वडानम्बर ५ को मतगणना पुनः हुने भएपछि अहिलेसम्मको मत परिणामले नेपाली कांग्रेसका उम्मेदवार अग्रस्थानमा आएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका वडानम्बर ५ को मतगणना पुनः हुने भएपछि अहिलेसम्मको मत परिणामले नेपाली कांग्रेसका उम्मेदवार अग्रस्थानमा आएका छन् । ५ नम्बर वडाको विहानै सम्पन्न मतगणनामा एमाले उम्मेदवार मान बहादुर जिसीले अग्रता बनाएको भएपनि सो वडाको मत पुन गणना गर्न सबै दल सहमत भएका छन् ।

मतगणना सम्पन्न भएपनि नतिजामा कुल खसेको मतको ९८ मत कम भएपछि केहिवेर विवाद भएको थियो । सो वडाको मत पुन गणना गर्न सबै दलको निवेदन परेकाले पुन: गणना गर्न लागिएको निर्वाभन अधिकृतको कार्यालयले जनाएको छ ।

वडानम्बर ६, ७ र ८ को मतगणना सकिएपछि वडा नम्बर ५ को मतगणना पुन: सुरु गरिने जनाइएको छ । यसअघि ५ नम्बर वडाबाट एमालेका प्रत्यासी जिसीले १७७७ मत प्राप्त गर्दा कांग्रेसका कुँवरले ११३१ मत ल्याएका थिए । त्यस्तै उप मेयर प्रत्यासी सरस्वती गुरुङले सो वडाबाट एक हजार र मञ्जु गुरुङले १७३८ मत प्राप्त गरेकी थिइन् ।

पुन: मतगणना हुने वडाको मत घटाउदा जिसीलाई कुँवरले पछि पारेका छन् । कांग्रेस र माओबादी केन्द्रका साझा उम्मेदवार कुँवरले ५ हजार ७ सय ४३ मत प्राप्त गर्दा जिसीले ५ हजार ३ सय १९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा पनि कांग्रेसले अग्रता लिएको छ । कांग्रेस उम्मेदवार सरस्वती गुरुङले ५ हजार ६९ मत प्राप्त गर्दा एमाले उम्मेदवार मञ्जुदेवि गुरुङको ४ मत कम अर्थात् ५ हजार ६४ मत छ ।