गुरुङ फिल्म ‘भ्रेँ’को डिभिडि सार्वजनिक

छवि मगर

पोखरा, असोज ।
गुरुङ भाषाको फिल्म ‘भ्रेँ’को डिभिडि सार्वजनिक भएको छ । निर्माण कम्पनी ब्रेँज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकले सोमबार पोखरामा एक विशेष समारोहका बीच फिल्मको डिभिडि सार्वजनिक गरेको हो ।

दुई वर्षuntitled अगाडि निर्माण भएको फिल्म ‘भ्रेँ’ व्यापारिक रुपमा सफल भएको निर्माण कम्पनीले जनाएको छ । पोखरा, घान्द्रुकसँगै विभिन्न गुरुङ गाऊँहरु तथा विभिन्न मुलुकमा प्रदर्शन भएको फिल्मले लगानी रकमसँगै नाफा समेत कमाएको कम्पनीका व्यवस्थापक अमृत गुरुङ (लामा)ले बताए । २५ लाख लगानी रहेको फिल्मले नाफा भएको रकम विभिन्न सामाजिक क्षेत्रमा सहयोग प्रदान गरेको कार्यक्रममा जानकारी दिईयो ।
हालसम्म यो फिल्मको नाफा रकमबाट घान्द्रुक नयाँपुल सडक निर्माणका लागि ५० हजार रुपैयाँ, फुलिबाङ झोलुंगे पुल मर्मतका लागि १ लाख रुपैयाँ र विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग उपलब्ध गराईएको अमृत गुरुङ (लामा)ले बताए । यो फिल्मको नाफा रकम मध्यै बाँकी ६ लाख रुपैयाँ घान्द्रुकको रोधीँ क्लबको भवन निर्माणार्थ सहयोग गरिने निर्माण कम्पनीले जनाएको छ ।

डिभिडि सार्वजनिक कार्यक्रममा निर्देशक माओत्से गुरुङले घान्द्रुकको यो फिल्म निर्माणसँग जोडिएर काम गर्न पाउनु आफ्नो लागि खुशिको कुरा भएको बताए । ‘फिल्म निर्माणमा पक्कै चुनौती हुन्छ । र, फिल्म प्रायजसो व्यापार गरेर नाफा कमाउने उद्देश्यले बनाईन्छ ।’ उनले भने–‘तर पहिलो फिल्म निर्माणबाट भएको नाफा सामाजिक क्षेत्रमा लगाएर यो कम्पनीले उदाहरणीय काम गरेको छ ।’ सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्ने फिल्मको युनिटमा आफु पनि रहँदा निकै खुशि लागेको उनले बताए ।

फिल्मलाई वैदेशिक रोजगारीमा विभिन्न मुलकमा रहँदै आएका घान्द्रुकका केहि युवाहरु मिलेर निर्माण गरेका हुन् । शरद गुरुङ (कालु), युक्तमान गुरुङ, मुना गुरुङ र स्वर्ग गुरुङ यसका लगानीकर्ता हुन् । यो कम्पनीले चाँडै नै नयाँ फिल्म निर्माण गर्ने घोषणा समेत गरेको छ ।

डिभिडि सार्वजनिक कार्यक्रममा फिल्मको क्रु मेम्बरलाई सम्मान समेत गरिएको थियो । निर्माण कम्पनीले फिल्मकी नायिका रजनी गुरुङ, छायाँकार तथा सम्पादक सन्तोष कोन्मे, मेकअप म्यान आशिष गुरुङ लगाएतलाई खादा लगाएर सम्मान गरेको थियो । सार्वजनिक फिल्मले पछिल्लोपटक भएको गुरुङ फिल्म अवार्डमा मोस्ट पोपुलर फिल्म, मोस्ट पोपुलर एक्टर र बेस्ट एडिटर विधामा अवार्ड समेत पाएको थियो ।