कास्की जिल्लाका सामुदायिक विद्यालयहरुमा निशुल्क पुस्तक वितरण

नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रद्वारा संचालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम (इजीआरपी) अन्तर्गत कास्की जिल्लाका सामुदायिक विद्यालयहरुमा निशुल्क पुस्तक वितरण कार्यक्रम बिहीबारबाट सुरु भएको छ ।

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी संस्था (युएसएआईडी) को आर्थिक तथा प्राविधिक सहयोगमा यो कार्यक्रम संचालन गरिएको हो । कार्यक्रम अन्तर्गत पोखराको अमरसिंह नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पुरस्तक वितरण गरी कार्यक्रम आरम्भ गरिएको शिक्षा विकास समन्वय इकाईका उपसचिव दीपेन्द्र ढकालले जानकारी दिए । कक्षा १, २ र ३ का विद्यार्थीका लागि तयार पारिएका यी पुस्तकहरुले पाठ्यक्रममा आधारित पुस्तकहरुकै सिकाईलाई थप प्रभाविकारी रुपमा अगाडि बढाउन सहयोग पुग्ने उनले सुनाए ।

उपसचिव ढकाल, इजीआरपीका कास्की जिल्ला संयोजक कृष्ण खतिवडा, विद्यालयका प्रधानाध्यापक तेजस्वी बराल लगायतले विद्यार्थीरुहरुलाई पुस्तक वितरण गरेका थिए । पहिलो दिन बिहीबार कास्कीका विभिन्न १३ विद्यालयमा पुस्तक वितरण गरिएको थियो । कास्की जिल्लामा मात्र कूल तीन सय ८६ सामुदायिक विद्यालयमा पुस्तक वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।