पोखराप्लस संवादाता
धौलागिरी अञ्चल अस्पताल बागलुङमा सुत्केरी महिलाको अप्रेशनमा भएको लापर्वाहीका कारण अवस्था गम्भीर बनेपछि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको पिडितका आफन्तले जनाएका छन् । बागलुङ जिल्ला जैदी ६ निवासी अनिता पुर्जाको मिति २०७३ माघ २६ गते धौलागिरी अञ्चल अस्पतालमा डेलिभरी गराउने क्रममा अप्रेशन भएको केही घण्टापछि आन्तरिक रक्तश्राव भएर बेहोस बनेपछि पुर्जालाई पोखरा रिफर गरिएको थियो । पोखरामा पनि उपचार हुन नसके पछि सुत्केरी पुर्जालाई तत्काल हेलिकप्टर मार्फत काठमाडांैमा लगिएको थियो र अहिले ग्राण्डी अस्पतालमा महंगोमा उपचार भैरहेको छ । आर्थिक अवस्था कमजोर भएकी पीडित सुत्केरीको थप उपचारका लागि उनका आफन्तले विभिन्न क्षेत्रमा सहयोगको आह्वान समेत गरेका छन् ।
घटनाको उचित छानबिन हुनुपर्ने भन्दै पीडित सुत्केरी अनिता पुर्जाका देवर ध्रुब राना मगरले एक प्रेस विज्ञप्ती प्रकाशित गरेका छन् । घटनाको बारेमा अस्पताल प्रशासन, डाक्टर र व्यवस्थापकहरू बीच पटकपटक छलफल गर्दा समेत वेवास्ता गरेको रानामगरको गुनासो रहेको छ । घटना सम्बन्धमा समयमै छानविन गरी आवश्यक कारवाही र उचित क्षतिपूर्तिको माग समेत उनका आफन्तले गरेका छन् ।
धौलागिरी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष मन्जेसबम मल्ल, अस्पतालका सुपरिटेन्डेन्ट डा. सागर राजभण्डारी र पीडितका आफन्तहरुबीच भएको वार्ता विना निष्कर्ष टुंगिएपछि नागरिक समाजले घटनाका सम्वन्धमा चासो लिन थालेको हो । उता धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सागर राजभण्डारीले बिरामीको उपचारमा लापरवाही नगरेको बताउदै १० हजार मध्ये एक जनालाई त्यस्तो समस्या हुने बताए । डा. राजभण्डारीले अस्पतालका डाक्टरहरूले नै रक्तदान गरेर पीडित सुत्करीलाई पोखरा पु¥याएको बताएका छन् ।
Leave a Reply