८९ औं हप्ताको अभियान चाइनापुलमा सम्पन्न २७ औं अख्तियार दिवस सरसफाई गरि मनाइयो

टुडे पोखरा संवाददाता
0Shares

 

पोखरा उपत्यका वृहत सरसफाई अभियान अन्तर्गत २७ औं अख्तियार दिवसको अवसरमा चाइनापुलमा शनिबार सरसफाई सम्पन्न भएको छ ।्
‘हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने उद्देश्यले सञ्चालित वृहत् सफाई अभियानको ८९ औं श्रृखला अन्तर्गत अख्तियार दिवस पारेर पोखराको मुख्य प्रवेशद्धार चाइनापुलदेखि पृथ्वीचोकसम्म सरसफाई गरिएको हो ।

उक्त क्षेत्र अत्यन्तै फोहोर, दुर्घदित, अव्यवस्थित भएको हुँदा सरसफाई अभियान सोही क्षेत्रमा केन्द्रित गरिएको अभियानका संयोजक तथा नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिएका छन् ।
सफाई कार्यक्रमको शुभारम्भ गदै प्रदेश नम्वर ४ का प्रमुख सचिव लक्ष्मण अर्यालले समग्र पोखराको सरसफाईका लागि सुरुवात आफैबाट गर्नुपर्ने बताए साथै उहाँले व्यक्ति सचेत नहुँदा जथाभावी फोहोर बढेको बताए । सोही कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले पैसा खानु र अधिकारको दुरुप्रयोग गर्नुमात्र भष्टाचार नभई नागरिकले आफ्नो जिम्मेवारी पुरा नगर्नुपनि भष्टाचार रहेको सन्देश कार्यक्रमले दिएको बताए । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ९ का अध्यक्ष रामराज लामिछानेले आफ्नो वडामा सरसफाई कार्यक्रम ल्याएर आफु पनि सहभागी हुन पाएकोमा धन्यवाद व्यक्त गर्दै सरसफाईको सचेतना टोलटोलमा पुर्याउने बताए ।
अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगका उपसचिव रमेशप्रसाद भट्टले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै वृहत सरसफाई अभियानमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा अभियानका संयोजक रामबहादुर पौडेलले सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए ।
अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगका पिताम्वर भण्डारीले संचालन गर्नुभएको कार्यक्रममा धन्यवाद ज्ञापन अख्तियार दुरुप्रयोग अनुसन्धान आयोग क्षेत्रीय प्रमुख यदुप्रसाद पन्थीले गरे ।
कार्यक्रममा अख्यितार कार्यालय, सुरक्षा निकाय, सडक विभाग, पोखरा लेखनाथ महानगरपालिका, त्यस क्षेत्रका व्यापारी व्यवसायी लगायत विभिन्न सामाजिक तथा शैक्षिक संघसंस्थाह्ररुको सहभागिता रहेको वडा नम्वर ९ का सचिव लोकदर्शन कोइरालाले बताए ।