पिएन क्याम्पसका प्रोफेसर प्रा.डा. दिलबहादुर क्षेत्रीको बिदाई

टुडे पोखरा संवाददाता
0Shares

पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा इतिहास विषयका प्रोफेसर प्रा.डा. दिलबहादुर क्षेत्रीको बुधबार बिदाई गरिएको छ ।

क्याम्पसको इतिहास तथा संस्कृति विभागद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि निमित्त क्याम्पस प्रमुख सह प्राध्यापक नन्दलाल अधिकारीले क्षेत्रीको पृथ्वीनारायण क्याम्पसप्रतिको प्रशासकीय योगदानको चर्चा गर्दै आगामी दिनमा पनि समाज उपयोगी कार्यमा लागिरहने अपेक्षा गरे ।


बिदाइ हुन लागेका व्यक्तित्व प्रा.डा. क्षेत्रीले पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन तथा क्याम्पस प्रमुखको रुपमा रहेका बेलाका अनुभवहरु सुनाएका थिए । यसै गरी पूर्व क्याम्पस प्रमुख बलबरि सिंह नेगीले डा. क्षेत्री समग्र गण्डकी प्रदेशकै विद्वताको प्रतिनिधित्व गर्ने व्यक्तित्व भएको बताए ।

सो बिदाइ कार्यक्रममा सह परीक्षा नियन्त्रक अजुन बहादुर भण्डारी, प्रा.डा. विश्वकल्याण पराजुली, सह प्राध्यापक उपेन्द्र पौडेल, सह प्राध्यापक ज्योति भट्टचन र विद्यार्थीको तर्फबाट भीष्मराज अधिकारी लगायतले आफ्ना भनाइहरु राखेका थिए ।

आँधिखोला–३, स्याङ्जामा जन्मेका प्रा.डा. क्षेत्रीले वि.सं.२०६० सालदेखि २०६४ सालसम्म क्याम्पस प्रमुख र २०७० देखि २०७३ सम्म इतिहास विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

इतिहास तथा संस्कृति विभाग पृथ्वीनारायण क्याम्पसद्वारा आयोजित कार्यक्रमको सभापतित्व विभागीय प्रमुख प्रा.डा. ज्ञानबहादुर कार्की तथा सञ्चालन उप प्राध्यापक नारायण ढकालले गरेका थिए ।