छवि मगर
पोखरा, ३० मंसिर
‘दोस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव’ हुने भएको छ । पोखरा फिल्म सोसाइटीले विहीबार पोखरामा पत्रकार सम्मेलन गरि पुस ६ गतेदेखि ८ गतेसम्म तीन दिन फिल्म महोत्सव हुने जानकारी दिएको छ ।
पोखरा सभागृहमा आयोजना हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५० भन्दा बढी चलचित्रहरूको प्रदर्शनी गरिने महोत्सवका संयोजक सरोज सापकोटाले जानकारी दिए । महोत्सवकै क्रममा मुख्य कार्यक्रम बाहेक हरेक साँझ पोखरा आसपासका केही प्रमुख स्थानहरूमा खुल्ला रूपमा चलचित्रहरू प्रदर्शनी समेत गरिने सोसाइटीका सचिव बिष्णु गौतमले बताए ।
महोत्सवमा नेपाली चलचित्र विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमहरू पनि हुनेछन् । केही महिना पश्चात ‘पोखरा अन्तर्रा्ष्ट्रिय पर्वतीय चलचित्र महोत्सव’ कार्यक्रम अन्तर्गत नै नेपालका केही हिमाली भेगहरू जोमसोम, घान्द्रुक, घले गाउँ र मनाङमा महोत्सवबाट छनौंटमा परेका केही चलचित्रहरूको प्रदर्शनी समेत गरिने पनि सचिव गौतमले जानकारी दिए ।
चलचित्र महोत्सवमा सहभागिताका लागि आह्वान पश्चात हालसम्म १ सय भन्दा बढी देशका ६ सय भन्दा बढी चलचित्रहरूले सहभागिताका लागि आवेदन दिएको फिल्म छनौट समितिका एक सदस्य जितेश प्रधानले बताए । प्रधानका अनुसार यो बर्षको महोत्सवमा महोत्सत्सवको थिमसँग मिल्ने ५० भन्दा बढी चलचित्रहरू प्रदर्शनी गरिनेछ । त्यसमा वृतचित्र, लघु चलचित्र, कथानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेशन जस्ता चलचित्रहरू समेटिने छन् । महोत्सवमा पोखराबाट तीन वटा फिल्म छनौट परेका छन् । ती मध्ये पत्रकार तथा लेखक मनोज घर्तीमगरको ‘भर्तीको राजनीति’ रंगकर्मी महेश भाजुको ‘नयाँ झुल’ र पत्रकार विष्णु गौतमको ‘ऐना’ रहेका छन् ।
पर्वत वा हिमाली क्षेत्र आसपासका संस्कृति, जनजिवन, परम्परा, जैविक विविधता र पर्यावरणको सम्वर्धन र प्रवर्धनमा चलचित्र मार्फत जनचेतना अभिवृद्धि गर्न सोही विषयवस्तुमा बनेका राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय चलचित्रहरूको प्रदर्शनी गरिनु ‘पोखरा अन्तराष्ट्रिय पर्वत चलचित्र महोत्सव’ को मुख्य उद्देश्य रहेको पोखरा फिल्म सोसाइटीका अध्यक्ष घनश्याम लामिछानेले बताए । पर्वतीय क्षेत्र आसपासका मानिसहरूको अधिकार सुनिश्चितता गर्नुमा वकालत गर्नुका साथै यस क्षेत्रमा पर्यटनको प्रवर्धनका लागि पनि यस्ता चलचित्र महोत्सव सहयोगी हुने अध्यक्ष लामिछानेको भनाइ छ ।
प्रतियोगितात्मक विधा नरहने यस चलचित्र महोत्सवले स्थनीयवासी, विद्यार्थी, विभिन्न सरोकारवाला, चलचित्रकर्मी, नागरिक समाज, कलाकार, साहित्यकार, उद्यमी आदिलाई आकर्षित गर्ने फिल्म छनौट समितिका सदस्य महेश भाजुले बताए । भाजुका अनुसार महोत्सवमा प्रदर्शनी गरिने चलचित्रले उनीहरूलाई मनोरञ्जन दिलाउनुका साथै समाज रूपान्तरणमा आवश्यक संवादको थालनी गर्न गराउन अभिप्रेरित गर्नेछ । यो महोत्सवले देश तथा विदेशमा हिमाली क्षेत्रमा भईरहेका परिवर्तनहरू, गतिविधिहरूका बारेमा अवगत गराउन समेत सहयोग पुर्याउने छ ।
सन् २०१४ को डिसेम्बर महिनामा अन्तर्रा्ष्ट्रिय पर्वत सङग्राहालय र फिल्म सोसाइटी फेडेरेसन नेपालसँगको सहकार्यमा शुरु भएको यो चलचित्र महोत्सवलाई हरेक बर्ष डिसेम्बर महिनामा महोत्सव गरी निरन्तरता दिने योजना सहित यो बर्ष पनि चलचित्र महोत्सव गरिएको आयोजकले बताएको छ ।
Leave a Reply