संगम कपमा विहिबार सेमि– फाईनलका खेलहरु हुने

टुडे पोखरा संवाददाता
0Shares

 

पोखरामा जारी छैटौ संस्करणको संगम कप फुटवल प्रतियोगिता २०७४ अन्र्तगत भोलि (विहिबार) सेमिफाईनलका खेलहरु हुने भएका छन। विहिबारको पहिलो सेमिफाईनल खेलमा गार्डेन क्लव र बाजापाटन (बी) थटीन बिच खेल हुने भएको छ । दोश्रो खेलमा भने सहारा क्लव र एल.जी. एशोसियसन बिच हुने भएको क्लवका सदस्य धिरज तामाड्डले बताए ।
बुधबार पोखरा रंगशालामा भएको पहिलो क्वाटरफाईनल खेलमा आयोजक संगम क्लवलाई गार्डेन फुटवल क्लवले २–१ को गोल अन्तरले पराजित गरेको हो । गार्डेनको जितमा म्यान अफ दी म्याच घोषित धुर्व घिमिरेले खेलको २३ र खेलको अतिरिक्त समयको १० औं अर्थात ८० मिनेटमा थप एक गोल गरेका हुन। खेलको सुरुवातको पाँच मिनेटमै विमल रानाले एक गोल गरेका हुन । अतिरिक्त समयको अन्तिम ४ मिनेट सम्हालिन नसक्दा पहिलो गोल गर्न सफल भए पनि संगम पराजित हुनु पर्यो । ७० मिनेटको निर्धारित समयमा दुबै तर्फ एक÷एक गोल भए पछि अनिरिक्त समय दुबै तर्फ ७÷७ गरी १४ मिनेट थपिएको थियो ।
दोश्रो खेलमा बी थटीनको समुहले भद्रकालिको समुहलाई ७–२ को गोल अन्तरले पन्छाएको हो । बी थटीनको जितमा म्यान अफ दी म्याच घोषित आवाले ४ गोल गरे । उनले खेलको ४०, ५९, ७० र ७२ औं मिनेटमा गोल गरेका हुन। त्यसै गरी विश्वास श्रेष्ठले पेनाल्टी मार्फत खेलको ११ औं मिनेटमा र खेलको ७६ औं मिनेटमा एक गोल गरे । विपक्षि गोलरक्षकले विश्वासलाई डि–एरियामा लडाए पछि पाएको पेनाल्टीको अवसरलाई श्रेष्ठले गोल गरेका हुन । नौराज गुरुङले खेलको २८ औं मिनेटमा एक गोल गरेका हुन । भद्रकालिका सुमित श्रेष्ठले खेलको २३ र मनोज गुरुङले खेलको ३२ औं मिनेटमा गोल गरेका हुन ।
तेश्रो खेलमा एल. जी.एशोसियसनले ड्यामसाईड क्लवलाई अतिरिक्त समयमा १–० ले परािजत गर्यो । निर्धारित समयमा दुबै तर्फ गोल हुन नसके पछि थपिएको १४ मिनेटको ५ औं अर्थात खेलको ७५ औं मिनेटमा अजित गुरुङले गोल गरे । निर्णायक गोल गरेका गुरुङ म्यान अफ दी म्याच समेत घोषित भए । त्यसै गरी बुधबारको अन्तिम क्वाटरफाईनल खेलमा सहारा क्लवले रन्जन मेमोरियल स्मृतिको समुह २–० ले पाखा लगायो । सहाराको जितमा विदेशी मुलका खेलाडी ह्याण्ड्रिले खेलको ४० र ५७ औं मिनेटमा दुई गोल गरेका हुन। ह्याण्ड्रि खेलमा म्यान अफ दी म्याच समेत घोषित भए । पोखराको संगम क्लवको आयोजनामा संचालन भएको उक्त प्रतियोगिता पुष ७ गतेसम्म चल्ने क्लवका अध्यक्ष शिव गुरुङ (माया) ले बताए ।