पोखरा, २३ भदौ । पोखरा उद्योग वाणिज्य संघले पर्यटकीय ( हरियो ) नम्बर प्लेटका सवारी साधनमा आन्तरिक पर्यटकलाई निषेध गर्ने खालको कुनै पनि निर्णय नगर्न सरोकारवाला निकायसँग माग गरेको छ ।
केही दिनयताका सार्वजनिक संचारमाध्यमहरुमा नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालयले यातायात विनियम संशोधन गरी पर्यटकीय ( हरियो ) नम्बर प्लेटका गाडीहरुमा ‘आन्तरिक पर्यटकलाई निषेध गर्ने’ आशयका समाचार र अभिव्यक्तिहरु सार्वजनिक भएको सन्दर्भमा संघले विहीबार प्रेस विज्ञप्ति जारी गरी सो माग गरेको हो ।
संघका महासचिव रवीन्द्रबहादुर प्रजुद्धारा जारी विज्ञप्तिमा पर्यटक बसले गैर पर्यटक ( नेपाली नागरिक ) बोक्न नपाउने व्यवस्था हुनु भनेको नागरिक अधिकारको उल्लङ्घन मात्र हैन, संविधानको बर्खिलाप पनि हो भनिएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ–‘ पर्यटन ऐन ,२०३५ ( दोश्रो संशोधन २०५३ ) ले नेपालीलाई पनि पर्यटकको रुपमा संवोधन गरेको तथा सरकारले चालु वर्ष २०७३ लाई ‘घुमफिर वर्ष ’को घोषणा गरेको सन्दर्भमा सार्वजनिक भएका यस्ता समाचारले सरकार स्वयंले गरेका निर्णय कार्यान्वयनमा समेत असर गर्ने संवेदनशीलताप्रति सरकार गम्भीर हुनैपर्छ ।’ यसैगरी विज्ञप्तिमा आफूले रोजेको सवारी साधनमा आवागमन गर्न पाउनु नागरिकको संविधान प्रदत्त नैसर्गिक अधिकार भएको उल्लेख गर्दे नागरिकको नैसर्गिक अधिकारको रक्षा गर्दै स्वतन्त्रतापूर्वक व्यापार÷व्यवसाय गर्न पाउने निजी क्षेत्रको अधिकारको संरक्षक स्वयं सरकार नै हुनुपर्छ भन्ने पोखरा उद्योग वाणिज्य संघको मान्यता भएको स्पष्ट पारिएको छ । विज्ञत्तिमा सरकारले तोकेको नीति र नियमभित्र रही पर्यटकीय नम्बर प्लेटका गाडी सञ्चालन गर्दै आएका व्यवसायीहरुको लगानी सुरक्षा तथा निर्वाध आवागमन व्यवस्थाको लागि सरोकारवाला निकायसँग जोडदार माग गर्दै नागरिकको अधिकार कुण्ठित बनाउने गरी अगाडि बढाइएको भनिएको यातायात विनियम संशोधन प्रक्रिया अविलम्ब रोकी आन्तरिक पर्यटनको प्रवद्र्धनमा जुट्न,पर्यटन सवारी साधनको क्षेत्रमा भएको निजी लगानीको सुरक्षा सुनिश्चित तथा नागरिकको छनौटको अधिकार सुनिश्चित गर्न सरोकारवाला निकायसँग जोडदार माग गरिएको छ ।
Leave a Reply