‘हारमा पनि जीतमा झैँको म्युजिक भिडियो सार्वजनिक

पोखराप्लस संवादाता
पोखरा, पुस ।

गायक रामभक्त जोजिजूको नयाँ गीतको म्युजिक भिडियो शनिबार सार्वजनिक गरिएको छ । आयोजक द नेप्लिज एभरेष्ट च्याम्प अर्गनाइजेसनका अध्यक्ष आदर्श पोखरेलको सङ्गीत तथा रचना रहेको ‘हारमा पनि जीतमा झैँ पिट्दै छन् रे ताली…’ बोलको गीतको म्युजिक भिडियो सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर)का महाप्रबन्धक राजेश थापाले. सार्वजनिक गर्नुभएको हो ।
पोखरा सांस्कृतिक दृष्टिले समृद्ध ठाउँमा भएकोमा जोड दिँदै थापाले कला, सङ्गीत र साहित्यमा स्थानीयताको प्रयोग गरिनु आजको मुख्य आवश्यकता नै बनिसकेको बताउनुभयो । ‘१२५ भन्दा बढी जातजाति, १०३ भन्दा बढी भाषाभाषी, ६० हजारभन्दा बढी मौलिक लोक गीत र १० हजारभन्दा बढी मौलिक नृत्य रहेको नेपालमा तिनमा लगानी गर्नुपर्ने दायित्व राज्यले बिर्सेको छ’ उहाँले भन्नुभयो, ‘त्यसले गर्दा कला, साहित्यको अन्तर्राष्ट्रियकरण गरेर पर्यटन प्रबद्र्धन गर्न सकिएको छैन ।’ कला र सङ्गीतलाई विद्यालय तहकै पाठ्यव्रmममा समावेश गर्नुपर्ने धारणा राख्दै थापाले कला र सङ्गीतको छुट्टै विश्व विद्यालय स्थापना गरिनुपर्नेमा जोड दिनुभयो ।

आफू संलग्न सांस्कृतिक संस्थानको पुनर्संरचनामा आफू लागिपरेको भन्दै थापाले संस्थानलाई देशका सबै कलाकारको साझा संस्था बनाउने अभियानमा लागेको जनाउनुभयो ।
भिडियोको समीक्षा गर्दै अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले पोखराबाट पनि स्तरीय गीत÷सङ्गीतसँगै भिडियो बन्दै गएको बताउनुभयो ।

सञ्चारकर्मी रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा विशेष अतिथि पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा. बाबुराम अधिकारी, निर्देशक तथा मोडल तेज गिरी, त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बराल, चलचित्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष रेम विक, हार्मोनी सङ्स स्ट्रेसकी अध्यक्ष इतु जोजिजू, गायक रामभक्त जोजिजूलगायतले बोल्नुभएको थियो । तेज गिरी र प्रियङ्का जोजिजूको अभिनय रहेको भिडियोको निर्देशन तेज गिरीले गर्नुभएको छ भने छायाङ्कन पुष्कर थापाले गर्नुभएको छ ।
सोही कार्यव्रmममा तेज गिरीकै निर्देशन तथा दिनेश विष्टको स्वर, सङ्गीत र रचना रहेको ‘आकाशैको निलो रङ्ग…’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । भिडियोमा तेज गिरी, अमृता, राजेश कुमाल र राजेश सुवालको अभिनय रहेको छ ।