कास्कीमा स्वास्थ्य बिमाका लागि नाम दर्ता सोमबारदेखी सुरु

छवि मगर

नेपाल सरकारको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गतको स्वास्थ्य बिमाको नाम दर्ता प्रक्रिया कास्कीमा सोमबारदेखी सुरु हुने भएको छ । आइतबार जिल्ला जनस्वास्थ्य कार्यलय कास्कीमा आयोजित पत्रकार सम्मेलनमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले कास्कीमा नाम दर्ताका लागि सबै प्रक्रिया पूरा भएको जानकारी दिए ।

सेवाग्राहीको नाम दर्ताका लागि कास्कीमा १ सय ७ जना दर्ता सहयोगी छनौट गरि आवश्यक सामाग्रीसहित कार्यक्षेत्रमा पठाइ सकिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीका जिल्ला प्रबन्धक भगवान रेग्मीले बताए । प्रबन्धक रेग्मीका अनुसार पुष १२ गते बिहान ११ बजेदेखी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला हलमा दर्ता प्रक्रियाको शुभारम्म हुनेछ ।

‘कास्कीमा यो सेवा उपलब्ध गराउन भेडाबारी, कृष्ति, अर्मला प्राथमिक स्वास्थ्य केन्द्रका साथै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, मातृ शिशु मितेरी अस्पताल लामाचौर, शिशुवा अस्पताल, हिमालयन आँखा अस्पताल र मणिपाल शिक्षण अस्पतालसँग सम्झौता गरिसकिएको छ’ प्रबन्धक रेग्मीले भने ।

यसबाहेक सेवाग्राहीको संख्या बढेमा अन्य अस्पतालसँग पनि सम्झौता गरिने जनाइएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन आदेश २०७१ तथा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन नियमावली २०७२ बामोजिम सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सहज तथा प्रभावकारी रूपमा उपलब्ध गराई स्वस्थ्य समाजको निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको निर्देशक डा.लोहनीले बताए ।

‘स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ५ जना सदस्यसम्म भएको परिवारलाई एक परिवार मानेर वार्षिक २ हजार ५ सय योगदान रकम (प्रिमियम शुल्क) बुझाई ५० हजार रूपैयाँ बराबरको स्वास्थ्य सेवा सुविधा तोकिएको स्वास्थ्य संस्थाबाट पाउन सक्नेछन्’ निर्देशक डा.लोहनीले भने,‘५ भन्दा बढी सदस्य भएको परिवारको हकमा बढेको सदस्य प्रत्येकको लागि ४ सय २५ रुपैंयाका दरले थप गर्दै जानुपर्ने र यसरी सदस्यता लिँदा सम्बन्धित परिवारको सुविधा थैलीमा समेत १० हजार रूपैयाँका दरले थप हुँदै जानेछ ।’ एक वर्षका लागि मान्य हुने यो सेवा सुविधा लिन चाहनेले अर्को वर्ष पुनः बिमाबापतको रकम बुझाई नवीकरण गर्नुपर्ने हुन्छ ।

नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा प्रत्याभूत गरेकोको परिप्रेक्षयमा सरकारले यो कार्यक्रम पहिलो पटक कार्यान्वयनमा ल्याउन लागेको हो । कार्यक्रमअन्तर्गत बिमा रकम बुझाई सदस्यता लिएकालाई बहिरंग, अन्तरंग र आकस्मिक सेवा, कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा र औषधि अन्तरंग सेवातर्फ परीक्षण, एक्सरेलगायत सेवा सुविधा पाउने जनाइएको छ । पहिलो चरणमा २०७२ चैत २५ गते कैलालीबाट सुरु भई अहिले बागलुङ, इलाम, अछाम, पाल्पा जिल्लामा यो योजना लागु भईसकेको छ ।