जुवाडेको भागभाग

टुडे पोखरा संवाददाता
0Shares

 

जिल्ला प्रहरी कार्यालय कास्कीको नेतृत्व लिन आएका अशोक सिंहको पहिलो तारो ‘जुवातास’ का खाल परेपछि जुवाडेको भागभाग भएको छ । कास्की प्रहरीले विभिन्न जुवाका अखडामा छापा मारेर जुवाडे पक्राउ गर्दै मुद्दा चलाउन थालेपछि जुवाडेको भागभाग भएको हो । २०७४ साउन १७ गते कास्की प्रहरी प्रमुख भएर आएका अशोक सिंहले जुवातास नियन्त्रणलाई पहिलो प्राथमिकतामा पार्दैै कारबाहि प्रक्रियालाई तिब्र पारेका छन् । यहाँ जुवाडका अखडा मानिने मुख्यमुख्य ठाउँमा सादा पोशाकका प्रहरी खटाएर रेकि गरि निरन्तरको फलोअपपछि त्यस्ता अखडामा छापा मार्न सुरु गरेपछि पोखराका जुवाडेहरु त्राहिमाम भएका छन् । पोखराको महेन्द्रपुलस्थित भुपेन्द्र हिराचनको घरमा साउन ३० गते पहिलो पटक प्रहरीले छापा हानेर जुवाडेलाई तहसनहस पार्न सुरु गरेको थियो ।  हिराचनको घरको पाँचौ तल्लामा ६ पुरुष र २ महिलालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले समातेको थियो । उनीहरुबाटप्रहरीले ८ बुक तास र १० लाख ६५ हजार ६ सय ५० रुपैयाँ फेला पारेको थियो । सुरुवातमै ठूलो खाल समातेर हौसिएको प्रहरी निकै आक्रामक रुपमा प्रस्तुत भएको छ । साउन ३० देखी जुवाडे पक्राउ गर्न सुरु भएको श्रृङ्खला अझै रोकिएको छैन । ‘निरन्तरको फलोअपछि हामीले ठूला भनिएका जुवाका अखडामा छापा मारेका हौ’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले भने,‘यो अभियान निरन्तर जारि रहन्छ । जुवाका अखडाहरु लगभग तहसनहस भइसकेका छन् ।’अहिलेसम्म ६६ जनाले जिल्ला प्रहरी कार्यालय कास्कीको कमाण्ड सम्मालेका छन् । तर, लगातार रुपमा जुवामा केन्द्रित भएर लागेको कुनै पनि प्रहरी प्रमुखको रेकर्ड छैन । अकोश भने सुरुदेखी नै आक्रामक तरिकाले जुवातास नियन्त्रणमा लागेका छन् । त्यसको परिणाम निस्किएको छ, छोटो समयमा सबैभन्दा धेरै जुवाडे पक्राउ अनि सबैलाई जु्वा ऐनअनुसार मुद्दा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीका अनुसार साउन ३० देखी हालसम्म २ सय १९ जना जुवाडे पक्राउ परेका छन् । तिमध्ये २ सय १ पुरुष छन् भने १८ जना महिला हुन् । प्रवक्ता खत्रीका अनुसार ती पक्राउ परेका सबैबाट गरि ४७ लाख ७० हजार ६ सय १८ रुपैंयाँ बरादम भएको छ । पक्राउ परेका सबैलाई जुवा ऐन अनुसार मुद्दा चलाइएको छ । प्रहरीले छापा मारेका अधिकांश स्थानमा फेला परेको नगद र तासको संख्या आधारमा व्यावसायिक रूपमै जुवा खेलाइएको देखिन्छ । ‘कास्की प्रहरीले अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा जुवा तास खेल्नेलाई मुद्दा चलाएको छ’ कास्की प्रहरी प्रवक्ता डिएसपी खड्बहादुर खत्री भन्छन्,‘यो प्रक्रिया निरन्तर चलिरहन्छ ।’जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंंहले व्यावसायिक रूपमै ठूलो मात्राको हार–जित हुने गरी खेल्ने र खेलाइने जुवा नियन्त्रणका लागि प्रहरी परिचालन बढाइएको जानकारी दिए ।   ‘जुवा तासले गर्दा अन्य अपराधका क्रियाकलाप पनि बढ्ने भएकाले यसलाई नियन्त्रण गर्नु पहिलो प्राथमिकता हो । जुवातास खेल्ने, मादक पदार्थ सेवन गर्ने, हारजित भएपछि झैझगडा गर्ने हुँदा यसलाई रोक्नैपर्छ’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले भने,‘जुवा तासले गर्दा अपराधिक क्रियाकलाप बढाउन सघाउने भएकाले प्रहरी सक्रिय भएर लागेको छ ।’ शहरी क्षेत्रमा जुवाले संगठित स्वरूप लिए पनि फितलो कानुनी प्रावधानका कारणसमेत नियन्त्रणका लागि प्रहरीले अपनाएको कारबाही प्रक्रिया प्रभावकारी हुन सकेको छैन । जुवा ऐन–२०२० अनुसार जुवा खेल्दा पहिलो पटक पक्राउ पर्ने २ सय रुपैयाँ जरिवाना तिरेर सहजै उम्कन सक्छ । उसलाई अनुसन्धानका लागि प्रहरीले २ दिनभन्दा बढी प्रहरी हिरासतमा समेत राख्न सक्दैन । दोस्रो पटकलाई एक महीनादेख तीन महीनासम्म कैद र तेस्रो पटक देखिकोलाई  १ वर्षसम्म कैद सजायको प्रावधान छ ।