कृषि उत्पादन पहिचानमा कृषि मन्त्रीको जोड

टुडे पोखरा संवाददाता
0Shares

प्रदेश नं. ४ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले १ पालिका १ कृषि उत्पादन पहिचानमा जोड दिएका छन् । मन्त्री मगरले हरेक स्थानीय तहमा कृषिका माध्यमबाट आ–आफ्नो पहिचान हुनुपर्ने बताउनुभएको छ । स्याङजाको भीरकोट नगरपालिकाको बयरघारीमा गरिएको कृषकसंग मन्त्री कार्यक्रममा मन्त्री मगरले हरेक सहकारी उत्पादनमुलक क्षेत्रमा अनिवार्य जोडिनुपर्ने बताए।

मन्त्री मगरले एक वडा एक उत्पादनको नीतिका साथ स्थानीय तह लाग्नुपर्ने बताउनुभयो । साथै उहाँले विउमा गुणस्तरीयता नभएको कृषकहरुको गुनासो आईरहेको भन्दै त्यस्ता कम्पनी कारबाहीमा आउने बताउनुभयो । मन्त्री मगरले भन्नुभयो, “कृषकहरुको हितमा काम नगर्ने हरेक कम्पनी कारबाहीको दायरामा आउँछ” । साथै उहाँले हरेक पालिकामा कृषि उपज संकलन केन्द्र तथा हाट बजार स्थापनामा स्थानीय तहसंग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । मन्त्री मगरले भन्नुभयो,“उपभोक्ता र कृषकबीच सिधा सम्बन्ध स्थापित गर्नको लागी हरेक पालीकामा संकलन केन्द्र तथा हाटबजार हुनुपर्छ ।”


कार्यक्रममा सांसद दिपक चर्तीमगरले स्याङजाको समृद्धिका लागी कृषि र पर्यटन नै मुख्य आधार रहेकाले यसका लागी यहाँका कृषिका सुन्तला, तरकारी मकै, कफी जस्ता उत्पादनमा जोड दिए ।त्यस्तै अर्का सांसद मोहन रेग्मीले आर्थिक वृद्धिका लागी कृषि उत्पादनमा बढाउनुपर्ने बताउँदै जग्गा बाँझो नराख्ने नितिका साथ अगाडि बढीरहेको बताउँदै आधुनिक तथा व्यवसायिक कृषिमा जोड दिनुभयो ।

कार्यक्रममा भीरकोट नगरप्रमुख छायाराम खनालले प्रदेशको निति अनुसार स्थानीय तहले समन्वय गर्दै विकासका लागी अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा कृषकहरुले विउमा गुणस्तरीयता नभएको, मुल्यमा एकरुपता नपाईने, विचौलीयाको विगविगी, सिंचाईको असुविधा, परिश्रम अनुसारको मुल्य कृषि उपजले नपाएको गुनासो गरेका छन् । कार्यक्रममा भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रलायका बरिष्ठ कृषि विकास अधिकृत माधव लम्साल , भीरकोट नगरपालिकाका उप मेयर सीमा केसी कर्मचार्य लगायत बोलेका थिए ।

मन्त्री भए पछि पहिलो पटक स्याङजा आउनुभएका मन्त्री मगरले जैसीडाँडामा निर्माधिन रहेको स्याङजा सित भण्डार, भीरकोट नगरपालिकाका कार्यालयको अबलोकन संगै अन्तरक्रिया, त्रियासी कृषि उपज संकलनको अबलोकन संगै अन्तरत्रिया र रेशम विकास कार्यालयको निरिक्षण समेत गरे ।

भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयले कृषक संग मन्त्री कार्यक्रम अन्तरगत मन्त्री मगर प्रदेश ४ को विभिन्न जिल्लामा कृषकको संग प्रत्यक्ष भेटघाटको लागि जिल्ला दौडाहमा हुनुहुन्छ । यस अगाडि मन्त्री मगरले नवलपुर, गोरखा, बाग्लुङ लगायतका जिल्लामा कृषक संग मन्त्री कार्यक्रममा सहभागी हुनुभएको थियो ।