ईशान परियारलाई सिर्जनशील युवा कला पुरस्कार

Today Pokhara
0Shares

छवि मगर
पोखरा, २६ भदौ।
सिर्जनशील कलाकार समूह, कास्कीले कलाकार ईशान परियारलाई सिर्जनशील युवा कला पुरस्कार २०७३ बाट पुरस्कृत गरेको छ । एक दशक बढि समयदेखि कला क्षेत्रमा योगदान दिएको भन्दै पराजुलीलाई नगद १० हजार र ताम्रपत्र सहित शनिबार पुरस्कृत गरेको हो ।

महेन्द्रपुल स्थित पिएसएम आर्ट ग्यालरीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, अग्रज कलाकार दुर्गा बराल वात्स्यायन, क्षेत्रलाल कायस्थ लगायतले परियारलाई पुरस्कृत गरे ।

प्रमुख अतिथि बास्तोलाले पोखरामा कला, संस्कृतिको विकासका लागि संघ स्थापनाकाल देखि नै लागिरहेको भन्दै कलाक्षेत्रको प्रवद्र्दनका लागि सञ्चार क्षेत्रको पनि सहयोग रहिरहने बताए । वरिष्ठ कलाकार तथा कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ ले पेन्टिङमा लगाव र उच्च अभिलाषाका कारण परियारले यो सम्मान पाएको भन्दै उनले पोखरामै ललितकलामा एमए उत्तीर्ण गर्ने परियार उदाहरणीय व्यक्ति बनेको पनि उल्लेख गरे ।

पुरस्कृत व्यक्तित्व छनौट समितिका संयोजक बुद्धि गुरुङले उपयुक्त व्यक्तिलाई नै पुरस्कार प्रदान गर्न सिफारिस गरिएको बताए । पुरस्कृत व्यक्तित्व परियारले कामसँगै कलाकारितालाई पनि संगै बढाएकाले नै आज पुरस्कार प्राप्त गर्न सकेकाले आफूलाई थप प्रेरित गरेको बताए । पोखरा १५ टुटुंगा निवासी परियारले नेपाल, भारत, बंगलादेश, जापान जस्ता देशमा आफ्नो कला प्रदर्शनी गरिसकेका छन् ।

पुरस्कारका संस्थापक, कलाकार एवं फोटो पत्रकार विश्वरत्न शाक्यले आफ्ना स्व. आमाबाबुको स्मरणमा विगत १० वर्षदेखि पुरस्कार प्रदान गरिँदै आएको जनाए । बुबा सिद्धिरत्न शाक्य र आमा सेतुलीमाया शाक्यको स्मृतिमा विश्वरत्न शाक्य र उनका परिवारले २०६४ सालमा स्थापना गरेको यो पुरस्कार कला क्षेत्रमा क्रियाशील पोखरेली कलाकारलाई वर्षेनी प्रदान गर्दै आईरहेको छ । समूहका अध्यक्ष विश्वराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष थमनसिंह सुनारले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन सचिव सूर्य बराईलीले गरेका थिए ।