कम्युनिष्ट संसारबाट लोप भैसके, अब नेपालबाट पनि हुनेछन् गोपालमान श्रेष्ठ

नेपाली काँग्रेसका नेता उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आउँदो चुनावमा उम्मेदवारको मुख नहेरी काँग्रेसमा मतदान गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १५ को चुनावी प्रचार कार्यालय उद्घाटन पछि बोल्दै उनले संविधान कार्यान्वयन र देशको समृद्धीका लागि काँग्रेसलाई नै विजयी गराउनुपर्ने जिकीर गरे ।

‘संसारबाट लोप भएको कम्युनिष्टलाई हामीले नेपालमा स्वागत गर्नुछैन, उनी भन्छन्–अहिले मुख हेर्ने हैन रुख हेर्ने हो । आँखा चिम्लेर चारवटै छाप काँग्रेसको रुख चिह्नमा लाउनुस् ।’उनले भने–‘अनि त्यसपछि नेपालमा पनि कम्युनिष्ट लोप हुनेछन् ।’

कम्युनिष्टको चाहाना साम्यवादी अधिनायकवाद भएको आरोप लगाउँदै उनले कम्युनिष्टको गठबन्धन तोड्नुपर्ने बताए । कम्युनिष्टहरु मिलेर नेपालीले पाएका अधिकार खोसेर एकदलीय शासन ल्याउन खोजेका छन् । काँग्रेससँग जीवन र मरणको सवाल छ, श्रेष्ठले भने–काँग्रेसले मात्रै निकास निकाल्न सक्छ र विकास गर्न सक्छ ।’

 

 

राम्रो कामका लागि काँग्रेसलाई भोट गर्नुस् ः देवराज चालिसे

कार्यक्रममा कास्की २ का प्रदेशसभा सदस्य उम्मेदवार देवराज चालिसेले अत्याधिक मतका साथ काँग्रेस विजयी हुने भन्दै सक्रियताका साथ तयारी गर्न आग्रह गरे । ‘जनता कुनैपनि पार्टीको पेवा होईनन् । राम्रा कामका लागि जनताले मतदान गर्नेछन्, उनले भने–हाम्रा एजेण्डा जनता समक्ष पु¥याउनुपर्छ । चुनाव हामी जित्छौं ।’ जनताले विकास र समृद्धी चाहेका भन्दै चालिसेले त्यसको जिम्मेवारी काँग्रेसले लिने दावी गरे ।

संविधान भत्काउनेहरुलाई भोट नदिनुस् ः गुरु बराल

क्षेत्र नम्बर २ क का उम्मेदवार गुरुप्रसाद बरालले अहिलेको निर्वाचन संविधान बलियो बनाउने र भत्काउने बीचको प्रतिस्पर्धाको रुपमा अथ्र्याए । उनले वाम गठबन्धनलाई संविधान भत्काउनेको रुपमा इंगित गर्दै जनतालाई उनीहरुको फोस्रो आश्वासनमा नभुल्न आग्रह गरे ।

त्यस्तै उनले आफ्नो प्रदेश शहरी र ग्रामिण परिवेशले भरिएको उल्लेख गर्दै प्रदेश अन्रतगत पर्ने ग्रामिण ईलाकालाई महानगरस्तरिय विकासको गतिविधि अगाडि बढाउने वचनबद्धता व्यक्त गरे । उनले ग्रामिण ईलाकामा बाइपास रोडको आवश्यकता रहेको र त्यसका लागि आफु निर्वाचित भएसँगै काम अगाडि बढाउने बताए । साथै उनी शुक्रबार आन्तरिक भेटघाटमा व्यस्त बने । उनले आफ्नो क्षेत्र अन्तरगत पर्ने मतदाताहरुसमक्ष आफ्नो पक्षमा भोट दिन आग्रह समेत गरेका छन् ।

यस क्षेत्रको सम्बृद्धिका लागि मेरो उम्मेदवारी ः विन्दुकुमार थापा

क्षेत्र नम्बर २ प्रदेशसभा (ख)का उम्मेदवार विन्दुकुमार थापाले आफनो जितले पोखरा र समग्र प्रदेशको विकासमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए । ‘पोखरा विकासको लागि मेरो उम्मेदवारी हो ।” उनले भने–अबको लक्ष्य नै आर्थिक समृद्धि हो ।

यो अभियानबाट कोही पनि टाढा जान सक्दैन ।’ देशको मुहार फेर्नलाई पनि काँग्रेसलाई भोट दिनुपर्ने उनको भनाई छ । क्षेत्र नम्बर २ अन्तर्गत शुक्रबार पोखराका विभिन्न वडाहरुमा उम्मेदवारले स्थानीयसँग भलाकुसारी गरेका छन् । विकास र समृद्धीको एजेण्डा सहित काँग्रेस उम्मेदवारहरु वडा नम्बर १५, ७ र ८ नम्बर वडामा घरदैलो गर्न पुगेका थिए ।

ईकाई सभापति टोपबहादुर थापको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र पराजुली र जिल्ला सदस्य पिनबहादुर गिरीले स्वागत गरेका थिए । कार्यक्रममा कास्की २ का प्रदेशसभा (क) का निर्वाचन प्रचार समिति संयोजक केशर निर्दोषी (ख) का संयोजक वीरेन्द्रनारायण विजुक्छे, क्षेत्रीय सभापतिहरु बिजयराज आचार्य र माधव बास्तोला, क्षेत्र नम्बर २ का चुनावी प्रचार संयोजक शोभियतबहादुर अधिकारी लगाएतले बोलेका थिए ।

 

जनताको समस्या मेरो आफ्नै समस्या हो ः यज्ञबहादुर थापा

कास्की क्षेत्र नम्बर एकमा काँग्रेसको तर्फबाट प्रतिनीधिसभा सदस्यका लागि उम्मेदवारी दिएका यज्ञबहादुर थापाले जनताको समस्या आफ्नो समस्या भएको बताएका छन् । लामो राजनीतिक यात्राको क्रममा जनताको हरेक समस्यालाई आफुले प्रत्यक्ष रुपमा भोगेको उल्लेख गर्दै सम्पूर्ण समस्याको समाधानका लागि काँग्रेसलाई भोट गर्न उनले आग्रह गरेका छन् ।

घरदैलोको क्रममा शुक्रबार उनी प्रदेश सभा उम्मेदवार कृष्ण केसीसहित वडा नम्बर १४ मा पुगेका थिए । काजिपोखरीस्थित प्रगती टोलमा पुग्दा काँग्रेसका उम्मेदवारहरुलाई स्थानियले भव्य स्वागत गरेका थिए । स्थानियले उनीहरुलाई त्यहाँको समस्याहरु सुनाएका थिए ।

खासगरि सुकुम्बासी बसोबास र खानेपानी अभावलाई त्यहाँका जनताले उम्मेदवारहरुसमक्ष राखेका थिए । उनीहरुको समस्या सुनिसकेपछि उम्मेदवारहरुले निर्वाचित भएपछि सम्पूर्ण क्षेत्रको समस्या समाधान गर्न आफुहरु लाग्ने प्रतिबद्धता जनाए । ‘यहाँ जनताको समस्यालाई बुझ्ने भनेकै काँग्रेसले मात्र हो । कम्युनिष्टहरु त आफ्नो अभिष्ट पुरा गर्नका लागि मात्रै लागिरहेको अहिलेको यथार्थ छ ।’ यज्ञबहादुर थापाले भने–‘त्यसैले काँग्रेसको चुनाव चिन्ह रुखमा भोट हालेर हामीलाई विजयी गराउनुहोस् ।’

थापाले आफु निर्वाचित भएर आएपछि जनताको समस्यालाई समाधान गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखि काम गर्ने वचनबद्धता दोहो¥याए ।

झुटको खेती गर्नेलाई होइन, सत्य बोल्नेलाई भोट दिनुस् ः कृष्ण केसी

त्यस्तै काँग्रेसको तर्फबाट कास्की जिल्ला क्षेत्र नम्बर १ अन्तरगत प्रदेश ख मा उम्मेदवारी दिएका उम्मेदवार कृष्ण केसीले आफु निर्वाचित भएको खण्डमा अव्यवस्थित बसोबास गरिरहेकाहरुलाई लालपुर्जा उपलब्ध गराईदिने वचन दिएका छन् ।

घरदैलोको क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ मा पुगेका केसीले समस्या समाधानका लागि आफ्नो पक्षमा भोट गर्न सबैलाई आग्रह गरेका छन् । ‘म पनि झुट बोल्दिन, तपाईहरु पनि झुट नबोलिदिनुस ।’ उनले भने–‘म तपाईहरुको काम गर्छु, मलाइ जिताईदिनुस।’

कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक सरस्वती गुरुङ, जिल्ला सदस्य नवीन सिग्देल, अनिता तिमिल्सिना, क्षेत्र नं १ का सभापति बृजमान गुरुङ, नेपाल महिला संघ पोखरा लेखनाथ सभापति माया बराल, जलेश्वर आमा समुकी अध्यक्ष रमाना भण्डारी, प्रगतिशील टोल विकास संस्थाका अध्यक्ष अग्नीप्रसाद श्रेष्ठले बोलेका थिए।

यसैबीच, प्रदेशसभा सदस्य उम्मेदबार कृष्ण केसी शुक्रबार मादी गाउँपालिको ताङतिङ पुगेका छन् । उम्मेदबार केसीसँगै समानुपातिक उम्मेदबार रसकुमारी गुरुङ, क्षेत्र नं १ का सभापति बृजमान गुरुङले घरदैलोगर्दै काँग्रेसको पक्षमा भोट मागेका छन् ।

 

काँग्रेसले ल्याएको लोकतन्त्र बचाउने बेला आएको छ ः शुक्रराज शर्मा

कास्की क्षेत्र नम्बर ३ मा काँग्रेसको तर्फबाट प्रतिनीधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेता शुक्रराज शर्माले काँग्रेसको पक्षमा मतदातालाई भोट हाल्ने वातावरण बनाउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । वडा नम्बर १ ईकाई समिति बगरले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चुनावी सम्पर्क कार्यालय उद्घाटनको क्रममा उनले यस्तो बताएका हुन् ।

‘काँग्रेसकै नेतृत्वमा विभिन्न कालखण्डमा भएको आन्दोलनबाट प्राप्त लोकतन्त्रलाई बचाउने बेला आएको छ । यतिबेला कम्युनिष्टहरु लोकतन्त्र मास्ने खेलमा लागेका छन् ।’ उनले भने–‘यस्तो बेलामा काँग्रेसका कार्यकर्ताहरु साविकभन्दा अझै बढि सक्रिय भएर लाग्नुपर्छ ।’ लोकतन्त्र रक्षाको लागि संगठित रुपमा काँग्रेस एकढिक्का भएर लाग्नुपर्ने कुरा उनेले दोहो¥याए ।

त्यसैगरि उनले शुक्रबार त्यस क्षेत्रमा घरदैलोमै पुगेर जनतासमक्ष आफ्नो पक्षमा भोट हाल्न आग्रह समेत गरेका थिए । उनले त्यस क्षेत्रको समस्याहरुको बारेमा आफु बढि नै जानकार भएको उल्लेख गर्दै निर्वाचित भएको खण्डमा सम्पूर्ण समस्याहरुलाई समाधान गर्नेतर्फ आफ्नो ध्यान केन्द्रीत गर्ने वचनबद्धता समेत व्यक्त गरे । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर ३ का सभापति पोषनाथ शर्माको नेतृत्वमा घरदैलोमा उम्मेदवारहरु पुगेका थिए ।

सुशासनका लागि काँग्रेसलाई भोट ः शारदा पौडेल

त्यसैगरि कार्यक्रममा क्षेत्र नम्बर ३ प्रदेश क बाट उम्मेदवारी दिएकी शारदा पौडेलले भ्रष्टाचारलाई फालेर सुशासन ल्याउनका लागि काँग्रेसलाई जिताउनुको विकल्प नरहेको बताईन् ।

उनले वाम गठनबन्धनका उम्मेदवारहरुलाई ईंगित गर्दै उनीहरुको जीत संभव नभएको र यदि भैहालेमा पनि भ्रष्टाचारले प्रश्रय पाउने सुझाईन् । त्यस्तै समानुपातिकतर्फका उम्मेदवार आनन्दराज मुल्मीले आर्थिक संबृद्धि सहितको विकासको स्पष्ट आधार तय गर्न नेपाली कांग्रेसलाई जनताले रोज्नेमा आफु विश्वस्त रहेको बताए ।

कार्यक्रममा कांगे्रस नेतृ मीना पाण्डे, क्षेत्रीय सह सचिव गोविन्दबहादुर गुरुङ, शिव श्रेष्ठ लगायतले नेपाली कांग्रेसको पक्षको मतदान गर्न आग्रह गरेका थिए । काँग्रेस वडा नम्बर १ ईकाई समितिका सभापति टंकप्रसाद पौडेलको सभापतित्वमा कार्यकर्ता भेला आयोजना भएको थियो ।

त्यसैगरि कास्की क्षेत्र नम्बर ३ प्रदेश ख बाट उम्मेदवारी दिएका शिकन्दरकुमार गुरुङ ‘भोजबहादुर’ लुम्लेमा आन्तरिक भेटघाटमा व्यस्त रहे । उनले समुदाय केन्द्रीत भेटघाटलाई यतिबेला तिव्रता दिएका छन् । ‘लोकतन्त्रको पक्षपाती सम्पूर्ण समुदायहरुलाई मैले व्यक्तिगत रुपमा भेटघाट गरिरहेको छु ।’ शिकन्दरले भने–‘माहौल काँग्रेसको पक्षमा निकै राम्रो बनेको छ । यस क्षेत्रका मतदाताहरु लोकतन्त्रलाई बचाउनुपर्छ र काँग्रेसलाई जिताउनुपर्छ भन्ने खाले प्रतिक्रिया दिईरहेका छन् ।’