समृद्ध पोखराको लागि नेपाली काँग्रेसको जीत अपरिहार्य छ ।’ लेखनाथमा घरदैलोका क्रममा महानगर प्रमुखका उम्मेदवार रामजी कुवँरले लेखनाथबासीसँग कुराकानी गर्दै भने–‘आम मानिसले कल्पना गरेको पोखरा बनाउन काँग्रेसको जीत पहिलो आधार हो ।’ पोखरा लेखनाथ महानगरपालिका ३२ नम्बर वडाको घरदैलो अभियानका क्रममा काँग्रेसले नजिते समृद्ध महानगरपालिका कल्पना गर्न नसकिने स्पष्ट पारे । ‘नेपाली काँग्रेसलाई भोट दिनुस् । समृद्ध महानगरपालिकाको परिकल्पनाले साकार रुप लिन्छ ।’
उनले भने—‘भिजन र सहकार्य गर्ने क्षमता काँग्रेस सँग मात्रै छ । हामीले जिते मात्रै पोखरा अन्तराष्ट्रिय शहर बन्न सक्छ ।’ कम्युनिष्टले समस्या मात्रै बल्झाउने तर समाधान गर्ने सामथ्र्य नभएकाले काँग्रेस पोखरा बिकासको पक्षधर भएको कुवँरको दावी छ । ‘कम्युनिष्टको काम समस्या बल्झाउने हो । समाधान गर्ने हैसियत उनीहरुसँग छैन ।’ उनी भन्छन्–‘जनतालाई सहकार्य र विकासको खाँचो छ । त्यसको लागि काँग्रेस एकमात्र विकल्प हो ।’
उनले पोखराको गुरुयोजना तयार गरेर आधुनिक पोखरा निर्माणको थालनी गर्ने प्रतिबद्धता जनाए । ‘काँग्रेस कास्कीले विकासका पाँचबर्षे घोषणापत्र जारी गरेको छ । त्यसको कार्यान्वयन गर्ने मेरो पहिलो दायित्व हो ।’ कुवँर भन्छन्–‘हामीसँग अथाह श्रोत साधन छन्, परिचालन हुन सकेको छैन । महानगरकै श्रोत उपयोग गरेर विकसित शहरको रुपमा स्थापित गर्न म प्रतिबद्ध छु ।’ ३२ कै सुकुम्बासी बस्तीलाई सम्बोधन गर्दै प्रमुखका उम्मेदवार रामजी कुवँरले सुकुम्बासीलाई लालपुर्जासँगै शिक्षा, स्वास्थ्य र ब्यवस्थित आवासका लागि सघाउने प्रतिबद्धता जनाए । वडाले उठाएका एजेण्डालाई समेत कार्यान्वयन गराउने तर्फ अग्रसर रहने कुवँरले बताए । उनले खाडी मुलुकमा गएका युवालाई महानगरमा पर्यटनको माध्यमबाट रोजगारी उपलब्ध गराएर सम्मानजनक तलव ब्यवस्था गर्ने कुवँरको भनाई छ ।
घरदैलो अभियानकै क्रममा उपप्रमुखकी उम्मेदवार सरस्वती गुरुङले लामो समयदेखि अलपत्र अवस्थामा रहेको क्षेत्रीय बसपार्क निर्माणलाई निर्वाचनको परिणामको भोलिपल्टदेखि नै सुरु गर्ने बताईन् । बसपार्क निर्माणलाई मुर्तरुप दिन सके महानगरको सवारी व्यवस्थापन सहज हुने भएकाले विजयपछिको पहिलो ध्यान बसपार्क निर्माणमा केन्द्रित हुने बताईन् । काँग्रेसले आश्वासन नबाड्ने भन्दै गर्न सक्ने काममा प्रतिबद्धता जनाउने बताईन् । कम्युनिष्टले जातजातिको नाममा समाज फुटाउने काम गरेको भन्दै गुरुङले जातिय समानता कायम गर्न काँग्रेस प्रतिबद्ध रहेको बताईन् । उनले नयाँबजार र न्यूरोडको सेवा सुविधा सबै वडामा समान वितरण गर्ने गर्ने भएकाले झुटा आश्वासन तिर नलागी काँग्रेसलाई बिजयी गराउन आग्रह गरिन् ।
काँग्रेसले अनावश्यक आश्वासन बाँड्दैन–कुँवरनेपाली काँग्रेसको तर्फबाट पोखरा लेखनाथ महानगरपालिकामा प्रमुखको दावेदारी दिएका उम्मेदवार रामजी कुवँरले काँग्रेस कार्यान्वयन गर्ने पार्टी भएकाले अनाबश्यक आश्वासन नबाँड्ने प्रतिबद्धता जनाए । ‘काँग्रेसले जनतामा अनावश्यक आश्वासनको पोको बाँड्दैन । गर्न नसकिने कामलाई लिएर आश्वासन मात्रै दिएर हुँदैन ।’ उनले भने–‘आश्वासनले मानिसलाई कमजोर बनाउँछ । कमजोर बनाउने पार्टी काँग्रेस होईन ।’ गफ चुटेकै भरमा समाज समृद्ध नहुने भन्दै उनले योजनाबद्ध विकासका लागि प्रतिबद्धता आवश्यक रहेको बताए ।
आफनो उम्मेदवारी सिंगो पार्टीको भएको उल्लेख गर्दै कुवँरले समृद्ध महानगरपालिका बनाउन अर्जुनदृष्टीले काम गर्नुपर्ने बताए । ‘गफ चुटेकै भरमा अरु सत्तामा पुगेका छन् । काँग्रेसले ढाँट्न जानको छैन ।’ उनी भन्छन्–इतिहासको ब्याख्या गरेर मात्रै हुँदैन । विकासका लागि भिजन चाहिन्छ, त्यो हामीसँग छ ।’ चुनावी प्रचार अभियान अन्तर्गत प्रमुखका उम्मेदवार रामजी कुँवर र उपप्रमुखकी उम्मेदवार सरस्वती गुरुङ आईतबार पोखरा ३२ सहित २८ र ३१ नम्बर वडामा पनि घरदैलो भएको थियो । घरदैलोका क्रममा सहभागीहरुले नेपाली काँग्रेसले महानगरका स्थानीय आवश्यक्ता र जनताका चाहना पूरा गर्दै समृद्ध महानगर बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा वडा नम्बर ३२ का वडाध्यक्षका उम्मेदवार अक्कल बहादुर कार्की, महिला सदस्य नरमायाँ गुरुङ, दलित महिला सदस्य गोमा विक, सदस्यहरु धर्म बहादुर बस्नेत र मिन बहादुर गुरुङ, ३१ नम्बर वडामा अध्यक्षका उम्मेदवार सरदराज सुवेदी, महिला सदस्य मिना तिवारी, दलित महिला सदस्य मिना सार्की तथा सदस्यहरु लेखनाथ ढकाल र रवीराज कँडेल, २८ नम्बर वडाका अध्यक्षका उम्मेदवार विकास गुरुङ, महिला सदस्य शिबकुमारी त्रिपाठी, दलित महिला सदस्य इन्द्रकला विक तथा राजेश अधिकारी र राधाकृष्ण तिवारी समेत सहभागी थिए । कार्यक्रममा काँग्रेस कास्की सभापति कृष्ण केसी, पूर्व महामन्त्री तारानाथ रानाभाट, केन्द्रिय सदस्य प्रदिप पौडेल, जिल्ला सचिव सुदिपमोहन भट्टराई, देवेन्द्र रानाभाट, राजेन्द्रमणी लामिछाने लगाएतले बोलेका थिए ।
यसैबीच, पोखरा लेखनाथ २४ कास्कीकोटमा पनि घरदैलो गरिएको छ । सोही अवसरमा एमाले यूवा परिचालन समितिका तीनजना काँग्रेस प्रबेश गरेका छन् । सागर सुवेदी, लालबहादुर रानामगर र प्रकाश भट्टराई एमाले त्यागेर काँग्रेसमा प्रबेश गरेका थिए । वडाध्यक्षका उम्मेदवार भरत बहादुर अधिकारी सहितको टोलीले घरदैलो अभियान अन्तरगत कास्कीकोटको धावादेखि लौरुकसम्मका नागरिकसँग भेटघाट भएको काँग्रेस नेता बेदहरी तिमिल्सीनाले जानकारी दिए ।
पोखरा लेखनाथ महानगरपालिका २३ मा पनि घरदैलो कार्यक्रम भएको छ । वाम्दी, चापाकोट, घडेरी लगाएतका ठाउँमा घरदैलो कार्यक्रम गरिएको वडाध्यक्षका उम्मेदवार बिष्णु प्रसाद पराजुलीले जानकारी दिए । किसान संघ कास्कीका सभापति भेषराज पराजुलीको नेतृत्वमा वडाध्यक्षका उम्मेदवार पराजुली सहित महिला सदस्य गीता भट्टराई, दलित महिला सदस्य यमकुमारी सुनार तथा सदस्यहरु दुर्गा बहादुर घले र भरतराज भण्डारी लगाएतको टोलीले सर्वसाधारणसँग साक्षात्कार गरेको थियो । कार्यक्रममा पार्टी सभापति रामकाजी गुरुङ, नेविसंघ कास्कीका पूर्व सभापति लक्ष्मी प्रसाद पौडेल, प्रचार समितिका सहसंयोजक हरिभक्त पौडेल समेत सहभागी थिए ।
काँग्रेसले पोखरा लेखनाथ महानगरको ३३ नम्बर वडामा घरदैलो आइतबार गरेको छ । वडाको चौवादी, बरपौवा, बरमाझथर, वनपाले, डाँडागाउँ, गैह्रागाउँ दुलेगौँडासम्म घरदैलो गरिएको काँग्रेस नेता गुरुप्रसाद पौडेलले जानकारि दिए । वडा नम्बर १३ मा पनि घरदैलो भएको छ । आईतबार महानगरको बिकट गाउँ बिजयपुरका सर्वसाधारणसँग अन्तरक्रिया तथा गुनासो संकलन गरिएको प्रचार समिति सदस्य केदार सिग्देलले जानकारी दिए । वडाध्यक्षका उम्मेदवार बजिरमाज श्रेष्ठको नेतृत्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा सदस्यका उम्मेदवार दिपक गुरुङ, राम बराल, महिला सदस्य तारा बराल र दलित महिला सदस्य हस्तीमाया विक लगाएतको सहभागीता थियो ।
पोखरा लेखनाथ १८ मा पनि घरदैलो सहित कोणसभा भएको छ । कार्यक्रममा २ सय बढीको उपस्थिती थियो । आईतबार पिपलडाली, लामागाउँ, घरेलु, रोहोटेपानी, कार्कीगाउँ लगाएत ठाउँमा कार्यक्रम गरिएको तरुण सभापति नारायण पहारीले जानकारी दिए । कार्यक्रममा वडाध्यक्षका उम्मेदवार भरत बहादुर थापा, महिला सदस्य शोभादेवी तिमिल्सीना, दलित महिला सदस्य सम्झना नेपाली सदस्यहरु तुल बहादुर भुजेल (काजी) र तीर्थ बहादुर थापा मगर उपस्थित थिए ।
यसैगरी, पोखरा १२ मा पनि नेपाली काँग्रेसले चुनावी घरदैलो कार्यक्रम गरेको छ । वडाध्यक्षका उम्मेदवार राम बहादुर कार्की, महिला सदस्य सिता देवी बास्तोला, दलित महिला सदस्य रोस माया दमिनी, खुल्ला सदस्यहरु राधेश्याम कोइराला र लोक बहादुर गुरुङ सहितको टोलीले संयुक्त घरदैलो गरेको हो । आइतबार लालिगुँरास टोल, भृकुटीटोल, धितालेथर लगाएतका ठाउँमा घरदैलो भएको थियो भने क्षेत्रीय सचिव कृष्ण कोइराला, क्षेत्रीय प्रतिनिधी सन्तोष बास्तोला लगाएत सहभागी थिए ।
वडा नम्बर ५ मा पनि दिनहुँ काँग्रेसको घरदैलो कार्यक्रम भएको छ । इकाई सभापति फणिन्द्रराज पराजुलीको संयोजकत्वमा वडाध्यक्षका उम्मेदवार रामजी कोइराला सहितको टोलीले घरदैलो गरेको हो । यसअघि सोही वडामा आयोजीत चुनावी सभामा काँग्रेस केन्दिय सदस्य धनराज गुरुङले एमालेको राष्ट्रबाद नक्कली भएको बताए । कार्यक्रममा महानगर प्रमुखका उम्मेदवार रामजी कुवँर, उपप्रमुखकी उम्मेदवार सरस्वति गुरुङ, सांसद शारदा पौडेल, बृन्दा राना, वडासभापति फणिन्द्र पराजुली, सचिव पार्वती कोइराला र नि. अध्यक्ष भरतराज पौडेल लगाएतले बोलेका थिए ।
Leave a Reply