पोखरा बहुमुखि क्याम्पसको वार्षिकोत्सव

टुडे पोखरा संवाददाता
0Shares

 

पोखराकै पुरानो पोखरा बहुमुखि क्याम्पसले सप्ताहव्यापी कार्यक्रमसाथ विहीबार ३१ औं वार्षिकोत्सव बनाएको छ । वार्षिकोत्सवका अवसरमा क्याम्पसले उत्कृष्ट विद्यार्थी, कर्मचारी, शिक्षक सहित वार्षिकोत्सव अवसरमा आयोजित विभिन्न कार्यक्रममा उत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गरेको छ । त्यही अवसरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई स्वागत पनि गरिएको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजित छात्रछात्रा भलिवल, फुटसल, कविता, निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको थियो । वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि त्यही अवसरमा पुरस्कृत गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले सामुदायले संचालन गरेका शैक्षिक संस्थालाई आवश्यक कुनैपनि प्रकारको सहयोग गर्न महानगर तयार रहेको बताए ।
पोखरा–९ नयाँबजारमा रहेको क्याम्पसलाई प्रविधिमैत्री र अहिलेको माग अनुसारको शिक्षा दिनसक्ने गरि सक्षम बनाउन महानगरको जस्तोसुकै सहयोग गर्न बचन दिए । ‘क्याम्पसलाई पुर्वाधार बनाउन के आवश्यक छ । त्यो माग लिएर प्रक्रियागत रुपमा आउनुस, हामी सक्दो सहयोग गर्छौै,’उनले भने, ‘शिक्षणसंस्था भएकोले समुदायको साथले मात्र उभो लाग्छ ।’ उनले क्याम्पसले प्रतिश्पर्धी र क्षमतावान विद्यार्थी उत्पादनमा सधैं ध्यान दिनुपर्ने बताए । बजारमा बिकाउ हुन खालको जनशक्ति उत्पादनमा शिक्षणसंस्थाले ध्यान दिनुपर्ने उनले बताए ।
‘प्रदेश–४ को मुख्यालय पोखराभित्रको पुरानो सामुदायिक क्याम्पसलाई आवश्यक सहयोग गर्न हामी र महानगर सबै तयार छौं,’ उनले भने, ‘क्याम्पसलाई भौतिक रुपमा कुनैपनि सहयोग गर्न महानगर तयार छ ।’ पोखराको सुन्दरता जस्तै क्याम्पसको नाम पनि जोडिएकोले यसको विकासमा आवश्यक सहयोग गर्न तयार रहेको उनलेब ताए ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बाँस्तोलाले शैक्षिक संस्थाको प्रगतिका लागि हरदम प्रयास गरिरहेको बताए । विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिश्पर्धी बनाउनका लागि व्यवस्थापन टिम नै खटिएको उनले बताए । क्याम्पस प्रमुख शिशुकला पराजुलीले आगामि दिनमा क्याम्पसका विद्यार्थीलाई झनै गुणस्तरीय शिक्षा दिलाउन लागिपरेको बताईन । उनले क्याम्पसमा नयाँ विषय थपेर अझ परिस्कृत गर्दै जाने बताईन ।
पोखरा–१ मा खुलेको यो क्याम्पस पछि नयाँबजारमा सरेको थियो । क्याम्पसमा अहिले स्नातकतहसम्म अध्यापन हुन्छ । व्यवस्थापन र मानविकी संकायमा यहाँ पढाई हुन्छ । वार्षिकोत्सवका अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरेका थिए ।