पोखरा उद्योग वाणिज्य संघ,महिला उद्यमी विकास उपसमितिको आयोजना,आन्तरिक राजश्व कार्यालयको सहयोग तथा संघको शिक्षा उपसमितिको समन्वयमा शुक्रबार ( आज) पोखरामा कर शिक्षा कार्यक्रमको आयोजना गरियो ।
पोखरामा विभिन्न पेशा÷व्यवसाय गरेका महिला उद्यमीहरुलाई करको बारे जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा करसम्बन्धी सामान्य जानकारीको अलावा, आयकर,मूल्य अभिवृद्धि कर,अन्तःशुल्क,शिक्षा सेवा शुल्क,स्वास्थ्य सेवा कर, अग्रिम कर कट्टी,मिसम्याच, कर परिक्षण,, करदाताका अधिकार र कर्तव्यको बारेमा जानकारी दिनुका साथै कर्तव्य,,आर्थिक विधेयक २०७४÷०७५ मा भएका संशोधनहरुबारे समेत चर्चा गरिएको थियो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष विश्वशंकर पालिखेले ढिलै भए पनि महिला उद्यमीहरुलाई लक्षित गरी कर शिक्षा कार्यक्रम आयोजना गरिएकोमा खुसी व्यक्त गर्नुभयो । करको दायित्वबारे सबै व्यवसायी जानकार भए पनि नियम तथा भुक्तानी प्रक्रियाबारे जानकारी नहुँदा कर ठूलो विषय बन्न पुगेको उहाँको भनाई थियो । उहाँले कर नीतिमा समयसापेक्ष रुपले हुने परिवर्तनबारे जानकारी राख्नको लागि पनि आग्रह गरे ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजयप्रसाद लामिछानेले नेपालको कर प्रणाली स्वेच्छिक भएकोले करदाताहरुलाई स्वेच्छिक कर सहभागिताको लागि प्रोत्साहित गरिएको प्रष्ट पार्नुृभयो । स्वेच्छिक रुपले कर तिर्न प्रोत्साहन गरिएकोले नै कर नतिर्दाको डण्ड जरिवाना बढी हुने गरेको उहाँको भनाई थियो । उहाँले प्रत्यक्ष कर र अप्रत्यक्ष करबारे व्यवसायीहरुले थोरैमात्र जानकारी राख्ने र आफ्नो आय–व्यय विवरण चुस्त दुरुस्त राख्न सके डण्ड र जरिवानाको मारबाट बच्न मद्धत गर्ने बताए ।
कानूनले करदातालाई सम्मानपूर्वक व्यवहारको अधिकार, करबारे जानकारी राख्ने अधिकार, आफ्नो प्रतिरक्षाको लागि कानून व्यवसायी राख्ने र उजुरीको अधिकार, विवरण दाखिलाको अधिकार,बढी रकम फिर्तालगायतका विभिन्न अधिकार दिइएको पनि उहाँले प्रष्ट पार्नुभयो । यसैगरी स्थायी लेखा नम्बर लिनुपर्ने,विवरण फेरबदल भएमा कार्यालयमा जानकारी दिनुपर्ने,अग्रिम करकट्टी तथा भुक्तानी करकट्टी दाखिला,किस्ताबन्दी विवरण र कर दाखिला,कार्यालयले मागेको सूचना दिनुपर्ने र आवश्यक परे आफै उपस्थित हुनुपर्ने कर्तव्य पनि तोकिएको उहाँले उल्लेख गरे । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेलले संचालन गर्नुभएको कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै महिला विकास उपसमिति संयोजक सीता बरालले कार्यक्रममा महिला उद्यमी÷व्यवसायीहरुको उल्लेख्य उपस्थितिप्रति हार्दिक धन्यवाद ज्ञापन गरे ।
Leave a Reply