कर प्रणालीमा सुधार गर्नेछु– महासचिवका उम्मेदवार अधिकारी

पोखरा उद्योग वाणिज्य संघको २०७३ भदौ ३१ र असोज १ गते सम्पन्न हुने ३१ औं महाधिवेशनमा दामु अधिकारी महासचिव पदका लागि चुनावी अभियानमा हुनुहुन्छ । पोखरा उद्योग वाणिज्य संघमा रहेर उहाँले ६ वर्ष काम गरिसक्नु भएको छ । उहाँसँग पोखराप्लस अनलाईन पत्रिकाका लागि छवि मगरले गरेको छोटो कुराकानी
मतदाताकहाँ जाँदा कस्तो प्रतिक्रिया पाउनुभएको छ ? महासचिवमा जिताउँछन् त ?
चुनावी अभियानको क्रममा मतदाताकहाँ जाँदा मैले धेरै सकरात्मक प्रतिक्रिया पाएको छु । सबैले भोट दिने निश्चित छन् । व्यवसायीक हिसाबले मेरो लामोसमयदेखिको अनुभव छ । उद्योगी व्यवसायीले अवश्य साथ दिनेछन् । मैले उद्योग वाणिज्य संघमा ६ वर्ष बसेर काम गरे, त्यतिबेला उद्योगी व्यवसायीका समस्या के छन् । त्यो सबै थाहा छ । व्यवसायिक हकहितका लागि मैले चुनाव जित्नुछ । त्यसैले पनि मतदाताले मलाई जिताउन कुनै कसुर बाँकी राख्नुहुनेछैन ।
संघमा राजनीतिले प्रवेश पायो भन्ने कुरा बाहिर आएको छ, तपाईको भनाई के छ ?
पोखरा उद्योग वाणिज्य संघ विशुद्ध व्यवसायीहरुको हकहितको लागि लड्ने संस्था हो । राजनीति गरिनुपर्छ भन्ने पक्षमा म छँदै छैन । र म कुनै राजनैतिक संगठनमा रहेको व्यक्ति पनि हैन । म विशुद्ध तवरले व्यवसाय गरेर खाने मान्छे हुँ । र व्यवसायीका दुःखसुख के छन्, त्यो सबै अनुभव संगालेर धेरै संघर्ष गर्दै आएको छु । राजनैतिक आस्थामा परेर पोखरा उद्योग वाणिज्य संघको ऐतिहासिक गरिमालाई धमिलाउँनु हुँदैन ।
महासचिवमा व्यवसायीले तपाईलाई किन जिताउनुपर्ने के त्यस्तो कारण छ ?
किनकि म व्यवसायिक हिसाबले विभिन्न क्षेत्रमा आबद्ध छु । व्यवसायमा लागि रहँदा थुप्रै साना ठूला उद्योग व्यवसायीसँग मेरो चिनाजानी छ । मन जितेर विभिन्न सामाजिक संघ संस्थामा काम गरेको छु । व्यवसायीका लागि धेरै काम गर्न अझैँ बाँकी रहेकाले गर्दा पनि म महासचिवमा आउनुपर्छ ।

तपाईका एजेन्डाहरु के छन् ?
अहिले कर प्रणालीको जुन समस्या छ, त्यसको दायरा फराकिलो बनाउनुपर्छ । विश्व अहिले अनलाईनमा चलेको छ । अनलाईनबाट कर व्यवस्थापन गर्ने र करको दायरा फराकिलो बनाएर उद्योगी व्यवसायीहरुको झन्झडिलो पुरानो कर प्रणालीलाई विस्तारै परिमार्जित गर्दै लैजाने छु । यसमा सबै उद्योगी व्यवसायले मलाई साथ दिनु हुनेछ । व्यवसायिक संस्थामा देखिएका बेथितिको अन्त्य गर्नेछु । उद्योग संचालनका लागि सीपमूलक तालिम तथा कार्यक्रमको घोषणा गर्नेछु । यी लगायत थुप्रै एजेण्डाहरु छन् जो अहिल्यै भनेर सकिदैनन् ।