सामाजिक अभियन्ता र पत्रकारहरुलाई भकारीको सम्मान

भकारी एड्भरटाइजिङले शुक्रबार एक विशेष समारोहकाबीच तमु समाज हङकङ अध्यक्ष सहित नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमिति र केन्द्रीय सभासदहरुलाई सम्मान गरेको छ ।

पोखरामा रहेर विभिन्न फिल्म तथा म्यूजिक भिडियोहरु निर्माण गर्दै आएको कम्पनीले सामाजिक र साँस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ ‘स्याङ्जाली कान्छा’सहित नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, उपाध्यक्ष बिमला भण्डारी, सदस्य रेम बिक, मनोज घर्तीमगरसँगै केन्द्रीय सभासदहरु सरस्वती गुरुङ र नबिन सिग्देल सरिक भएका थिए ।

 

सहभागीहरुलाई भकारीले प्राचिन गुरुङ सँस्कारका पहिरनहरु ओडाएर सम्मान गरेको थियो । पुरुषहरुलाई फेता र भाङ्रासहित सम्मान गरिरहँदा कम्पनीले महिलाहरुलाई क्रमु ओडाएर सम्मान व्यक्त गरेको थियो ।

सामाजिक अभियन्ता समेत रहेका तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङलाई कम्पनीले विशेष सम्मानसहित नेपालमा स्वागत समेत गरेको थियो । कोमल गुरुङले हङकङमा रहेर विभिन्न व्यवसाय संचालन गर्दै आएका छन् । सँधै नेपाल र नेपाली कलाकारहरुलाई माया गरिरहने कोमल गुरुङ ‘स्याङ्जाली कान्छा’ले यो पटक नेपाल आएको बेलामा आफ्नो गाऊँको विकासका लागि साढे १२ लाख रुपैयाँ र स्याङ्जाको कोल्मास्थित विद्यालयलाई १६ लाख रुपैयाँ सहयोग प्रदान गर्दैछन् ।

कम्पनीको तर्फबाट अध्यक्ष रामबहादुर गुरुङ, निर्देशक कृष्णकुमार गुरुङ र व्यवस्थापक मिनु गुरुङले उनीहरुलाई सम्मान व्यक्त गरेका थिए । उनीहरुले तमु समाज हङकङका अध्यक्षलाई अझै बढि सामाजिक सेवामुलक काम गर्न र नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारीलाई संचार क्षेत्रलाई अझै विकसित गराउँदै लैजान आग्रह गरेका थिए ।

सोहि क्रममा नेपाल चलचित्र विकास बोर्ड अन्तरगतको मातृभाषी चलचित्र प्रबद्र्धन समितिका सदस्य तथा चलचित्र निर्देशक नौजंग गुरुङ, चलचित्र निर्माताद्धय डि.बि. गुरुङ र यामबहादुर गुरुङलाई पनि कम्पनीले सम्मान गरेको थियो ।

सम्मान पाईसकेपछि सामाजिक अभियन्ता स्याङ्जाली कान्छा र नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित पदाधिकारीहरुले कम्पनीलाई धन्यबाद ज्ञापन गरे । सम्मानले अझै बढि जिम्मेबारि थपिदिएको उनीहरुको भनाई थियो ।

भकारी एड्भरटाइजिङले लामो समय यता पोखरामा रहेर भाषिक तथा साँस्कृतिक फिल्महरु निर्माण गर्नुसँगै संगीत र म्यूजिक भिडियोको क्षेत्रमा पनि काम गर्दै आएको छ ।