पोखरामा सबैलाई सलाम छ…

मनोज घर्तीमगर

पोखरा सभागृहको हलमा दर्शकको भिड थियो । भिडभाड झन्झन् बढ्दै गयो । दर्शक अधैर्य भइरहेका थिए । सबै दर्शकको ध्यान स्टेजतिर थियो । शनिबार यातायातका साधन बन्द भए पनि दर्शक हिडेरै हलसम्म पुगेका थिए दर्शक अधैर्य भइरहेका बेला प्रमुख अतिथी प्रदेश नं. ४ का भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले मादल घन्काएर कार्यक्रमको उद्घाटन गरे । दर्शकको धर्यता भंङ्ग भयो ।

लगत्तै प्रमुख अतिथी मन्त्री लेखबहादुरले व्हील चियरमा धकेल्दै एकजनालाई स्टेजमा ल्याए । उनलाई निधारमा फेटा गुथाइदिए । चेक सर्ट, पाइन्ट लगाएर लगाएर व्हिल चियरमा बसेका उनी थिए–चर्चित गायक खड्ग बर्जुजामगर । स्टेज ढोगेर कुर्सीमा बसेपछि उनले माइक तलमाथी बनाए । गीत राख्ने ??? मिलाए । दायाँवायाँ हेरे । उनलाई नेपाल मगर साँस्कृतिक कलाकार संघले ‘खड्ग गर्बुजा मगर एकल लोक गायन कार्यक्रम’ नाम दिएर स्टेज चढाएको थियो । ‘आज यातायात बन्द गर्नु राज्यको विरुद्ध नभई मेरै विरुद्धमा गरेजस्तो लागेको छ’ माइक समाउने बित्तिकै भावुक मुद्रामा खड्गले गुनसो सुनाए,‘तैपनी चारपाँच घण्टा हिडेरै कार्यक्रममा आउनुभो । यति ठूलो हल भरिदिनुभो सबैलाई धन्यवाद ।’

खड्गले आफूमाथी परेको बज्रपात र दुःख भुल्न विरहका गीत गाउँदागाउँदै गायक बनेको अनुभव सुनाए । ‘दुःखको भारी बोकेर गीत गाउँदै बेनी, बागलुङ, हुँदै काठमाडौं पुगें । भाग्यले रेडियो नेपालमा पुगें । स्वर परिक्षा पास गरेपछि गायनले उचाइ लियो’ उनले यथार्थ कुरा लुकाएनन्,‘तर म ठूलो कलाकार होइन । मेहनतले तपाइहरुको सामु गायक बन्ने शौभाग्य पाएँ । दर्शकको धर्म अन्तिमसम्म बसेर कलाकारलाई हौसला दिनु हो । कार्यक्रमको अन्तिमसम्म बसेर सुनिदिनुहुनेछ भन्ने आशा छ ।’

यत्ति भनेपछि खड्गले ‘बेनी बजार काली गण्डकी…’ बोलको बिरहको गीत गाउँदै कार्यक्रमको मेलो फुकाए । ‘यानीमाया…’ गीत गाउँदा दर्शकले चुपचापसाथ दिए । गीतका विभिन्न सन्दर्भ अनि गीतको कथा समेत भनिदिएर दर्शक स्रोतालाई चाख लगाएर सुन्न प्रेरित गरेका खड्कले दर्शकको मनोभावना बुझेपछि भने,‘यसले रुन्चे गीत मात्रै गायो नभन्नुहोला, रोमान्टिक र नचाउने गीत पनि गाउनेछु प्रतिक्षा गर्नुहोला ।’ त्यसपछि खड्ग आए ‘धौलागिरी काली सुस्साउने…’ बोलेको गीत लिएर । ‘के लैजाउँ भालै जाने बेलामा…’ गाइसकेपछि उनी बिस्तारै डान्सिङ नम्बर गीततिर उक्लदै गए । ‘मन त रोकै छ…’ गीत गाउँदा दर्शकले तालीका पर्रा छुटाए । जसले अघिसम्म मन्त्रमुग्ध भइरहेका दर्शकलाई उठेर नाँच्न बाध्य बनायो । तातिएको माहौंल देखेर हौसिएका खड्कले निधारमा बगेको पसिनाको वास्तै गरेनन् । ‘सबैले दुई दिनको जीन्दगी भन्छन्, म भन्छु जीन्दगी तीन दिनको हुन्छ । एक दिन जन्मने, एक दिने जीवन भोग्ने, एक दिन मर्ने’ यो किस्सा सुनाएपछि उनले जीन्दगीका दुःखलाई समेटेरै तयार पारिएको ‘गण्डकी वारी, गण्डकी पारी…’ ठाडो भाका सुनाए । डान्सिङ नम्बरका गीत गाउन थालेपछि दर्शको तालि रोकिने त कुरै भएन । नाच्नेहरुको भिड स्टेजसम्मै पुग्यो ।

‘सुन मुरलीलाई…, बोलको गीत गाउँदा उनले कलाकारहरुको कठिन जीवनलाई सम्झिए,‘गाइनेहरुको जीवन असाध्यै दुःखान्त छ । नेपालका लगभग सबै गायक÷गायिकाको अवस्था यस्तै छ ।’ लगत्तै उनले ‘यसै होर मन मेरो फाटेको…’ गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिए । कार्यक्रमको पुछारमा आउँदा समेत उनका चर्चित गीत नगाउँदा दर्शक आतुर बन्दै थिए । खड्गले दर्शकको मुड बुझि हाले । अनि गाउन थाले फटाफट चर्चित गीत । ‘चैतको महिना सुकेको डाली…’ ‘बाँबरी फुलेको…, खोरी त खोरी…’ पछि ‘हेर्दा हेर्दै कान्छीले सोले डाँडा काट्यो मायाले…’ यो गीत गाउँका अतिथीको रुपमा बसेका पहिलो लहरका सबै जना जुरुक्क उठेर नाचे । नाँच्नेमा प्रदेश नं. ४ का संसद पियारी थापा, इन्द्रधारा बिष्ट, दिपक चर्तीमगर, रोशन गाहामगर लगायत पनि थिए । उनले ‘जरालाई काटी मदानी कलम छ, पोखरामा सबैलाई सलाम छ…’ गीत गाएर दर्शकलाई छमछमी नचाए । त्यसपछि पालो आयो खड्गको सबैभन्दा चर्चित सौलैजो गीत ‘त्यो पारी वनको तिरतिरे धारा सालैजो, पानी खायो बाघैले…’ यो गीत गाउँदा हलमा बसेका सबै दर्शक जुरुक्कै उठेका थिए । ‘सालैजो विनाको कुनै पनि सांगीतिक कार्यक्रम अधुरो हुने गरेको छ’ खड्कले कार्यक्रमको बिट मार्दै भने,‘हाम्रा लागि यो खुसीको कुरा हो ।’

खड्गका गीत सुन्न एक हजार, पाँच सय र दुई सय को टिकट तिरेर उल्लेख्य दर्शक सभागृह पुगेका थिए । खड्कलाई गीत गाउन मिना गर्बुजामगर, मिरा रोकामगर र निता पुनमगरले साथ दिएका थिए । उनलाई गुप्त गुरुङले अक्टोप्याड, तेज केसीले बेस गीतार, सुमन तामाङले गीतार, रोश गुरुङले सारङ्गी र सहनाई, राजा मुखियाले ढोलक, महिपाल लामाले किबोर्ड, दिवस थापाले बाँसुरी, रञ्जन गायक र अविनाश गायकले मादल बजाएर साथ दिएका थिए ।

तस्वीर : छवि मगर


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *