कस्केली पत्रकारका लागि अंग्रेजी भाषाको दुई दिने कार्यशाला सुरु

रूद्र श्रीसमगर
अर्बिट इन्टरनेशनल एजुकेशनसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा कस्केली पत्रकारका लागि दुई दिने अंग्रेजी भाषाको कार्यशाला सुरु भएको छ । समाचार संकलनका क्रममा कार्यक्षेत्रमा भाषाका कारण हुने समस्या कम गर्नका लागि अंग्रेजी भाषाको कार्यशाला आयोजना गरिएको नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ‘विदेशी अतिथिहरू र विदेशी पर्यटकसँग सम्बन्धित समाचार संकलनमा हामीलाई भाषाका कारण समस्या हुने गरेको छ’, श्रेष्ठले भन्नुभयो, ‘अंग्रेजी भाषामा दक्षता नहुँदा समाचार संकलनमा कठिनाइ भएको पाइएको छ ।’ अंग्रेजी भाषामा पत्रकारिता गर्न सहज बनाउनका लागि नै कार्यशालाको आयोजना गरिएको श्रेष्ठको भनाइ थियो ।

अर्बिट इन्टरनेशनल एजुकेशनका प्रमुख कार्यकारी अधिकृत राधेश्याम मल्लले पत्रकारहरूलाई अंग्रेजी भाषाको दक्षताका लागि कार्यशालाको आयोजना गरिएको उल्लेख गर्नुभयो । ‘हामीले २०६४ सालदेखि नै यस खालका कार्यशाला गर्दै आएका छौं’, मल्लले भन्नुभयो, ‘सुरुमा संविधानसभाका महिला सभासद्हरूका लागि र अहिले ट्राफिक प्रहरीका लागि समेत यस्तो खालको कार्यशाला गरेका छौं ।’ पत्रकारका लागि समेत उपयोगी हुने देखिएकाले यस्तो कार्यशालाको आयोजना गरिएको मल्लको भनाइ थियो ।

दुई दिने कार्यशालामा रेडियो नेपालका अंग्रेजी भाषाका पूर्व समाचार वाचक वरिष्ठ सञ्चारकर्मी माइकल चन्द र वरिष्ठ पत्रकार युवराज घिमिरेले सहजीकरण गर्नुहुनेछ । आइतबारसम्म हुने कार्यशालाको पहिलो दिन वरिष्ठ सञ्चारकर्मी माइकल चन्दले अंग्रेजी भाषामा वाकपटुताबारे सहजीकरण गरेका थिए ।