प्रेम रोका मगर
, पोखरा
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) पि.एन.सी छात्रा विभागको आयोजनामा आज बृहत छात्रा भेला सम्पन्न भएको लगत्तै ३ दिने महिला नेतृत्व विकास तथा उद्घोषण तालिम शुरू भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा उक्त भेला सम्पन्न भएको हो । भेलाको प्रमुख अतिथि एवं अनेम संघ (क्रान्तिकारी ) ४ नं. प्रदेश इन्चार्ज गायत्री दुरा ‘कुशुम’ ले देशमा अझैपनि धेरै भन्दा धेरै महिला नेतृत्व आवश्यक रहेको भन्दै हरेक क्षेत्रबाट अगाडि बढ्न आग्रह गर्नुभएको थियो । कुशुमले भन्नुभयो “संघर्ष गरे सफलता अवश्य प्राप्त गर्न सकिन्छ” त्यसैले पनि आफ्नो ठाउँबाट संघर्ष गर्नुहोस् । पहिलो एतिहासिक महिला राष्ट्रपति र महिला सभामुखको उदाहरण दिनुहुँदै अबको स्ववियुमा महिला सहभागिता बढाउनुपर्ने बताउनुभयो ।
त्यस्तै अतिथि वक्ता एवं अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य प्रविणा अधिकारीले अझैपनि महिला दिदीबहिनीहरू सिमित घेराभित्र रहेको भन्दै संकुचित विचारबाट बाहिर निस्केर बाहिरी संसारमा एक पुरूष सरह रहन अनुरोध गर्नुभएको थियो भने पृथ्वीनारायण क्याम्पसमा तमाम समस्या समाधानको लागि स्ववियु चुनावमा अखिल (क्रान्तिकारी) लाई विजयी गराउन आग्रह समेत गर्नुभएको थियो ।
त्यस्तै विशेष अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव अमरदीप पराजुली, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवं पि.एन. सी इन्चार्ज क्षितिज सापकोटा, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य एवं पि.एन.सी सह- इन्चार्ज प्रेम रोका, केन्द्रीय सदस्य एवं पि.एन.सी उपाध्यक्ष सन्तोष नेपाली, केन्द्रीय सदस्यहरू भावना खतिवडा, अनिता सुनार लगायतले भेला तथा प्रशिक्षण कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । विभिन्न समसामयिक बिषयबस्तुमा छलफल गरिएको भेलाको सञ्चालन अखिल (क्रान्तिकारी) पि.एन.सी छात्रा विभाग सचिव दीपा न्यौपानेले गर्नुभएको थियो ।
त्यसै देशका विभिन्न भु-भागबाट यस पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्नुहुने सम्पूर्ण छात्रा विद्यार्थीहरूलाई लक्षित गरी गरिने उक्त 3 दिने महिला विकास तथा उद्घोषण तालिममा करिब ८०/९० जनाको उपस्थिति रहेको छ भने कार्यक्रम २९ गते सम्म चल्ने छ ।
मुख्य प्रशिक्षण एवं सङ्कल्प नेपालका क्षेत्रीय अध्यक्ष, पोखरा उपहानगरपालिकाका कार्यक्रम अधिकृत दुर्गा भण्डारीले आज प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
Leave a Reply