‘सुरुमा पत्याएन, पछि अवार्डमा ह्याट्रिक’

0Shares

लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने चलेको नाम हो । श्रीखण्ड चन्दन, फूलको वासना, ऐना हेरेर, झिलभिल सितारा, मिर्मीमुनि काली थुनेको, रुन्छ नि मन किन रुँदैन, सरर पानी घट्टमा, घामजस्तो चम्किलो जुन हुँदैन’, ‘म त हिँडे पोखरा माया हिँड्यो दाङको बसैमा’, ‘ढुङ्गेधारामा’ लगायतका उनका लोकदोहोरी चर्चित छन् । गायक, प्रस्तोता तथा उद्घोषक पुरुषोत्तम न्यौपाने अहिले रेडियो नेपालमा कार्यक्रम अधिकृतका रुपमा कार्यरत छन् । अहिलेसम्म लगभग एक हजारभन्दा बढी गीतमा स्वर दिएका उनै न्यौपानेसँग मनोज घर्तीमगरले गरेको अन्तरंग कुराकानी ।
बाहुनको छोरो लोकसेवा नलडेर कसरी गीताङ्गे भयो ?
बुबा साह्रै गीत गाउनुहुन्थ्यो । गाउँमा भजन गाउन जाँदा खैँजडी मुजुरा लिएर मलाई पनि सँगै लिएर जानुहुन्थ्यो । बुबाको स्वर मेरोभन्दा नि राम्रो थियो । उहाँकै प्रभाव मलाई प¥यो । गाउँमा हुँदा साथीभाइसँगै घाँसपात गर्दा गीत गाउँथे । एक दिन पूर्व व्यवसायिक शिक्षा पढाउने सर हुनुहुन्थ्यो– रेशम राना । एक जना साथीले यसले गीत गाउँछ भन्देपछि रेशम सरले गाउन लगाउनुभो । त्यसपछि सबैले राम्रो भने । साथीहरुले हौसला दिए । स्कुलका कार्यक्रममा पनि भाग लिएर उत्कृष्ट हुन्थें । यस्तै गर्दा गर्दै गायक भइयो । पछि रेडियो नेपालमै लोकसेवा पास गरेरै जागीर खाएँ । अहिले अधिकृत छु ।
गायनमा लाग्न परिवारिक वातावरणले सहयोग ग¥यो हैन त ?
गाउँमा छँदा भजन गाउनाले गायनमा लाग्न रहर जाग्यो । पछि स्कुलमा हुने प्रतियोगितामा पुरस्कार पाउँदा त्यसले पनि गीत गाउनै हौसला दियो । सबैभन्दा पहिलो कुरो बुवाकै गायनले सहयोग पु¥यायो । पारिवारिक कारणले पनि र आफ्नो रुचिले गर्दा पनि गायनमा लागँे ।
गायनमा औपचारिक रुपमा कसरी प्रवेश गर्नुभयो ?
गाउँमा, स्कुलमा गाउँदै विभिन्न प्रतियोगिताहरुमा गाएर पुरस्कार जितेँ । औपचारिक रुपमा भने रेडियो नेपालबाट २०४६ सालमा स्वर परीक्षा पास गरेपछि गायनमा छिरेको हुँ । तत्कालीन समयको लोकप्रिय कार्यक्रम ‘चौतारी’ मा गीत गाउन पाएँ ।
स्वर परीक्षा पास नगरे गायक हुन पाइन्थेन ?
गायक हुन गीत रेकर्ड गर्नुप¥यो । गीत रेकर्ड गर्न स्वर परीक्षा पास गर्नुपर्ने । रेडियो नेपालबाट स्वर परीक्षा पास गरे मात्रै रेडियोमा गीत रेकर्ड गर्न पाइन्थ्यो त्यसैले स्वर परीक्षा पास गरेको हुँ ।
स्वर परीक्षा पास गर्न कत्तिको गाह्रो थियो ?
स्याङ्जाबाट काठमाडौं गएर रेडियोमा स्वर परीक्षा पास गर्नु अहिले काठमाडौं गएजस्तो सजिलो थिएन । न फोन थियो न त यातायातको सुलभता । मेरा एक जना दाइ थिए बुटवल–काठमाडौं गाडी चलाउँथे । उनकै गाडीमा गएँ काठमाडौं । गाउँकै दाइ सेवाकर पाण्डे काठमाडौं हुनुहुन्थ्यो, उहाँ बसपार्कमा लिन आउनुभो । त्यसपछि रेडियोमा गएर ‘बदामदेवी थान’ गीत गाएँ । पछि दाइले चलाउने गाडीमै घर फर्कें । गाडी दाउन्नेमा पुगेर रोकियो । लामै समय रोकिँदा यात्रुले खासखाखुसखुस गर्न थाले । ड्राइभरले रक्सी खानलाई हो भने कसैले कसैले के भने । खासमा साढे आठ बजे आउने चौतारी कार्यक्रममा मेरो गीत बज्दैथियो रेडियो नेपालबाट । पछि गीत आयो । सबैले स्याब्बासी दिए । धाप मारे ।
स्वर परीक्षा पास भएको खबर कसरी आयो ?
उतिबेला अहिलेजस्तो फोन थिएन । मेरो नाममा रेडियो नेपालबाट रजिस्ट्री चिठी आयो– जसमा स्वर परीक्षा पास भएकाले तुरुन्त काठमाडौं आउनुपर्ने खबर लेखिएको थियो । खुसीले उफ्रँदै काठमाडौं गएँ । उतै गएका बेला रेडियो नेपालमा जागिर खाने मौका मिल्यो ।
पहिलो गीत रेकर्डको अनुभव सुनाइदिनुस् न ?
स्वर परीक्षा पास भएपछि मेरो गीतियात्रा सुरु भयो । रेडियो नेपालमा जागिरे भएँ । पहिलो गीत ‘फूलको बासना’ रेकर्ड गर्न २०५४ सालमा म्युजिक नेपाल पुगियो । गीतमा हरिदेवी दिदी र मैले स्वर भर्ने तयारी गरेका थियौं । त्यसपछि हाम्रो गीत किन आएन भन्दा कहिले बोर्ड बसेको छैन भन्ने कहिल्यै यो पटक भएन भन्ने । कहिले अर्को बोर्डले पास गर्छ भनेर हैरान बनाउन थाले । म्युजिक नेपालले बजारमा ल्याउन मानेको थिएन यो गीत । त्यसपछि हरिदेवी दिदीले फोन गरेर बजारमा नल्याउने भए अर्को कम्पनीबाट गीत बजारमा ल्याउँछौं भनेपछि बल्ल गीत बजारमा ल्याउन तयार भयो म्युजिक नेपाल । हामीलाई सुरुमा म्युजिक नेपालल पत्याएको थिएन तर हाम्रो क्यासेट नै ९० हजारप्रति बिक्री भयो ।
त्यसपछि के भयो ?
म रेडियो नेपाल पोखरा आइसकेको थिएँ । एक दिन कार्यालयमा फोन आयो । म्युजिक नेपालका साहु सन्तोष शर्माको रहेछ । उहाँले ‘अब गीत बनाएपछि पैसाको चिन्ता नलिनु गीत रेकर्ड गर्न आइहाल्नु’ भन्नुभो । त्यसपछि मैले म्युजिक नेपालमा भटाभट गीत रेकर्ड गराएँ । हरिदेवी दिदीको स्वर र मेरो स्वरमा ऐना हेरेर, फूलको बासना र नीलो पछ्यौरी गाएँ । त्यसपछि मैले लोकगीतमा लगातार तीन पटक म्युजिक नेपाल अवार्ड पाएँ । मेरो एकल एल्बम ‘बलाम देवी थान’ निकालें । यो भने पोखराकै स्टुडियोमा रेकर्ड गरिएको थियो ।
गीत हिट भएपछि एकपछि अर्को गीत निकाल्नुभो ?
बलाम देवी थानपछि ‘श्रीखण्ड चन्दन’ गीत गाएँ । त्यसपछि पछाडि फर्केर हेर्नुपरेन । मलाई चिन्नेहरु अझ थपिँदै गए । पचासको दशकमा श्रीखण्ड चन्दन, फूलको बासना, ऐना हेरेर, झिलझिल शितारा, रुन्छ नि मन किन रुँदैन, घामजस्तो चम्किलो जून हुँदैन, सरर पानी घट्टमालगायतका थुप्रै गीत निकाले ।
अहिलेसम्म कति गीत गाउनुभयो ?
मेरा निजी एल्मबको संख्या त ४० को हाराहारीमा छन् । स्वर दिएको गीतको संख्या लाई गन्ने हो भने एक हजार भन्दा बढि नै पुगिसके । मान्छेले चार/पाँच हजार गाएँ भनेर धाक दिन्छन् । तिनलाई गनीगनी एक हजार गीत पुर्याउन हम्मे हुन्छ । संचार माध्यममा जे पायो त्यही बोलेर हुन्छ ।
तपाइका पालामा जस्ता लोकदोहोरी गीत आउन छोडेका छन्, किन होला ?
पहिलेपहिले गीत संकलनको लागि गाउँठाउँ मै पुग्नुपथ्र्यो । पहिला संकलन गरिन्थ्यो अहिले कोठा मै रचना गरिन्छन् । संगीत ट्युनिङ गरिन्छन् । त्यस्तो चाहिँ एउटा कलाकारको अनविज्ञताका कारण हुन्छ । अर्को कुरा चाहिँ विभिन्न समयमा विभिन्न फ्लेवर परिवर्तन हुँदै आएका छन् । एक समय ठट्यौली पाराका गर्नु ग¥यौ बलराम भैंसी पालेर जस्ता गीत पआए । अफ बिटका गीत पनि आए । मायाप्रेमका गीत पनि छँदैछन् । केही लोक गीतको मर्म मारेर दिस इस अ आँपको दाना इट इज अ पाकेको जस्ता अंग्रेजी शब्द राखेर पनि गाइए । अहिले पैसा भएपछि जो पनि कलाकार । स्वर परिक्षा पास गर्नैै पर्दैन । यसले क्वालिटी खस्किन्छ । मेहनत गर्ने बानी छैन ।
दोहोरी फोहोरी भयो भन्नेहरु बढेका छन् कुरो के हो ?
केही मान्छेले त्यसो गरे भन्दैमा समग्र दोहोरीलाई दोष लगाउन मिल्दैन । क्षणिक लोकप्रियताका लागि, स्टेजमा चल्नका लागि, दुई चार पैसा कमाउनका लागि केहि व्यक्तिहरुले उच्छृङ्खलता नल्याएका होइनन् । व्यक्तिगत प्रोफाइल पनि बनाउने हो, उमेर ढल्कँदै जान्छ, सधैंभरी यत्तिकै वैशालु हुन्न भन्ने कुरा उनीहरुले सोच्नु पर्छ । नबुझ्ने त्यस्ता मान्छेहरु आफैं पछाडि पर्छन् । दोहोरीमा सटिक जवाफ दिनुपर्छ । माया प्रेमका कुराहरु हुन्छन् । ती पनि एकदमै क्षमतावान मान्छेले मात्रै गाउने हो । त्यो फोहोरी हुँदैन । १५ सेकेन्ड भित्रै अन्त्यानुप्रास मिलाएर सवालको जवाफ दिने भनेको चानेचुने कुरा होइन । सानो दिमागले त्यो भ्याउने कुरा पनि होइन । दोहोरीमा केही नबुझेका मान्छेहरु पनि छन् तिनीहरु आफैं फिल्टर हुँदै जान्छन् ।
लोक दोहोरी गीत कस्तो हुनुपर्छ ?
लोक दोहोरी गीत भनेको समाजको दर्पण हो । यसमा समाजका दुःख सुखका भोगाइहरु व्यक्त गर्नुपर्छ । सामाजिक गीत हुनुपर्छ भन्ने मलाई लाग्छ । मान्छेलाई भड्काउने खालका गीत हुनुहुँदैन । भर्खरका केटाकेटीहरु हाम्रा गीतहरुबाट प्रभावित हुन्छन् । समाजलाई नकारात्मक सन्देश जानेखालका गीत गाउनु हुँदैन ।
देशविदेश नी खुब घुम्नुभयो है ?
बेलायत, सिंगापुर, दुबई, हङकङ, जापान, कोरिया, बु्रनाई, अमेरिका, मलेसिया, यूरोपका धेरै देश घुमेको छु । पहिलो सुरुवात कतारबाट गरेको हुँ ।
लोकदोहोरी क्षेत्रमा आउन चाहने नव कलाकारहरुलाई के भन्न चाहनुहुन्छ ?
यो क्षेत्रमा आउन चाहने नव कलाकारहरु त्यत्तिकै आउनु हुँदैन केही बुझेर जानेर आउन आग्रह गर्दछु ।

source:Shukrabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *