होटल संघद्वारा कर तथा लेखा तालिम

टुडे पोखरा संवाददाता
0Shares

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा बिहिबारबाट पोखरामा सुरु भएको दुई दिने आधारभूत कर तथा लेखा तालिमका ६० सहभागीलाई शुक्रबार प्रमाणपत्र वितरण गरिएको छ ।

आफ्नो प्रतिष्ठानको आयव्यलाई व्यवस्थित रुपमा राख्नका लागि ज्ञान प्रदान गर्दै लेखा र करका विषयमा जानकारी प्रदान गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । लेखा र करका विषयमा व्यवसायीहरु विच थुप्रै अन्योल रहेको भन्दै विज्ञहरु मार्फत् त्यसलाई निराकरण गर्न तालिम संचालन गरिएको उनले बताए ।

ग्लोबल टच ट्रेनिङ कन्सल्टेण्ट प्रालि र नेपाल पर्यटन बोर्डको सहयोगमा तालिम कार्यक्रम सम्पन्न भएको हो । समापन समारोहमा संघका अध्यक्ष तुलाचन, प्रालिका अध्यक्ष सुनिल देबकोटा, निर्देशक मनोज काफ्ले लगायतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा प्रालिका प्रबन्ध निर्देशक ऋषिराम पौडेल, संचालक हेमराज गौतम, कन्सल्ट्याण्ट डम्बरुराज बरालको पनि उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै सहभागी एवं नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासुदेब त्रिपाठीले कर तथा लेखा सम्बन्धी तालिम आफ्नो लागि निकै प्रभावकारी भएको अनुभव सुनाए । करका विषयमा तालिमबाट धेरै बुझ्न पाइएको भन्दै उनले तालिम निकै सकारात्मक र उपयोगी भएको बताए ।

यसअघि बिहिबार नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले कर तथा लेखा सम्बन्धी विषयबस्तुको प्रस्तुतीका लागि माउस क्लिक गरी कार्यक्रमको उद्घाटन गरेका थिए । संघका महासचिव गणेशराज पहारीले कार्यक्रम संचालन गरेका थिए ।