रममा उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य आगामी आर्थिक बर्षदेखि सुरु गरी ४ बर्षभित्र सम्पन्न गरिने बताए । २०७३ बैंशाख १ गते शिलान्यास भएर पनि निर्माण कार्य सुरुवातमा ढिलाई भएको गुनासो आइरहेका बेला अर्थमन्त्री महराले आगामी आर्थिक बर्ष निर्माण कार्यको सुरुवात हुने जानकारी दिएका हुन् ।
पोखरासहित तीन स्थानमा विमानस्थल निर्माणका लागि झण्डै १४ अर्ब बजेट छुट्याइएको छ । निगजढ अन्तराष्ट्रिय विमानस्थलका लागि आगामी आर्थिक वर्ष बोलपत्र आहृवान गर्ने , गौतमबुद्ध विमानस्थल ०७५ सालमा निर्माण सक्ने र पोखरा अन्तराष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षबाट सुरु गर्ने महराले बताए । यसका लागि १३ अर्ब ७२ करोड बजेट छुट्याइएको अर्थमन्त्रीले बताए ।