अन्तराष्ट्रिय सामजिक संस्था ब्रेथ अफ लाईफ नेपालले नवजात शिशु स्याहारसम्बन्धी एड्भान्स्ड तालिम प्रदान गर्दैछ । कार्तिक ८ बाट १२ सम्म राजधानीमा सुरु गरिने तालिमअन्तर्गतचिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई शिशु स्याहार, शिशु स्याहार सम्बन्धी आवश्यक प्रविधि तथा उपकरण प्रयोग र जडानजस्ता विषयमा प्रशिक्षण दिइन्छ ।
नेपालमा जोखिममा रहेका नवजात शिशुको जीवन रक्षाका लागि ब्रेथ अफ लाईफ संस्थाले ईटालियन संस्था एएनटीसँगको सहकार्यमा देशका विभिन्न अस्पतालमा आवश्यक प्रविधि तथा उपकरण हस्तान्तरण तथा जडान, उपकरणको निरीक्षण तथा मर्मत सम्भार गर्ने लगायतका कार्यहरु संचालन गर्दै आएकोछ ।
पाँच दिने तालिमका क्रममा काठमाण्डौं, पोखरा र चितवनका नौ जना चिकित्सक र नौ जना नर्सलाई तालिम दिइँदै छ । इटालीका शिशुस्याहार विशेषज्ञ प्रा. मारियो डि कुर्टिस, भियतनामका डा. डो तुआन आनलगायतका अन्तर्रा्ष्ट्रिय शिशुस्याहार विशेषज्ञको टोलीले तालिम प्रदान गर्दैछ ।
ब्रेथ अफ लाईफ, नेपालका लागि निर्देशक कुशल थापाले तालिम निकै उपयोगी रहेको बताउँदै नवजात शिशुको जीवनरक्षा र बाल मृत्युदर न्युन गर्नका लागि महत्वपूर्ण हुने बताउनुभयो । उहाँले यस तालिम अन्तर्गत प्रशिक्षित स्वास्थ्यकर्मीहरुले आगामी दिनमा अन्य चिकित्सक र स्वास्थयकर्मीलाई नवजात शिशु स्याहारसम्बन्धी एड्भान्स्ड तालिम प्रदान गर्दै जाने र थप दक्ष जनशक्ति निर्माण हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी पश्चिमान्चल क्षेत्रीय अस्पतालका बालरोग विशेषज्ञ तथा प्रशिक्षार्थी टोलीका प्रमुख डा. यज्ञराज सिग्देलले नवजात शिशुको मृत्युदर न्युन गर्न यो तालिम सहयोगी हुने बताउनुभयो । डा. सिग्देलले नेपालमा जन्डिस र विभिन्न श्वासप्रश्वास सम्बन्धी रोग नवजात शिशुको मृत्युदरको कारक रहेको र सरकारले मृत्युदर घटाउन निर्धारण लक्ष्य प्राप्त गर्न नसकेको बताउनुभयो । यस्तो अवस्थामा यो तालिमको अपरिहार्यता रहेको बताउँदै तालिमले चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुलाई दक्ष बनाउने र शिशु स्याहार सम्बन्धी अत्याधुनिक प्रविधि तथा उपकरण प्रयोग गर्न सीप र ज्ञान प्रदान गर्ने बताए।
ब्रेथ अफ लाईफ अन्तर्गत संचालित कार्यक्रम तथा देशका विभिन्न प्रसुति अस्पतालमा जडित उपकरणले शिशु मृत्युदर तथा संक्रमण कम गर्न महत्वपूर्ण योगदान रहेको छ। यसैबीच करिब १४ महिनाअघि पश्चिमान्चल क्षेत्रीय अस्पतालमा पाँच महिना चार दिनमा जन्मिएको ५५८ ग्राम तौलको शिशुलाईब्रेथ अफ लाईफद्वारा जडित उपकरण मार्फत सफलता पुर्वक बचाइएको थियो । ब्रेथ अफ लाईफले गत महिनाएक कार्यक्रममा भरतपुर अस्पताल, चितवन, कान्ति बाल अस्पताल, महाराजगंज र परोपकार प्रसूति तथा महिला अस्पताल, थापाथली,काठमाण्डौंलाई नवजात शिशुको जीवन रक्षाका लागि आवश्यक उपकरणहरु हस्तान्तरण गरेको थियो ।
ब्रेथ अफ लाईफले संसारका २० देशमा, विशेषगरीदक्षिण पूर्वी एशिया तथा दक्षिण एशियामानवजात शिशु स्वास्थ्यसम्बन्धी कार्यक्रम सफलतापूर्वक संचालन गरिरहेको छ ।
Leave a Reply