पोखराप्लस संवादाता
पोखरा, १२ कार्तिक
लागु औषध दुव्र्यसनीहरुको निमित्त काठमाडौंमा पुर्नस्थापना केन्द्र सञ्चालन गर्दै आइरहेको रहेको उद्वार नेपालको सहयोगार्थ पोखरामा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा गैह्रापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले नृत्यका साथै चर्चित गायिका रुबी गौली र हेमन्त शिशिरले गीत प्रस्तुत गर्नुभएको थियो । यसरी नै कार्यक्रममा बौद्धिक अपांग भएकी हेलेना श्रेष्ठ, कतारबाट आउनु भएका इन्द्र गुरुङ र अनु गुरुङले नृत्य प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा उद्धार नेपालको तर्फबाट सचिव राजु पुतवर र कार्यक्रम संयोजक शोभा गुरुङले कार्यक्रम व्यस्थापक संस्था हिमाली साँस्कृतिक परिवारका संरक्षक नरबहादुर शेरचन, अध्यक्ष मेनकाजी गुरुङ र वरिष्ठ सल्लाहकार तथा बरिष्ठ नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ गौरीलाई दोसल्ला र खादाबाट सम्मान गरिएको थियो ।
पोखरा १० स्थित जनप्रिय आमा समुह, पोखरा १२स्थित याङ्जाकोट तमु समाज आमा समुहको विशेष सहयोग र हिमाली साँस्कृतिक परिवारको व्यवस्थापनमा भएको साँस्कृतिक कार्यक्रममा कार्यक्रम संयोजक शोभा गुरुङ कार्यक्रमको औचित्यबारे, उद्धार नेपालका राजु पुतवर, राजेन्द्र पुतवर र काउन्सिलर एवं थेरापिष्ट कृष्ण थापाले उद्धार नेपाल स्थापनाको उद्धेश्य,गतिविधीका साथै लागु औषध दुव्र्यसनीको उपचारका विविध पक्षमा चेतनामुलक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल दक्षिण कोरिया युथ ग्रुप मुख्य प्रायोजक, राजु गुरुङ युके सहप्रायोजक रहेको कार्यक्रममा जनप्रिय टोल आमा समुह, याङ्जाकोट तमु समाज लगायत विभिन्न सहयोगदाताहरुले सहयोग प्रदान गरेका थिए ।
उक्त कार्यक्रमबाट वचत रकमको ७० प्रतिशत काठमाडौं स्थित उद्धार नेपाल र ३० प्रतिशत रकम पोखरास्थित कम्युनिटी सपोर्ट ग्रुपलाई सहयोग गरिने बताइएको थियो । कार्यक्रमको संचालन हिमाली साँस्कृतिक परिवारका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापा र सचिव श्रीजंग गुरुङले गर्नुभएको थियो ।
Leave a Reply