गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्तिका लागि रञ्जित परिवारद्वारा विद्यालयमा ६ लाखको अक्षयकोष

पोखरा रामबजारको एक रञ्जित परिवारले गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्तिका लागि विद्यालयलाई अक्षयकोष स्थापनार्थ ६ लाख रुपैयाँ सहयोग गरेको छ ।पोखरा लेखनाथ महानगरपालिका वडा नंं १०, रामबजार गौरीमार्गको रञ्जित परिवारले रामबजारस्थित कालिका माविलाई ४ लाख रुपैयाँ र पृथ्वीचोकस्थित सहारा प्राविका लागि २ लाख रुपैयाँ सहयोग गरेको हो ।
बाबु हरिगोपाल रञ्जितको ४५ औं दिनको पुण्यतिथि पारेर चार छोराहरु बैकुण्ठलाल, शिवकुमार, सुदर्शन र विजयकुमारले दुवै विद्यालयमा उक्त रकम बराबर हरिगोपाल गणेशमाया छात्रवृत्ति २०७४ सहयोग गरेका हुन् ।


उक्त रकम बराबरको चेक परिवारका तर्फबाट जेठा छोरा बैकुण्ठले कालिकाका प्रध्यानाध्यापक बलराम गिरी र सहारा प्राविका प्रध्यानाध्यापक लोचना अधिकारीलाई सोमबार हस्तान्तरण गरे ।
रकम बुझेपछि प्रअ गिरीले सहयोगप्रति आभार व्यक्त गर्दै उक्त चार लाख बराबरको अक्षयकोष विद्यालयमा अन्य अक्षयकोषभन्दा सबैभन्दा ठूलो भएको बताए । उनले कक्षा ९ देखि १२ सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीको लागि अक्षयकोषवापत आउने व्याजबाट वर्षेनी छात्रवृत्ति प्रदान गर्दै जाने बताए । २०२१ सालमा स्थापित कालिका माविमा हाल विद्यालय तहमा करिब दुई हजार चार सय कालिका पब्लिक कलेजमा तीन सय ५० विद्यार्थी अध्ययनरत् छन् । उनले स्कुलबाट कालिका कलेजमै पढ्ने विद्यार्थीका लागि पनि छात्रवृत्तिको व्यवस्था मिलाइने जानकारी दिए ।त्यस्तै, सहाराका प्रअ अधिकारीले गरिबका छोराछोरी पढ्ने सहारा स्कुलमा यति ठूलो सहयोगप्रति आभार व्यक्त गरिन् । उनले विद्यार्थीलाई वर्षभरि पढ्न पुग्ने गरी विभिन्न कक्षाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाइन् । २०५३ सालदेखि संचालित सहारा स्कुलमा दुई सय ७० विद्यार्थी पढ्छन् ।
रञ्जित निवासमा भएको कार्यक्रममा बोल्दै स्वर्गीय हरिगोपालका साहिँला छोरा फोटो पत्रकार सुदर्शन रञ्जितले आफूहरु रामबजार क्षेत्रमै जन्मि पढी हुर्केको र बाबुआमाको स्मृतिमा सरकारी विद्यालयमा अध्ययन गर्ने गरिब विद्यार्थीको लागि सहयोग गरिएको बताए । फोटो पत्रकार सुदर्शन कालिका स्कुलका पूर्व विद्यार्थी एवं विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य पनि हुन् ।उनका बुवा समाजसेवी हरिगोपालको गत फागुन २८ मा ८९ वर्षको उमेरमा र आमा गणेशमायाको ६ वर्षअघि ७६ वर्ष स्वर्गारोहण भएको थियो । स्व.दम्पत्तिको ४ भाइ छोरा र २ बहिनी छोरी छन्