विश्वशान्ति स्तुपामा ललितकलाको कार्यशाला

टुडे पोखरा संवाददाता
0Shares

 

 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागद्धारा आयोजित कलाकार्यशाला २०७४ को प्रसिद्ध कलाकार दुर्गा बराल वात्स्यायनले क्यानभासमा चित्र कोरी शुभारम्भ गरे । अनदुको विश्वशान्ति स्तुपामा आयोजित सो कलाकार्यशालामा विभिन्न जिल्लाका ३५ कलाकारहरु सम्मिलित थिए । माघ १० देखि शुभारम्भ भएको उक्त कला कार्यशालामा तयार गरिएको चित्रकलाहरुको वृहत प्रर्दशनीको पोखरा आर्ट ग्यालेरी महेन्द्रपुलमा प्रतिनिधि सभाका सांसद रविन्द्र अधिकारीले एक कार्यक्रमका रिवन काटी शुभारम्भ गरे ।
सो कार्यक्रमका बोल्दै सांसद अधिकारीले कार्यशालामा नयाँ कलाकारहरुको उल्लेखनीय सहभागिता रहनु सकारात्मक कार्य भएको भन्दै नेपाली ललितकलाको श्रीवृद्धिका लागि आफूले पनि सहयोग गर्न तयार रहेको बताए । उक्त कार्यक्रममा नेपाली कलाको क्षेत्रमा पचास वर्ष योगदान गरेका वरिष्ठ कलाकार ललित शाहीलाई उनको योगदानको कदर गर्दै सम्मान पत्र, खादा र मालाले सम्मानित गरिएको थियो । नेपाली कला क्षेत्रको बारेमा प्रकाश पार्दै प्रसिद्ध कलाकार दुर्गा बराल वात्स्यायनले प्राकृतिक दृश्यले प्रख्यात यो क्षेत्रका कलाकारले आफू बाँचेको समयलाई रंगहरुको माध्यमले प्रस्तुत गरेको कलाको महत्व बारे प्रकाश पारे । सोही कार्यक्रममा जेके कला संग्रहालयका अध्यक्ष अशोक पालिखेले प्रज्ञा प्रतिष्ठानको कार्यक्रम प्रति खुशी व्यक्त गर्दै यस प्रकारका कार्यक्रमले मोफसलका कलाकारहरुको कला साधनामा उर्जा थपिने बताए । सम्मानित कलाकार शाहीले आफ्नो जीवनका लागि यो सम्मान महत्वपूर्ण रहेको बताउँदै मोफसलमा पनि प्रज्ञाप्रतिष्ठानको आँखा पुगेकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रमका संयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य तथा चित्रकला विभाग प्रमूख प्राज्ञ रमेश श्रेष्ठले नेपाली कलाको आराधना गर्ने प्रत्येक कलाकार राष्ट्रका गहनाहरु हुन् भन्दै सच्चा कलकारहरुलाई समयले नै अभिनन्दन गर्ने बताए । कलाकार दुर्गा बराल, यादव चन्द्र भुर्तेल, ललित शाही, आलोक गुरुङ, रमेश श्रेष्ठ, गोपाल श्रेष्ठ, हरेराम जोजू, बुद्धि गुरुङ, महेन्द्र राजभण्डारी, गणेश जिसी, किरण रञ्जित, पदम घले, समस थापा, विश्वराज पराजुली, सन्दिप न्यौपाने, लोक प्रसाद गुरुङ, मनोज तामाङ, किरण गुरुङ, शान्त राहदी मगर, देवेन्द्र गुरुङ, थमन सुनार, विश्व केसी, गोपाल दराई, ज्योती गुरुङ, आकाश गुरुङ, प्रोमिस गुरुङ, अक्षता श्रेष्ठ, ज्योत्सना उदास, ढाका भट्टराई, हेमकान्ती गुरुङ, युवराज लामिछाने, एलिता गुरुङ आदि कलाकारका चित्रहरु आगामी माघ १७ गतेसम्म प्रर्दशनी राखिने प्राज्ञ सभा सदस्य गणेश जिसीले बताए ।