विश्वकर्मा र दमाईबिच छुवाछुत, ईनार आ–आफ्नै

विश्वकर्मा र दमाईबिच छुवाछुत, ईनार आ–आफ्नै
0Shares

कैलालीको गोदावरी नगरपालिका–१२, ओलानीको बांगेसाल बस्तीमा दलित परिवारका डेढ दर्जन घर छन् । तर, बस्तीका विश्वकर्मा र दमाईं जातिले खानेपानीका लागि वर्षौंदेखि फरक–फरक इनार प्रयोग गर्दै आएका छन् ।

एक–अर्काले छोएको पानी नचल्ने भन्दै विक र दमाईं समुदायले छुट्टाछुट्टै इनारको पानी प्रयोग गरेका हुन् । दमाईंले विकको इनार र विकले दमाईंको इनारमा पानी भर्दैनन् ।

विकले आफूलाई दमाईंभन्दा माथिल्लो जातिको ठान्छन् । उनीहरूले आफ्नो इनार दमाईंलाई प्रयोग गर्न दिँदैनन् । दमाईं पनि विकको इनारमा पानी भर्न जाँदैनन् ।

दलितभित्रकै विक, सुनार, कामी थर भएकाहरूले दमाईं, आउजी, ढोली, नेपाली र सार्कीलाई अछुत मान्ने संस्कार गाउँमा व्याप्त छ । स्थानीय विमला सेरालाले दलितभित्रकै जातीय विभेदले गर्दा गाउँमा दुई जातिले छुट्टाछुट्टै इनार प्रयोग गर्दै आएको बताइन् ।

एउटै बस्तीमा बस्ने दुई दलित समुदाय एक–अर्काको घरमा खानपानसमेत गर्दैनन् । उनीहरूबीच बिहेवारी पनि चल्दैन । एक समुदायको घरमा हुने भोजभतेरमा अर्को समुदायको सहभागि हुँदैन ।

दमाईंले विकको इनार प्रयोग गरेको भन्दै असारमा गाउँका दमाईं र विक जातिबीच विवाद भएको थियो । स्थानीय शंकर नेपाली (दमाईं)को घरमा भएको वैवाहिक कार्यमा पानीको अभाव भएपछि नजिकै रहेको विकको इनारबाट पानी भर्न खोज्दा विवाद भएको थियो ।

तल्लो जातिले आफ्नो इनार छोएको भन्दै विक जातिका केही व्यक्तिले दमाईं समुदायका मानिसलाई हातपातसमेत गरेका थिए । वडा सदस्यसमेत रहेका स्थानीय चन्द्र नेपालीले त्यतिवेला कुटपिट गर्नेले माफी मागेपछि घटना गाउँमै मिलाइएको बताए ।

‘एउटै बस्तीमा बस्ने भएकाले घटना किन लम्ब्याउनु भनेर गाउँमै मिलाएका हौँ,’ नेपालीले भने, ‘दलित–दलितबीच नै गाउँमा चर्को छुवाछुत छ ।’ उनले आफूले पनि विकको इनार प्रयोग नगर्ने बताए ।

दलितका डेढ दर्जन घरमा ६ घर दमाईं जातिको छ । वडाध्यक्ष भीमबहादुर विकले खानेपानी प्रयोगमा सार्वजनिक रूपमा देखिने गरी दलितभित्रै विभेद हुँदै आएको बताए ।

संविधानले जातीय विभेदलाई दण्डनीय अपराध भनेको छ । तर, दलितभित्रकै छुवाछुतले जातीय विभेद अन्त्य गर्न थप चुनौती रहेको अध्यक्ष विकले बताए ।

चुरेको फेदीमा पर्ने ११ र १२ नम्बर वडाको ओलानी क्षेत्रमा खानेपानीको चरम समस्या छ । केही वर्षअघिसम्म इनारबाहेक खानेपानीको अन्य विकल्प थिएन । अहिले केही खानेपानी योजना बने पनि सबैको पहुँचमा छैन ।

करिब २० प्रतिशत स्थानीयले अझै इनारको पानी प्रयोग गर्छन् । गाउँमा दमाईं, विक र माथिल्लो जातिका छुट्टाछुट्टै इनार छन् । वर्षौंंअघि राज्यकै लगानीमा जातिअनुसार छुट्टाछुट्टै इनार बनाइएको हो ।

इनार प्रयोगमा सार्वजनिक रूपमै छुवाछुत हुने गरेको भन्दै दलित समुदायले विरोध गर्न थालेपछि सक्नेले निजी इनारसमेत बनाएका छन् । ११ नम्बर वडाका प्राविधिक चन्द्रसिंह कामीले जातीय छुवाछुतको मूल जड इनार रहेको बताए ।

‘इनार प्रयोगमा ओलानीका सबैजसो बस्तीमा जातीय विभेद सार्वजनिक रूपमै देखिन्छ,’ उनले भने । उनका अनुसार ०५८ सालसम्म तत्कालीन गाविस कार्यालयले नै जातीय कुवा निर्माणमा बजेट छुट्याउने गरेको थियो ।

इनार प्रयोगमा सार्वजनिक रूपमै हुने जातीय विभेद अन्त्य गर्न ११ नम्बर वडा कार्यालयले गाउँभरि जातीय छुवाछुत तथा कसुर सजायम्बन्धी ऐन वितरण गरेको छ । वडाध्यक्ष शिवबहादुर बिकले यो ऐन १ हजारप्रति छापेर वडाका सबै ९ सय ९२ घरधुरीमा वितरण गरिएको बताए ।

‘ओलानी क्षेत्रमा जिल्लामै सबैभन्दा बढी जातीय विभेद छ,’ वडाध्यक्ष विकले भने–‘छुवाछुत दण्डनीय अपराध हो भन्ने विषय सबैले जानकारी पाउन भनेर ऐन वितरण गरेका हौँ ।’ १२ नम्बर वडा कार्यालयले पनि विभेद अन्त्यको प्रयास स्वरूप सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *