शिशु कल्याणमा श्रीमद्भागवत् महायज्ञ सुरु

कास्कीको भरतपोखरीस्थित शिशु कल्याण आधारभूत विद्यालयमा मंगलबारदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल महोत्सव सुरु भएको छ । विद्यालयका स्तरोन्नति गर्दै प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले सुरु महायज्ञ फागुन २ गतेसम्म चल्नेछ ।महायज्ञ उद्घाटन गर्दै सांसद विकास समिति सभापति रवीन्द्र अधिकारीले देशकै नमूना स्कुल शिशु कल्याणको मुहार फेर्ने गरी स्थानीयको उत्साहप्रति आभार व्यक्त गरे । उनले समय सान्दर्भिक ९ देखि १२ सम्म प्राविधिक शिक्षा संचालन गर्ने गरी आयोजित महायज्ञमा सांसद विकास कोषबाट १० लाख रुपैयाँ दिने प्रतिवद्धता जनाए । आफू यस क्षेत्रकै भएकोले आफू सांसद रहे पनि नरहे पनि आगामी दिनमा जुनसुकै तवरमा सहयोग गर्ने बताए ।


महायज्ञ मूलआयोजक समिति संयोजक श्रीभद्र बरालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा महायज्ञका प्रमुख वाचक भागवत्भाष्कर युवापण्डित कमलनयन गौतम, नेपाली काँग्रेसका क्षेत्रीय सभापति विजयराज आचार्य, काँग्रेस महाधिवेसन प्रतिनिधि एवं सरस्वती उच्च माविका पूर्व अध्यक्ष केशरप्रसाद निर्दोषी, काँग्रेस लेखनाथ १७ का वडा सभापति सरोजराज अधिकारी, नेकपा एमालेका वडा अध्यक्ष धनेश्वर अधिकारी, नेकपा माओवादी केन्द्रका जिल्ला सल्लाहकार विश्वेश्वर आचार्य हरामी, सरस्वती टीका बहुमुखी क्याम्पसका अध्यक्षका पिताम्बर शर्मा पौडेल, सरस्वती टीका उच्च मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष ऋषिराज आचार्य, आमा समूह तर्फबाट पोखरा २३ की समाज सुधार आमा समूह अध्यक्ष रमा आचार्य, टोल विकास संस्थाबाट टोल विकास संस्था वडा समन्वय समिति लेखनाथ १७ का लालुप्रसाद पराजुली, नयाँ शक्तिका प्रतिनिधि श्रीधर पौडेल, महायज्ञ प्रचार संयोजकसमेत रहेका अखण्ड नेपाल पार्टीका मोती गिरी, कलस यात्रा संयोजक ऋषिमाया लामिछान, विद्यालयका प्रधानाध्यापक जगदीश सुवेदी, अतिथि सत्कार संयोजक केशवप्रसाद आचायलगायत बोलेका थिए ।
उद्घाटनअघि लेखनाथ–१७, बसपार्कदेखि विद्यालयसम्म कलस यात्रा गरिएको थियो । १०८ को पूर्ण कलसयात्रामा आमा समूह, टोल विकास संस्था, वन समूह, विद्यार्थी, शिक्षक,कर्मचारी,स्थानीयबासी, नागरिक समाजलगायतको ठूलो संख्यामा सहभागिता थियो ।करिब दुई करोड संकलन गर्ने लक्ष्य लिइएको उक्त महायज्ञमा प्रमुख वाचक भागवतभाष्कर युवापण्डित कमलनयन गौतम छन्।महायज्ञबाट संकलित रकमले समय सुहाउँदो प्राविधिक शिक्षा, अक्षयकोष स्थापना, सुविधा सम्पन्न भौतिक संरचना, बालउद्यान, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, खेल मैदान, आइसिटीयुक्त सभाहल, नमूना शैक्षिक संग्रहालय निर्माण गर्ने मूल उद्देश्य रहेको महायज्ञ मूल आयोजक समिति महासचिव डिल्लीराम बरालले जानकारी दिए ।