लोक स्रष्टा कल्याण शेरचनको ७२ औं जन्मजयन्तीमा साउन १२ गते राष्ट्रिय साराङ्गी उत्सव हुने भएको छ।
साँस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौं जमलस्थित राष्ट्रिय नाचघर नेपालमै पहिलो पटक राष्ट्रिय साराङ्गी उत्सव आयोजना गरेको आइतवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।
साराङ्गी उत्सवमा प्रदेश नं. तीन र चारबाट ५÷५ जना र अरु ५ वटा प्रदेशहरुबाट २÷२ जना गरी २० जना साराङ्गी वादकहरुको प्रस्तुति रहने कार्यक्रमका समन्वयकर्ता जीवन दाहालले जानकारी दिए । उत्सवमा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले स्वर्गीय शेरचनको गीतहरुमा नृत्य प्रस्तुति गर्ने भएको छ। उत्सवसँगै साउन ११ गते साराङ्गी सम्बन्धी कार्यशाला गोष्ठी समेत आयोजना गरिएको उनले बताए । उत्सवलाई भव्यताका साथ सम्पन्न गर्न साँस्कृतिक संस्थानका बरिष्ठ कलाकार कृष्ण गुरुङको संयोजकत्वमा गठित समिति क्रियाशील रहेको छ।
उक्त अवसरमा बरिष्ठ साराङ्गी बादक, गायक कृष्णबहादुर गायकलाई २५ हजार सहित सम्मानपत्रले सम्मान गरिने कल्याण शेरचन स्मृति प्रतिष्ठानका सचिव सचिव श्रीजंग गुरुङले जानकारी दिए। स्रष्टा छनौटका लागि कलाकार धनबहादुर गायकको संयोजकत्वमा समिति गठन गरिएको थियो।
उत्सव सम्पन्न गर्नका लागि ८ लाख ५० हजार खर्च लाग्ने प्रतिष्ठानका कोषाध्यक्ष प्रदिप गौचनले जानकारी दिए। कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै भगिनी संस्था रामबजार सोसाइटी युकेका तर्फबाट सल्लाहकार सामाजिक अभियन्ता महेस गुरुङले ५० हजार रुपैया कोषाध्यक्ष गौचनलाई हस्तान्तरणे गरे। यसरीनै उहाँको व्यक्तिगत १० हजार, रामबजार सोसाइटी युकेका अध्यक्ष जुमकाजी गुरुङको तर्फबाट १० हजार रुपैया पनि हस्तान्तरण गरिएको थियो। सहयोगकै क्रममा युके निवासी सनतकुमार गुरुङले २५ हजार ५ र इजरायल निवासी दुर्गा गुरुङले २० हजार ५ सय सहयोग प्रदान गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य जीवन दाहालले कार्यक्रमको बारेमा बोलेका थिए भने सचिव श्रीजंग गुरुङले कार्यक्रम संचालन गरेका थिए।
प्रतिष्ठानले गत वर्ष साँस्कृतिक संस्थान कै सहकार्यमा नेपालमै पहिलो पटक मादल वादन प्रतियोगिता सम्पन्न गरेको छ।
लोक स्रष्टा स्व.कल्याण शेरचनको विधाहरु लोक सँस्कृति, शिक्षा, खेलकुदमा विशेष योगदान पुर्याउदै आउनु भएका व्यक्तित्वलाई शेरचनको स्मृतिमा वर्षेनी सम्मान गरिदै आएको छ।

Leave a Reply