पोखरा|
गुरुङ फिल्मको निर्देशक, कलाकार, कोरीयोग्राफर जसु गुरुङले स्टार स्टुडियो प्रा.लि. सञ्चालनमा ल्याएकी छन् । पोखराको न्युरोड नगरपालिका कार्यालय अगाडि सञ्चालनमा आएको स्टुडियो मार्फत सबै प्रकारका ड्रेस भाडामा उपलब्ध गराउने, बेसिक देखि एडभान्स सम्मका सबै नृत्य सिकाउने, म्युजिक भिडियो तथा फिल्ममा अवसर प्रदान गर्ने उनले जनाइन् ।
झण्डै ३० लाखको एकल लगानीमा उनले यो व्यवसायमा हात हालेकी हुन् । झण्डै १० वर्ष सम्म आफ्नो अनुभवलाई सार्थकता प्रदान गर्न यो व्यवसायमा हात हालेको उनले बताइन् । ‘केहि गर्नुपर्छ भन्ने मलाई पहिलेदेखिनै लागेको थियो त्यसैले आफुसँग सम्बन्धित यो व्यवसायलाई साइड विजनेसको रुपमा सञ्चालन गरेकी हुँ’ उनले भनिन् । स्टुडियोको आयोजनामा असोज ५ गते नेपाली ‘लोक संस्कृति र हाम्रो दायित्व’ विषयक माध्यमिक विद्यालय स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगीताको आयोजना गर्दैछ ।
पोखराको टप्स माविमा हुने यस प्रतियोगीतामा कास्की जिल्लामा रहेका सरकारी तथा निजि विद्यालयमा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीले भाग लिन पाउनेछन् । प्रतियोगीतामा भाग लिनका लागि असोज ४ गते भित्र स्टुडियोको कार्यालय न्युरोडमा सम्पर्क राख्नुपर्नेछ । निशुल्क नाम दर्ता गर्न पाइने यस प्रतियोगीतामा प्रथम हुनेले नगद ७ हजार, द्धितियले नगद ५ हजार, तृतियले नगद ३ हजार र सान्तनाले नगद १ हजार ५ सय नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
स्टुडियोलाई कला प्रस्फुटन गर्ने, मनोरञ्जन प्रदान गर्ने ठाउँको अलावा शिक्षा र स्वास्थ्यसँग सम्बन्धित ठाउँको रुपमा विकास गर्ने सञ्चालक गुरुङको लक्ष्य रहेको छ । ‘नेपाली तथा अन्य जातजातीको मौलीक संस्कृतिको जर्गेना गर्ने लक्ष्य मेरो हो’ उत्साहित हुदै उनले भनिन् । ‘यो क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याई शिक्षा र स्वास्थ्यको क्षेत्रमा यसले गर्ने सकारात्मक परिवर्तनको बारेमा प्रष्ट्याउने प्रयास हो हेरौ कतिको माया र साथ पाउँछु’ उनी थप्छिन् ।
स्टुडियोको असोज ७ गते औपचारिक उद्घाटन गर्ने तयारी उनले गरेकी छन् । उद्घाटनको अवसरमा पोखरा उद्योग वाणीज्य संघको सभाहलमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत हुनेछ । अन्य स्टुडियो तुलनामा केहि फरकता प्रदान गर्ने उद्धेश्य आफ्नो रहेको उनले बताइन् ।
Leave a Reply