मनोज घर्तीमगर –नेपाली युवा ब्रिटिस सेनामा भर्ती हुन थालेको सन् २०१५ अप्रिल २४ मा दुई शताब्दी हुँदैछ । नेपाल र बेलायत (ब्रिटेन) बीच दौंत्य सम्बन्ध जोडिएको सन् २०१६ मार्च ४ मा दुई शताब्दी पूरा हुँदैछ । यहि अवसरमा नेपाल सरकार र बेलायत सरकारले विभिन्न कार्यक्रम गरि दुई सय वर्ष गाँठ मनाउँदैछन् । तर, यी दुवै सरकार गोर्खालीमाथी परेको अन्यायबारे चुसम्म बोल्न गाह्रो मान्छन् । नेपाल र ब्रिटेनको दौत्य सम्बन्धको कडी बनेका गोर्खा सैनिकलाई ब्रिटेनले किन यति धेरै भेदभाव गरेको होला ? नेपाली र ब्रिटिस शासकले केही निश्चित आदिवासी जनजाति (मगर, गुरुङ, लिम्बु, तामाङ, राई) लाई उर्दि लगाएरै किन भर्ती धपाएको होला ? अनि केही निश्चित जाति (बाहुन) लाई चाँहि नियमै बनाएर किन भर्ती नलिएको होला ? यस्ता विषय कहिल्यै बाहिर आएनन् । यसबारे बहस पनि भएनन् ।
सार्वभौम राष्ट्रका आफ्नै नागरिकलाई भेडाबाख्रा सरह बेलायती साहुलाई नै किने बेचे नेपाली शासकले ? पहिलो र दोस्रो विश्वयुद्धमा झण्डै ४ लाख ५० हजार नेपाली ब्रिटेनका तर्फबाट लडे । मर्ने मरे, अंगभंग भई फर्किएकाहरुको के हविगत भयो ? कयौं विधवा, टुहुरा बालबालिकाको क्रन्दन कति भयाभह थियो होला ? यसबारे राणा, शाह, प्रजातान्त्रिक र गणतान्त्रिक सबै सरकारले किन वेवास्ता गरे ? अझै पनि बेवास्ता गरिँदैछ । यो वेवास्ता कहिलेसम्म रहन्छ भन्न सकिन्न ।
सुनेको थिएँ, ‘जीवन–अध्ययन नै सबैभन्दा सार्थक पाठ हो जसबाट अथाह ज्ञान प्राप्त हुन्छ’ परम सत्य रहेछ । जब म नेपाली विश्वयोद्धाका जीवन पढ्न तिनका घरआँगन, पिँढी–मटान भौँतारिएँ, वीर गोर्खालीका कैयन् अलिखित इतिहास त्यहाँ असरल्ल रहेछन् । वीर योद्धाका मस्तिष्कमा तिनीहरूबारे पढाइएका झुटका पाठ छरपष्ट रहेछन्, अनि गोरो, चिल्लो आवरणमा छिपेको बेलायती कपटी अनुहार नेपालीमाथि गोर्खा भर्तीका नाममा अझै छलछाम गर्दै रहेछ । देश, परिवार, सन्तति, साथीसङ्गाती र जवानी चटक्क भुलेर बाध्यताले गोर्खा भर्तीमा लागेका, अनेक युद्ध भोगेका र कालको मुखबाट बाँचेर फर्किएका इतिहास–निर्माताका जीवन स्वादैले पढेँ– सात वर्ष निरन्तर । गोर्खा भर्तीबारे अनेक रहस्य खोतल्न मन लाग्यो । अनि तिनका मस्तिष्कमा छिपेर रहेको बेलायती तस्बिर आम पाठकमाझ सार्वजनिक गर्ने आकाङ्क्षा जाग्यो र विभिन्न सहयोगी हातसमेत जोडिएर यो ‘भूपू गोर्खा–पीडा’ सशरीर उभिएको हो, ‘‘भर्तीको फन्दा’’ किताबको रुपमा ।
… … …

… … …
नेपाल–बेलायत सम्बन्धको कडी गोर्खा सैनिकबारे बेलायती आफैले थुप्रै ठेली लेखे, आफ्नो गुणगान र गोर्खा सैनिकको बहादुरी बखान भरेर । ब्रिटेनका तर्फबाट थुपै्र नरसंहारकारी युद्ध लडेका गोर्खाली योद्धाको मनोदशा, उनीहरुले देखाएको वीरता, भोगेका पीडाबारे त अहिलेसम्म लेखिएकै रहेनछ । नेपालीलाई कसरी लाहुरे बनाइयो ? ,कसरी गोर्खाली कहलिए ? गोर्खा भर्तीबारे यस्ता कैयन् सन्दर्भ नेपालीबीच नै रहस्यको थैलीमा गुम्सिएको रहेछ । लाग्यो, नेपाली विश्वयोद्धा मगर, गुरुङ, राई, लिम्बूलगायत युवाका विषयमा लेख्न कतै नेपाली बुद्धिजीवीले कञ्जुस्याइँ पो गरे कि ? १३ वर्ष टेक्दा नटेक्दै लाहुर पलायन भएका यी समुदायका हजारौँ युवा युद्धभूमिमै लापत्ता भए, चाँडै भर्ती लागेकाले यी समुदायका युवाले पढ्न पाएनन्, त्यसैले विद्धान इतिहासकार पनि निस्केनन् र अन्य जातिका स्वनामधन्य विद्वान–इतिहासकारले यसतर्फ सोधिखोजी गर्ने दरकार नै सम्झिएनन् कि ? गोर्खा सैनिकको इतिहासबारे उबेला किताबै लेखिएनन्, यो क्षति सम्झेर पश्चाताप गर्नुको विकल्प रहेन ।


केही खोज, केही अनुसन्धान, केही विश्लेषण अनि विश्वयुद्ध र अन्य क्षेत्रीय युद्ध लड्ने केही गोर्खा सैनिकका जीवनका पानालाई किताबमा लिपिबद्ध गरेको छु । आशा छ, यो किताबले गोर्खाली इतिहास जान्न चाहने जिज्ञासु, इतिहासका विद्यार्थी, अनुसन्धाता र आम पाठक सबैनिम्ति उपयोगी हुनेछ । गोर्खा सैनिकबारे यस्ता अनगिन्ति इतिहास छन् जुन लेखिन जरुरी छ ।

‘भर्तीको भन्दा’ किताब ११ मे २०१४ मा हङकङमा विमोचन भएको हो । विमोचनकै दिन दुई सयभन्दा बढी बिक्री भएको थियो । हङकङमा विमोचन भएको एक हप्तामै यो किताब हजार प्रति बिक्रि भयो । त्यसपछि एक महिनामा दुई हजार प्रति । कुनै व्यक्तिले छापेको किताब र भर्खरै लेखक बन्न खोज्दै गरेको सिकारुले लेखेको पहिलो किताब नै यति धेरै बिक्री भएको सायद मलाई अरु किताबबारे थाह छैन । नेपालमा पहिलो प्रति छापिने भनेको धेरैको हजार प्रति हो । त्यहि बिक्री गर्न हम्मे हुन्छ । धेरै किताब बाँडेरै सकिन्छ । बाँड्न पनि दुई चार वर्ष लागेको देखेको छु । तर, ‘‘भर्तीको फन्दा’’ को मागले म निकै हर्षित छु । यस किताबले बजारमा गोर्खा भर्तीसम्बन्धी अहिले नयाँ बहस सिर्जना गरेको छ ।

यो किताब तयार पार्न अग्रज पत्रकार दाजु केशवशरण लामिछानेको सबैभन्दा ठूलो हात छ । उहाँकै सुझावमा किताबले यस्तो रूप पायो । किताब सम्पादन गरी पठनीय बनाइदिने यादव थपलियाको गुन कहिल्यै भुल्नेछैन । किताब प्रकाशनको जिम्मा लिइदिने दिदी रीता गुरुङ (नेपाल क्लब हङकङकी अध्यक्ष)ले गरेको सहयोग अविस्मरणीय छ । उहाँप्रति ऋणी छु । भाइ छवि र जीवनसङ्गीनी सुष्माको सहयोगबिना यति छिट्टै किताब तयार हुने थिएन । पत्रकारहरु एमबी आस्थामगर (पोखरा), जेवी पुनमगर (हङकङ), किरण पुन (नवीन विभास), देव पचभैंयामगर (पाल्पा) को हौसलाप्रति नतमस्तक छु । बेलायतका महासचिव बम थापा सूर्य वंशीमगर एवं सांस्कृतिक विभागका सचिव अनिता रानामगर, मगर संघ इजरायलकी महासचिव माया घलेमगरलाई सधैँ सम्झिरहनेछु । समाजसेवी यम पौडेल (अमेरिका), गिरमान थापा गाहामगर, (दुबई), गायक शङ्कर विरही गुरुङ, शिव थापामगर, अनि मोति भुजेल (मुनाल स्टोर्स पोखरा) र ढाकाराम पौडेल (कोरिया) ले दिनुभएको हौसलाप्रति साधुवाद ।
अहिले पनि ‘भर्तीको फन्दा’ विभिन्न ठाउँबाट माग आइरहेको छ । भनेको सबै ठाउँमा पुर्याउन नसकेकोमा म दुःखी छु । मगर संघ, यूके र मगर संघ कतारमा ‘भर्तीको फन्दा’ उपलब्ध छ । बेलायतमा मगर संघ यूकेका उपाध्यक्ष नेम थापा दाजु (७८०९४३०७२५) र महासचिव बम थापा सुर्यवंशी मगर (७८०९४३०७२५), लाई टेलिफोन सम्पर्क गरे ‘‘भर्तीको फन्दा’’ उपलब्ध हुनेछ । यस्तै कतारमा मगर संघ कतारका अध्यक्ष शरण थापामगरलाई ७७६१०७७२ मा टेलिफोनसम्पर्क गरि आफ्नो प्रति सुरक्षित राख्नुहोला । उहाँसँग केही थान किताब बाँकी छ । नेम दाई, बम दाई, अनिता दिदी, मित्र दाई र शरण शरको गुन सम्झिरहेको छु । उहाँहरुले प्रदेशमा किताब बिक्रिवितरणमा ठूलो सहयोग गर्नुभा छ । यस्तै हङकङमा भाइ पुरन थापा, सोल्टी अमृत गुरुङ, रविन थापा, तिलक सोमैमगर लगायले गरेको सहयोग छातिमा सजाएर राखेको छु । विशेष गरि हुम थापा मामाप्रति म ऋणी छु । उहाँले ‘‘भर्तीको फन्दा’लाई ठूलो सहयो गर्नु भएको छ ।
नेपालमा काठमाडौंमा प्राइम बुक्स, बागबजार (पुरन सारु ९८४१०५९८०९) पोखराको गोरखापत्र बाजे, महेन्द्रपुल (०६१–५२६०८४) हिमालयन रिडर्स कर्नर (०६१–५३२७२०) र बाग्लुङमा ज्ञानकुञ्ज पुस्तक पसलमा ‘‘भर्तीको फन्दा’’ किताब पाइन्छ । देशविदेशबाट विभिन्न प्रतिक्रियासँगै किताबको माग आइरहेकोमा खुसी छु । तर पुर्याउन सकिएको छैन । अब तेस्रो मुद्रण भयो भने, माग आएका ठाउँ जापान, कोरिया, बु्रनाई, दुवई, मलेसिया, सिंगापुर, भारत, अमेरिका, पोर्चुगल, बेल्जियम, कुवेत, बहराइन, अष्ट्रेलिया, साउदीअरब, सिंगापुर, ओमान लगायतका देशमा पठाउनेछु । साथै ‘भर्तीको फन्दा’ लाई अनलाइनमा पढ्ने व्यवस्था गर्न लागि परेको छु । ‘‘भर्तीको फन्दा’’ लाई अत्यधिक रुचाइदिनु भएकोमा सबैप्रति आभार छु ।
Source :manojg.com.np